मकवानपुर । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको अध्यक्षमा लालकाजी रत्न बज्राचार्य सर्वसम्मतले चयन भएका छन् । शनिबार भएको छैठौँ पुर्नगठन कार्यक्रमले बज्राचार्यलाई ४ बर्षे कार्यकाल लागि पुनः अध्यक्षमा चयन गरेको हो ।
यसैगरी तेक्वान्दो कार्य समितिको प्रथम उपाध्यक्षमा निरु कुमारी मगर,द्वितीय उपाध्यक्षमा ओम कुमार लामा ,सचिवमा बिक्रम लामिछाने,सह—सचिवमा सुरेश ढुंगाना ,कोषाध्यक्षमा रबिन्द्र डंगोल रहेका छन् । जिल्ला तेक्वान्दो कार्य समितिमा १८ सदस्यीय कमिटि चयन भएका छन् ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल,मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष सानु लामा अतिथि रहेका थिए ।
मकवानपुर । हेटाैडामा भएकाे खुल्ला दाैड प्रतियाेगितामा महेश माेक्तान प्रथम भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शनिबार भएकाे ५ किलोमिटर पुरुष खुल्ला दौड प्रतियोगितामा हेटौंडाका मोक्तान प्रथम भएका हुन ।
अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा प्रदेश युवा परिषद् बागमती प्रदेशको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा दौड प्रतियोगिता भएको हाे । प्रदेश युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवस २०२१ को अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरि दिवस मनाइरहेका छ । अगष्ट १२ बाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम गर्न ५१ सदस्यीय मुल आयोजक समिति बनाइएको छ ।
शनिबार भएकाे दौड प्रतियोगितामा ४० जनाले सहभागि रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले बताए । हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड प्रतियोगिता पिप्लेपुगी पुनः बुद्धचोकमा अाइ समापन भएको थियो । प्रतियोगितामा हेटौंडा १३ वनस्पतिका मोक्तानले १६ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरि प्रथम भएका थिए । त्यस्तै प्रदेश प्रहरी कार्यालयका सुरेश साह द्वितीय भएका छन् । उनले १७ मिनेट २६ सेकेन्डमा दौड पुरा गरेका थिए । प्रदेश प्रहरी कार्यालयकै एजिन राईले १७ मिनेट ३६ सेकेन्डमा दौड पुरा गरि तृतीय भएका छन् ।
साताव्यापी कार्यक्रमको पहिलो दिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतको विशेष आतिथ्यतामा प्रदेश युवा परिषद्को हेटौंडास्थित कार्यालयको उद्घाटन गरिएको थियो । त्यस्तै साउन २९ गते जिल्ला युवा समिति मकवानपुरको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ भने साउन ३० गते जिल्ला खेलकुद विकास समितिको समन्वयमा ५ किलोमिटर दौड कार्यक्रम शनिवार भएको छ ।
साताव्यापी कार्यक्रम अन्तर्रगत साउन ३१ गते बाल कल्याण समाज मकवानपुरको समन्वयमा कोभिड–१९ संक्रमणको परिवेशमा बालबालिकालाई बालश्रमबाट जोगाँउ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिने भएकाे छ । साउन ३२ गते शिक्षाका लागि राष्ट्रिय अभियानको समन्वयमा अन्तरक्रिया कार्यक्रम संचालन गरिने छ । भदौ १ गते हेटौंडा लेडी जेसिसको समन्वयमा वक्तृत्वकला प्रतियोगिता संचालन गरिने तथा भदौ २ गते कार्यक्रम समापन गरिने जनाइएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस विश्वका विभिन्न मुलुकमा सन् २०२० र नेपालमा सन् २००४ देखि मनाउन सुरु गरिएको हो ।
अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व खेलकुदको कुम्भमेला ३२औं गीष्मकालीन ओलम्पिकमा नेपालबाट चार खेलमा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
जलपरी गौरिका सिंह, एलेक्स शाह र सुटिङकी कल्पना परियारले आफ्नो प्रदर्शनमा सुधार गरे पनि अघिल्लो चरण पार गर्न सकेनन् । एथलेटिक्सकी सरस्वती चौधरीले औसतको प्रदर्शन गर्दा जुडोकी सोनिया भट्ट आफ्नो प्रतिद्वन्द्वीसामु टिकेर खेल्न नसक्दा यसपटकको ओलम्पिकमा नेपाल सहभागितामै सीमित बन्यो ।
पहिलो चरण पार गर्नु नै नेपालका लागि चुनौतीको कुरा हो, पदक त अलि पर नै छ । अझ त्योभन्दा अघि छनोट भएर ओलम्पिकमा खेल्न जानु नै चुनौती छ । नेपाल ओलम्पिकमा सहभागिता र व्यक्तिगत प्रदर्शनमा भएको सुधारमै रहिरहेको छ ।
तेक्वान्दोका स्टारद्वय संगिना वैद्य र दीपक विष्टबाहेक हालसम्म झन्डै १ सयको हाराहारीमा ओलम्पियन पुग्दा सबै खेलाडी युनिभर्सियालिटी कोटा र वाइल्ड कार्डको सहारामै ओलम्पिक खेल्दै आएका हुन् । सन् २००४ मा संगिना वैद्य र २००८ मा दीपक विष्टले छनोट भएर ओलम्पिक खेलेका थिए ।
यसपटक युनिभर्सियालिटी प्लेसअन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले ओलम्पिक खेल्ने अवसर पाउँदा वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । नेपाल ओलम्पिक कमिटीले ओलम्पिकमा सहभागी हुन जानुअघि गरेको पत्रकार सम्मेलनमा यसपटकको ओलम्पिक जात्रा नभई यात्रा हुने बताएको थियो । यही यात्रा भएको ओलम्पिकमा के–के भयो त ?

जम्बो टोली
ओलम्पिक कमिटीले पत्रकार सम्मेलन गर्दै यसपटकदेखि अोलम्पिक जात्रा नभई यात्रा हुने बताएका थिए । यसको सोझो अर्थ आवश्यकताभन्दा कम ओलम्पिकमा जाने भन्ने नै हो । कोभिडका कारण पनि कोटा कटौती भएको थियो । ओलम्पिकका ५ खेलाडीसहित २६ पदाधिकारी ओलम्पिकमा जाने सूची सार्वजनिक गरेको थियो । खेलाडी कम पदाधिकारीको जम्बो टोलीको ओलम्पिक यात्राले सुरुमै आलोचना भएको थियो ।
खेलाडी र प्रशिक्षकभन्दा झन्डै दोब्बर पदाधिकारी ओलम्पिक जाने टोलीमा रह्यो । अन्तिम समयमा तीन जना पदाधिकारीले विभिन्न कारण देखाउँदै ओलम्पिकमा गएनन् । तेज गुरुङ, शिव कोइराला र पीताम्बर तिम्सिना ओलम्पिक नजाने सूचीमा रहे । पौडी खेलाडी गौरिका सिंह बेलायतबाट सिधै जापान पुगिन् । यस्तै नेपाली टोलीमा रहेकामध्ये एक जना टोकियोस्थित नेपाली दूतावासबाट र एक जना टोकियोस्थित स्थानीय स्वयंसेवक थिए ।
सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल रहे । भिन्न खेलका अध्यक्ष भिन्न खेलको व्यवस्थापक बनेर जाँदा चर्काे आलोचना भयो । त्यसमा सबैभन्दा चर्चा सांसद समेत रहेकी नेपाल कबड्डी संघका अध्यक्ष, ओलम्पिक कमिटीका सचिव नेकपा एमाले नेता बामदेव पत्नी तुलसा थापा रहे । उनी टोकियोमा जुडो खेलको व्यवस्थापक बनेर जापान पुगेकी थिइन् ।
उद्घाटनको मार्चपासमा दुई खेलाडीबाहेक ६ पदाधिकारी थिए । त्यसमा खेलाडीपछि तुलसा र सदस्य सचिव थिए । सम्बन्धित खेलको फिजियो र म्यानेजर जान्नुपर्ने भए पनि विदेश भ्रमणको कोटा मिलाउनकै लागि यसपटक फरक खेलाडीसँगै ओलम्पिक कमिटीको विभिन्न पदमा रहेका विभिन्न खेलको व्यवस्थापक बनेर टोकियो पुगेको थियो । अन्त्यमा टोली व्यवस्थापकविहीन बन्न पुग्यो ।
मार्चपासमा लैंगिक समानता
नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकको मार्चपासमा पौडीकी गौरिका सिंहले नेपालको झन्डा बोक्ने बताएकी थिइन् । तर, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले गत मार्चमै लैंगिक समानताका लागि महिला र पुरुष दुवैले आफ्नो देशको झन्डा बोक्ने निर्णय गरिसकेको थियो । मार्चपासमा नेपालको झन्डा गौरिका र एलेक्स शाहले बोके । मार्च पासमा टोकियो पुगेका अन्य दुई खेलाडी सोनिया भट्ट र कल्पना परियार उपस्थित भएनन् । पदाधिकारीको बाक्लै उपस्थिति रहेको थियो ।
एकै संस्करणमा चार महिला खेलाडी
सन् १९८८ को सोल ओलम्पिकबाट नेपालका महिला खेलाडी ओलम्पिकमा सहभागी हुन थालेका थिए । सन् १९९२ यता ओलम्पिक जाने नेपाली खेलाडीमा पुरुषभन्दा महिला नै बढी रहँदै आएको छ । तर, यसपटक पाँचमध्ये चार महिला र एक पुरुष थिए । एकै संस्करणमा नेपालबाट ओलम्पिक खेल्नेमध्ये महिला सहभागिता अहिलेसम्मकै धेरै हो ।
कल्पनाको कमाल
वाइल्ड कार्डमार्फत ओलम्पिकमा खेल्ने अवसर पाएकी सुटिङकी कल्पना परियारले आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गरिन् । उनले महिला १० मिटर एअर राइफलमा प्रतिस्पर्धा गर्दै ६१६.८ स्कोरको नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि १३औं सागमा उनले ६१४.५ स्कोर गरेकी थिइन् । यस स्पर्धामा ५० सुटरले प्रतिस्पर्धा गर्दा कल्पना ४६औं स्थानमा रहिन् । उनले ओलम्पिक जानुअघि नै आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार गर्ने बताएकी थिइन् ।
सोनिया १ मिनेट १६ सेकेन्डमै आउट
वाइल्ड कार्डबाट छनोट भएकी जुडोकी सोनिया भट्टले ४८ केजी तौल समूहमा रसियन इरिना डोल्गोभासँग १ मिनेट १६ सेकेन्ड मात्र टिकिन् । उनी इप्पोन (नकआउट) भइन् । एक आउट जित्ने लक्ष्य राखे पनि उनी सफल हुन सकिनन् ।
एलेक्सको सुधार
पौडीवाज खेलाडी एलेक्जान्डर (एलेक्स) शाहले लङ कोर्स (५० मिटर)मा आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । पुरुष १०० मिटर फ्रिस्टाइलमा उनले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै ५३.४१ सेकेन्डको समय निकाले । एलेक्सले सन् २०१९ मा दक्षिण कोरियाको ग्वांजुमा भएको १८औं फिना विश्व पौडी च्याम्पियनसिपमा ५६.२८ सेकेन्डको कीर्तिमान बनाएका थिए । एलेक्स यस इभेन्टमा प्रतिस्पर्धा गरेका ७१ खेलाडीमध्ये ५९औं भएका थिए ।
यो स्पर्धामा सर्ट कोर्स (२५ मिटर)मा पनि एलेक्सकै नाममा कीर्तिमान छ । उनले सन् २०१९ नेपालमै भएको १३औं सागमा ५४.३२ सेकेन्डको समय निकालेका थिए । उनी आफ्नो हिटमा पहिलो हुने दोस्रो खेलाडी बने । यसअघि सन् २०१६ को रियो ओलम्पिकमा गौरिका आफ्नो हिटमा पहिलो भएकी थिइन् ।

गौरिकाको औसत प्रदर्शन
कीर्तिमानको खानी जलपरी गौरिका सिंहबाट यसपटक ओलम्पिकमा नेपालले ठुलै अपेक्षा गरेको थियो । आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरे पनि उनको प्रदर्शन औसत बन्यो । महिला १०० मिटर फ्रिस्टाइल उनले १ मिनेट ०.११ सेकेन्डमा पूरा गरिन् । यसअघि लङ कोर्षमा पनि उनकै नाममा १ मिनेट ०.६२ सेकेन्डको कीर्तिमान रहेको थियो ।
सन् २०१९ मा दक्षिण कोरियामा भएको विश्व च्याम्पियनसिपमा गौरिकाले त्यो कीर्तिमान राखेकी थिइन् । १३औं सागमा उनले १ सय मिटर फ्रिस्टाइलमा स्वर्णपदक जितेकी थिइन् । सर्ट कोर्स (२५ मिटर)मा उनले ५८.१३ सेकेन्डको कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् । ४ खेलाडी सम्मिलित हिटमा गौरिका तेस्रो हुँदा अघिल्लो चरण पार गर्न सकिनन् । सन् २०१६ को रियो ओलम्पिकमा कान्छी खेलाडी बन्दै चर्चा कमाएकी गौरिका त्यसबेला १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दै आफ्नो हिटमा पहिलो भएकी थिइन् ।
