मकवानपुर । मकवानपुरगढी गाउँपालिका आमभञ्याङमा भएको पहिलो जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगिताको उपाधि सहिद सुनिता स्मृति प्रतिष्ठान थाहा नगरपालिकाले जितेको छ ।
शनिबार भएको फाईनल खेलमा प्रतिष्ठानले आयोजक आमभञ्याङ युवा क्लबलाई २५–१७, २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधि विजेता प्रतिष्ठानले नगद ६६ हजार ६ सय ६६ रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाे छ ।
यसैगरी उपविजेता आमभञ्याङले ३३ हजार ३ सय ३३ रुपैँया सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेकाे छ । तेश्रो स्थान प्राप्त गर्न सफल आग्रा खेलकुद विकास समितिले नगद १५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना भएको छाहारी क्लबले ५ हजार प्राप्त गरेको छ ।
प्रतियोगितामा आग्राका सविन कार्की वेष्ट ब्लकर हुँदा प्रतिष्ठानका राजकुमार कर्मचार्य वेष्ट सेटर, आमभञ्याङका आषिश घलान वेष्ट स्पाईकर तथा प्रतिष्ठानकै राजाराम घलान वेष्ट प्लेयर भए । उनिहरुले नगद पाँच हजार सहित ट्रफी हाल पारेका छन् । प्रतियोगितामा विजेता तथा उपविजेताहरुलाई मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुँमागाई सहितको अतिथिहरुको टोलीले पुरस्कृत गरेको थियो ।
कार्यक्रममा प्रतियोगिताका संयोजक इन्द्र प्रसाद सञ्जेललाई आयोजक क्लबले विषेश सम्मान गरेको थियो । समापन कार्यक्रममा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यलय प्रमुख खुसराज दाहाल लगायतको उपस्थिती रहेको थियो ।

