मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा जारी जिल्ला स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल पुष १७ गते शनिवार हुने भएको छ । फाइनल खेलमा आयोजक आमभञ्ज्याङ्ग युवा क्लव ‘ए’ र सहिद सुनिता स्मृति युवा क्लव भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा आयोजकले आग्रा युवा क्लवलाई पराजित गर्दे फाइनल प्रवेश गरेको हो । त्यस्तै शुक्रबार नै भएको सेमिफाइनल खेलमा सहिद सुनिता स्मृति युवा क्लवले छाहारी युवा क्लवलाई पराजित गर्दे फाइनल प्रवेश गरेको हो । शनिबार हुने फाइनल खेल दिउसो १ बजेबाट सुरु हुने प्रतियोगिताका संयोजक ईन्द्र प्रसाद संजेलले जानकारी दिए ।
त्यस्तै तेस्रो स्थानका लागि छाहारी युवा क्लवले आग्रा युवा क्लवको सामना गर्ने छ । उक्त खेल बिहान ९ वजे हुने आयोजक आमभञ्ज्याङ युवा क्लबले जनाएको छ ।आमभञ्ज्याङ युवा क्लबको आयोजना र मकवानपुरगढी गाउँपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १२ टिम सहभागि रहेको थियो ।
प्रतियोगितामा प्रथम हुनेले ६६ हजार ६ सय ६६ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले ३३ हजार ३ सय ३३ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरि,प्रतियोगितामा तृतीय हुनेले १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, वेष्ट स्पाइकरलाई २ हजार, वेष्ट सेटरलाई २ हजार, वेष्ट ब्लकरलाई २ हजार र अनुशासित टिमलाई ३ हजार पुरस्कार रहेको आयोजकले जनाएको छ ।

