मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्को कार्यालय हेटौंडाकाे गौरीटारमा सारिने भएकाे छ । शुक्रबार सामाजिक विकास मन्त्री विजय सुवेदीले हेटाैडा ६ गौरीटारमा रहेको साढे ३ तल्ले भवनमा प्रदेश खेलकुद विकास परिषद्को कार्यालय शुभारम्भ गर्न उद्घाटन गरेका छन् ।
कोरोना संक्रमितहरुको उपचारका लागि आइसोलेशन वार्डको रुपमा प्रयोग गरिएको उक्त भवनलाई औपचारिक रुपमा पहिलो पटक प्रदेश खेलकुद विकास परिषद्को कार्यालय रहने गरी उद्घाटन भएको हो । भवनमा रहेको ३९ वटै कोठालाई कार्यालयले प्रयोग गर्ने परिषद्ले जनाएकाे छ । उक्त भवन संघीय सरकारको बजेटबाट बनेकाे हाे ।
उक्त भवनमा ९ वटा खेलकुदका प्रदेश स्तरका कार्यालय समेत रहने सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । फुटबल, भलिबल, क्रिकेट, बक्सिङ, एथलेटिक्स, तेक्वान्दो, कराँते, व्याडमिन्टन र स्विमिङ खेल कार्यालयलाई समेत १-१ कोठा कार्यालयका रुपमा प्रयोग गर्न उपलब्ध गराइने भएकाे हाे । कार्यालयको औपचारिक रुपमा शुक्रबार उद्घाटन गरिएको भएपनि हेटौंडा–४ मा रहेको कार्यालयमा रहेका सामानहरु दशैंपछि मात्र सारेर त्यसपछि मात्र कार्यालय गौरीटारबाट सञ्चालन हुने बताइएकाे छ ।
कार्यालय उद्घाटन कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्का सदस्यद्वय माधव तिमल्सिना, कल्पना शर्मा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतकाको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौँडामा विहीबार हेटौँडा रन’ प्रतियोगिता भएको छ । हेटौँडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा ‘हेटौँडा रन’ प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटन् हेटाैडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले गरेका थिए । ६ किलोमिटर ‘हेटौंडा रन’ दौड प्रतियोगितामा हेटौंडा–१४ का डेबिट मिजार प्रथम भएका छन् । यस्तै हेटौंडा १३ को अम्रित सुनार द्वितीय र हेटाैडा १२ कै शशी विश्वकर्मा तृतीय भएका छन् । प्रतियोगितामा ४२ जनाले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको प्रथम हुनेले नगद १५ हजार सहित मेडल तथा प्रमाणपत्र, दोश्रो स्थान हाँसिल गर्नेले १० हजार तथा तेश्रो हुनेले ५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । विजयी प्रतियाेगीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार प्रदान गरेकाे थिए ।
कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा गाउँपालिका स्तरीय फुटसल प्रतियोगिता–२०७८ सुरु भएको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाईले मंगलबार उद्घाटन गरी प्रतियोगिताको सुरूवात गरेका छन् ।
गढी स्टार स्पोर्टस क्लबको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो । फुटसल प्रतियोगितामा २४ वटा टिम सहभागि भएको आयोजककाे तर्फबाट सुभाष अधिकारीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, द्वितीय हुनेलाई ३५ हजार र तृतीय हुनले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
मंगलबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन ६ वटा खेल खेलाइएको थियो । यस्तै बुधबारबाट दैनिक ८ वटा खेल खेलाउने तयारी भएकाे अधिकारीले बताए ।
मकवानपुर । साफ च्याम्पियनसिप-२०२१ मा नेपालसँग श्रीलंका ३-२ ले पराजीत भएकाे छ । साफ च्याम्पियनसिप अन्तरगत सोमबार भएकाे खेलमा नेपालले श्रीलंकालाई ३-२ ले हराएको हाे ।
माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा भएको च्याम्पियनसिपकाे ३३औं मिनेटमा नेपालका लागि सुमन लामाले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ५१औं मिनेटमा अन्जन विष्टले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
श्रीलंकाका लागि भने ५७ औं मिनेटमा मरविन ह्यामिल्टनले उत्कृष्ट गोल गरेका थिए । नेपालका लागि ८६औं मिनेटमा आयुष घलानले तेस्रो गोल गरेका थिए । श्रीलंकाका लागि इन्ज्युरी समयमा डिलोन डि सिल्भाले पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए । यसअघि पहिलो खेलमा माल्दिभ्सलाई पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई पराजित गर्दै ६ अंक बटुलेको छ ।
मकवानपुर । हिन्दुहरुकाे महान चाड दशैकाे उपलक्ष्यमा हेटौंडा १५ मा सञ्चालन भएकाे टोल स्तरिय फुटबल प्रतियोगिता (दशैं कप)को प्री–क्वाटरफाइनल खेल सम्पन्न भएको छ । बागमती प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रातेमाटेको खेल मैदान भएको २ प्री–क्वाटरफाइनल खेल सम्पन्न भएपछि ८ टोली क्वाटरफाइनल पुगेका छन् ।
असाेज १७ गते आईतबार भएको पहिलो प्री–क्वाटरफाइनल खेलमा सानो सुकौली टोल विकास संस्था क्वाटरफाइनल प्रवेश गरेको छ । सानो सुकौलीले श्रृर्जनशिल टोल विकास संस्थालाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
आइतबार नै भएको दोस्रो प्री–क्वाटरफाइनल खेलमा रातोमाटे टोल विकास संस्था क्वाटरफाइनल प्रवेश गरेको छ । रातोमाटेले याङ्ला टोल विकास संस्थालाई ३–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
यसअघि भएको खोलमा जित निकाल्दै सुनौलो, पारिश्रमिक, जाँते, सम्बृद्धी, ठुलो सुकौली, फारल्याण्ड टोल विकास प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । श्री शक्तिश्वरी युवा क्लवको आयोजना भएको प्रतियोगितामा असाेज १८ गते सोमबारदेखी क्वाटरफाइनलका खेल शुरु हुने क्लबका अध्यक्ष एसके लामाले जानकारी दिए । सोमबार हुने पहिलो क्वाटरफाइनलको खेलमा ठुलो सुकौली र फारल्याण्डबिच हुने लामाले जनाकारी दिए । दोस्रो क्वाटरफाइनलको खेलमा पारिश्रमिक र सुनौलोबिच हुनेछ ।
प्रतियोगिताका विजेताले ट्रफि सहित नगद ५० हजार र उपविजेताले ट्रफि सहित नगद २५ हजार प्राप्त गर्नेछन् । दशैकाे अवसरमा आयोजना गरिएको प्रतियोगितामा वडाका १८ वटा टोल विकास समितिको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल २२ गते शुक्रबार हुनेछ ।