मकवानपुर । हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएकाे छ । बागमती प्रदेशको राजधानी हेटाैडामा आगामी माघ १६ गतेदेखि माघ २६ गतेसम्म प्रतियाेगिता हुने भएको हाे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा गर्दै आएकाे मुख्य ठूला ६ गोल्डकप फुटबल प्रतियोगिताहरुको मिति सार्वजनिक गरेसंगै हेटौंडामा शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता माघ १६ गतेबाट हुने भएको हो ।
यसैगरि,एन्फाले सार्वजनिक गरेको मितिमा माघ ६ देखि १५ गतेसम्म पोखरामा आहा रारा गोल्डकप,फागुन १४ देखि २१ सम्म बुटवलको तिलोत्तमा गोल्डकप, सोही मितिमा इटहरी गोल्डकप,फागुन १९ देखि २८ सम्म पोखरा गोल्डकप र फागुन २६ देखि चैत्र ५ गतेसम्म सिमरा गोल्डकप हुने भएको छ ।
मकवानपुर । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । पिप्ले युवा क्लबद्वारा निर्माण हुँदै गरेकाे क्याम्पा रंगशालाको सोमबार जाेशीले अवलाेकन गरेका थिए । अवलोकन पछि जोशीले उक्त रकम सहयोगको घोषणा गरेकाे पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।
स्थानीय सरकार, विभिन्न संघ, संस्था र व्यक्तिको सहयोगमा नागरिकस्तरबाट निर्माणाधिन रंगशालाका लागि नियमितजसो सहयोग प्राप्त भइरहेको क्लबका अध्यक्ष घिमिरेले बताए ।क्याम्पा रंगशालामा ३ हजार ५ सय दर्शक क्षमताको आरसीसी प्यारापिट तथा ३ हजार दर्शक क्षमताको फलामे ट्रसको प्यारापिट बनाइँदै छ । जोशीले उपलब्ध गराउने घाेषणा गरेकाे रकमबाट फलामे ट्रसको प्यारापिट नै निर्माण गरिने अध्यक्ष घिमिरेले बताए ।
मकवानपुर । हेटौंडाका पिप्ले युवा क्लबको अध्यक्षमा सुशील घिमिरे चयन भएका छन् । शनिबार पुष १० गते भएकाे क्लबको १५ वार्षिक साधारणसभाले सर्वसम्मत रुपमा घिमिरेलाई पुनः अध्यक्षमा चयन गरेकाे हाे ।
यसै गरी साधारणसभाले उपाध्यक्षमा भरतकुमार सैजु, सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुदिप सापकोटा, सह–सचिवमा सुदिप सिंह ठकुरीलाई चयन गरेको छ । क्लबको कार्यसमिति सदस्यमा रवि थापा, रणबहादुर खनाल, विवेक अर्याल, भुपेन्द्र चौलागाई, लालकिरण ढुंगेल, अनुज कार्की, सजिता श्रेष्ठ पौडेल, कल्पना राय र नरेन्द्र मोक्तानलाई सर्वसम्मत चयन गरेको छ ।
हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशाला परिसरमा भएको साधारणसभामा क्लबका अध्यक्ष सुशील घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै क्लबका कोषाध्यक्ष सुदीप सापकोटाले १ करोड २० लाख ५६ हजार रुपैयाँको आयव्यय विवरण सभामा प्रस्तुत गरेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँले क्लबका योजनामा उपमहानगरपालिकाबाट पनि क्लबलाई सदैव सहयोग भइरहेकोमा वडा कार्यालयले समेत सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साधारणसभामा पिप्ले युवा क्लबलाई स्थानीय रितेश ठाकुर र ज्ञान बहादुर थापाले पिप्ले युवा क्लबको अगुवाईमा निर्माणाधिन क्याम्पा रंगशाला निर्माणका लागि १०/१० हजार रुपैयाँ सहयोग गरेका छन् ।
वडाध्यक्ष बानियाँको प्रमुख आतिथ्यमा भएको साधारणसभामा वडा सदस्यहरु केशव श्रेष्ठ, सरस्वती दाहाल, ज्ञान बहादुर थापा लगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । जिल्ला स्तरीय पुरुष भलिवल प्रतियोगिता मकवानपुरगढीमा हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी ५ को आयोजना र मकवानपुरगढी गाउँपालिकाकाे प्रायाेजनमा रनिङ शिल्ड पुरुष भलिवल प्रतियोगिता हुन लागेको हो ।
