मकवानपुर । हेटाैडा जारी जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधिमाथि महेन्द्र मावि बकैयाले कब्जा जमाएकाे छ । शुक्रबार सम्पन्न फाइनल खेलमा थाहा नगरपालिकाको सुन्दरीदेवी माविलाई सोझो सेटमा पराजित गर्दै महेन्द्र माविले उपाधि जितेको हो ।
महेन्द्र माविले सुन्दरीदेवी माविलाई २५–२१, २५–२३ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै महेन्द्र माविले नगद २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुन्दरीदेवी माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी महेन्द्र माविका रमेश परियार घोषित भएका छन् । रमेशले नगद ३ हजार रुपैयाँ पाएका छन् । यस्तै उत्कृष्ट स्पाइकर घाेषित भएका सुन्दरीदेवी माविका प्रकाश बहादुर चन्द र बेस्ट सेटर घोषित भएका महेन्द्र माविका प्रकाश थापा मगरले जनही २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
समापन कार्यक्रम मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी विद्यालय खेलकुद शिक्षक संघ मकवानपुरले आयोजना गरेको प्रतियोगितामा जिल्लाका १९ वटा विद्यालय टिम सहभागिता रहेको थियो ।

