मकवानपुर । २० औं आहा रारा गोल्डकप फुटबलको उपाधि विभागीय टिम एपीएफले जितेको छ । सर्वाधिक विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले पराजीत गर्दै गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ । पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि जित्न सफल भएको छ ।
शनिबार पोखरा रंगशालामा मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटममा पराजित गर्दै एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा खेल २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय भएको थियो ।
पेनाल्टी सुटआउटमा मनाङका ओला वालेले हानेको पेनाल्टी एपीएफका जापानी गोलकिपरले बचाएपछि एपीएफले ५-४ ले खेल जितेको थियो । उपाधि सहित एपीएफले १० लाख रुपैयाँ पुरस्कारस्वरूप पाएको छ भने उपविजेता मनाङले ५ लाख पाएको छ ।
मनाङ र एपिएफ आहा राराको २० औं संस्करणमा आइपुग्दा ६ पटक भिडेका छन् । मनाङ र एपीएफ अहिलेसम्म चौथो, ५ औं, ८ औं, ९ औं, १७ औं र २० औं आहारारा गोल्डकपमा आमनेसामने भएका हुन् । जसमा पुलिस २ खेलबाहेक ४ मा हार व्यहोरेको छ ।
मकवानपुर । हेटौंडामा हुने शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता स्थगित भएको छ । कोरोना भाइरस संक्रमण जोखिम बढेसँगै प्रतियोगिता स्थागित गरिएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
प्रतियोगिता माघ १६ गतेबाट २६ गतेसम्म हुने तयारी रहेको थियो । संघका महासचिव युनाल मल्लले विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी दिएका छन् ।
मकवानपुरका स्थानीय पालिकाहरुको प्रायोजनमा मकवानपुर जिल्ला फुटबल संघले शहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

मकवानपुर । हेटाैडा जारी जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधिमाथि महेन्द्र मावि बकैयाले कब्जा जमाएकाे छ । शुक्रबार सम्पन्न फाइनल खेलमा थाहा नगरपालिकाको सुन्दरीदेवी माविलाई सोझो सेटमा पराजित गर्दै महेन्द्र माविले उपाधि जितेको हो ।
महेन्द्र माविले सुन्दरीदेवी माविलाई २५–२१, २५–२३ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै महेन्द्र माविले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुन्दरीदेवी माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी महेन्द्र माविका रमेश परियार घोषित भएका छन् । रमेशले नगद ३ हजार रुपैयाँ पाएका छन् । यस्तै उत्कृष्ट स्पाइकर घाेषित भएका सुन्दरीदेवी माविका प्रकाश बहादुर चन्द र बेस्ट सेटर घोषित भएका महेन्द्र माविका प्रकाश थापा मगरले जनही २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
समापन कार्यक्रम मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालय टिम सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिका आमभञ्याङमा भएको पहिलो जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिताको उपाधि सहिद सुनिता स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले जितेको छ ।
शनिबार भएको फाईनल खेलमा प्रतिष्ठानले आयोजक आमभञ्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधि विजेता प्रतिष्ठानले नगद ६६ हजार ६ सय ६६ रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाे छ ।
यसैगरी उपविजेता आमभञ्याङले ३३ हजार ३ सय ३३ रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाे छ । तेश्रो स्थान प्राप्त गर्न सफल आग्रा खेलकुद विकास समितिले नगद १५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको छाहारी क्लबले ५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा आग्राका सविन कार्की वेष्ट ब्लकर हुँदा प्रतिष्ठानका राजकुमार कर्मचार्य वेष्ट सेटर, आमभञ्याङका आषिश घलान वेष्ट स्पाईकर तथा प्रतिष्ठानकै राजाराम घलान वेष्ट प्लेयर भए । उनिहरुले नगद पाँच हजार सहित ट्रफी हाल पारेका छन् । प्रतियोगितामा विजेता तथा उपविजेताहरुलाई मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाई सहितको अतिथिहरुको टोलीले पुरस्कृत गरेको थियो ।
कार्यक्रममा प्रतियोगिताका संयोजक इन्द्र प्रसाद सञ्जेललाई आयोजक क्लबले विषेश सम्मान गरेको थियो । समापन कार्यक्रममा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यलय प्रमुख खुसराज दाहाल लगायतको उपस्थिती रहेको थियो ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा जारी जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल पुष १७ गते शनिवार हुने भएको छ । फाइनल खेलमा आयोजक आमभञ्ज्याङ्ग युवा क्लव ‘ए’ र सहिद सुनिता स्मृति युवा क्लव भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा आयोजकले आग्रा युवा क्लवलाई पराजित गर्दे फाइनल प्रवेश गरेको हो । त्यस्तै शुक्रबार नै भएको सेमिफाइनल खेलमा सहिद सुनिता स्मृति युवा क्लवले छाहारी युवा क्लवलाई पराजित गर्दे फाइनल प्रवेश गरेको हो । शनिबार हुने फाइनल खेल दिउसो १ बजेबाट सुरु हुने प्रतियोगिताका संयोजक ईन्द्र प्रसाद संजेलले जानकारी दिए ।
त्यस्तै तेस्रो स्थानका लागि छाहारी युवा क्लवले आग्रा युवा क्लवको सामना गर्ने छ । उक्त खेल बिहान ९ वजे हुने आयोजक आमभञ्ज्याङ युवा क्लबले जनाएको छ ।आमभञ्ज्याङ युवा क्लबको आयोजना र मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १२ टिम सहभागि रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६ सय ६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले ३३ हजार ३ सय ३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि,प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाई २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।