आयाेजक आमभञ्ज्याङ युवा क्लब मङ्गलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आगामी पुस १४ गतेदेखि १७ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएकाे हाे।
प्रतियोगितामा प्रथम हुनेलाई ६६ हजार ६ सय ६६ रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई ३३ हजार ३ सय ३३ रुपैया सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतीय हुनेलाई १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राजेश अधिकारीले बताए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाई २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा टिम दर्ता गर्न २ हजार दस्तुर लाग्ने र टिम दर्ता १३ गते दिउँसो ३ बजे सम्म गरिसक्नुपर्ने कार्यक्रम संयोजक ईन्द्रप्रसाद सञ्जेलले बताए ।
खेलको टाइसिट पुस १३ गते दिउँसो ४ बजे सार्वजनिक गरिने सञ्जेलले बताए । प्रतियोगितामा करिब १० देखी १४ वटा टिमले भाग लिने अनुमान आयोजकले गरेको छ । प्रतियाेगितामा समावेश हुने टिमका खेलाडी मकवानपुर जिल्ला भित्रकाे मात्र हनु पर्ने आयाेजकले जनाएकाे छ ।
मकवानपुर । हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगितामा एबीसी भेट्रान्स पोखराले नागस्वती भेट्रान्स हेटौंडालाई हराउँदै जीत हात पारेकाे छ । नागस्वती हेटौंडालाई २-१ गोल अन्तरले हराउँदै एबीसी पोखरा विजेता भएको हो ।
खेलको निर्धारित समयको सातौं मिनेटमा एविसीको तर्फबाट हरि खड्काले पहिलो गोल गरेका थिए । खेलको १७ मिनेटमा नागस्वती भेट्रान्सका नरेन लिम्बुले गोल फर्काएर बराबरीमा पुर्याएका थिए । खेलको दोस्रो हाफको २७ औं मिनेटमा एविसीको तर्फबाट नरेन्द्रजंग गुरुङले १ गोल थपेपछि एविसी भेट्रान्सले उपाधि जित्न सफल भएको हो । खेलको म्यान अफ द म्याच एबीसीका नरेन्द्रजंग गुरुङ हुनुभएको थियो ।
विजेता एबीसीले ट्रफि सँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ । यस्तै उपविजेता नागस्वती भेट्रान्सले ट्रफि सँगै ५५ हजार ५ सय ५५ रुपैया, प्रमाणपत्र र मेडल प्राप्त गरेकाे छ।
प्रतियाेगिता अन्तरगत विभिन्न विधामा समेत खेलाडीलाई पुरस्कार प्रदान गरिएकाे छ । खेलको उत्कृष्ट गोल किपर एबीसीका सुर्य शर्मा, कोच एबीसीका सुरज गुरुङ, मिड फिल्डर एबीसीका महेन्द्र गुरुङ, सर्वोत्कृष्ट खेलाडी एबीसीका विश्वराज श्रेष्ठ भए भने उत्कृष्ट फरवार्ड नागस्वतीका निमा लामा, डिफेन्डर नागस्वतीका मिलन राई घोषित भएका छन् । उनीहरुलाई ट्रफि र जनही ५/५ हजार नगद सहित पुरस्कृत गरिएकाे छ ।
विजेता र उपविजेता लगायतलाई हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महत र हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष दीपक बज्रचार्यले पुरस्कार प्रदान गरेका थिए । पिप्ले युवा क्लबले निर्माण गर्दै गरेकाे खेलमैदान क्याम्पा रंगशालाका अध्यक्ष सुशील घिमिरेलाई समेत पुरस्कार वितरण कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौंडा वडा नम्बर ५ का अध्यक्ष राजेश बानियाँ, वडा ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, खेलका कार्यक्रम संयोजक मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।