‘लक्की’ सरस्वती औसत
सुरुमा एथलेटिक्समा म्याराथन धावक गोपीचन्द्र पार्कीले ओलम्पिक खेल्ने पक्का भए पनि अन्तिममा उनको नाम हट्यो र महिला १०० मिटरमा सरस्वती चौधरीले ओलम्पिकमा खेल्ने अवसर पाइन् । ओलम्पिक खेल्ने भाग्यमानी एथलिट बनेकी उनी नेपाली स्प्रिन्टरमध्ये उत्कृष्ट समय भएको आधारमा उनले युनिभर्सल कोटामा ओलम्पिक खेल्ने अवसर पाएकी हुन् ।
तर, टोकियोमा उनको प्रदर्शन औसत रह्यो । सरस्वतीले महिला १०० मिटर सरस्वतीले १२.९१ सेकेन्डमा पूरा गरिन् । उनी ९ मध्ये आठौं स्थानमा रहिन् । यसअघि उनले १३औं सागमा निकालेको १२.५५ सेकेन्डको समय व्यक्तिगत उत्कृष्ट थियो । यस इभेन्टमा देवीमाया पनेरुको नाममा राष्ट्रिय कीर्तिमान छ । उनले सन् १९९९ को सागमा १२.१९ सेकेन्डमा दूरी पार गरेकी थिइन् । राजधानी दैनिकमा प्रकाशित समाचार साभार
मकवानपुर । मकवानपुरका फुटबल क्लबहरुले हेटौंडामा विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मानसिक दबाबको कारण राजिना घाेषणा गरेका थिए । यसकाे विराेध गर्दै हेटाैडाकाे क्लबहरुले बुद्धचोकमा प्रदर्शन गरेका हुन् ।
क्लबहरुले अब्दुल्लाह अल्मुताइरीकाे मानसिक दबाब मुक्तको लागि सामुहिक शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको मकवानपुरका फुटबल क्लबहरु जनाएको छ । प्रदर्शनमा क्लबका खेलाडीहरु, खेल प्रेमीहरुको सहभागिता रहेको थियो ।
यसअघि आजै क्लबहरुले जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामा समक्ष संयुक्त ज्ञापन पत्र बुझाएका थिए ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कुवेती नागरिक अल्मुताइरीले आफूले राजिनामा दिने घोषणा गरेका थिए । एन्फा उपाध्यक्ष पंकज नेम्बाङका कारण राजीनामा घाेषणा गरेकाे उनले फेसबुक मार्फत बताएका थिए ।

मकवानपुर । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२१ को बाँकी खेल युएईमा हुने भएङ्काे छ । कोरोना संक्रमणका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०२१ बीचैमा रद्द गरिएको थियाे । आईपीएल बीचमै रद्द गरिए पछी युएईमा हुने खेलतालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले आइतबार प्रतियोगिता पुनः सुरु हुने मिति सार्वजनिक गरेको हो ।
प्रतियोगिताका कुल ६० खेलमध्ये २९ खेल सम्पन्न भइसकेका छन् भने बाँकी ३१ खेलमध्ये १३ खेल दुबईमा हुँदा १० खेल शारजाह र ८ खेल अबुधाबीमा हुनेछन् । बाँकी रहेका खेलहरु सेप्टेम्बर १९ देखि युएईमा हुने भएका छन् । उक्त दिनमा दुई चिरपरिचित प्रतिद्वन्द्वी मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल अक्टोबर १५ मा हुनेछ ।
आइपिएलको अंकतालिकामा हाल दिल्ली क्यापिटल्स १२ अंकसहित शीर्षस्थानमा रहेको छ भने चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर समान १०-१० अंकसहित दोस्रो र तेस्रोमा छन् । मुम्बई इन्डियन्स ८ अंकसहित चौथोमा छ । राजस्थान रोयल्स र पञ्जाब किङ्स ६-६ अंकसहित पाँचौं र छैंटौंमा रहँदा कोलकाता ४ अंकसहित सातौं र हैदराबाद २ अंकसहित आठौंमा छ ।
