मकवानपुर । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले हेटौंडा–५ मा निर्माणाधिन क्याम्पा रंगशालाका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । पिप्ले युवा क्लबद्वारा निर्माण हुँदै गरेकाे क्याम्पा रंगशालाको सोमबार जाेशीले अवलाेकन गरेका थिए । अवलोकन पछि जोशीले उक्त रकम सहयोगको घोषणा गरेकाे पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।
स्थानीय सरकार, विभिन्न संघ, संस्था र व्यक्तिको सहयोगमा नागरिकस्तरबाट निर्माणाधिन रंगशालाका लागि नियमितजसो सहयोग प्राप्त भइरहेको क्लबका अध्यक्ष घिमिरेले बताए ।क्याम्पा रंगशालामा ३ हजार ५ सय दर्शक क्षमताको आरसीसी प्यारापिट तथा ३ हजार दर्शक क्षमताको फलामे ट्रसको प्यारापिट बनाइँदै छ । जोशीले उपलब्ध गराउने घाेषणा गरेकाे रकमबाट फलामे ट्रसको प्यारापिट नै निर्माण गरिने अध्यक्ष घिमिरेले बताए ।
