मकवानपुरमा क्रिकेट एकेडेमी
Tags: No Comments
मकवानपुर । मकवानपुरमा क्रिकेट एकेडेमी उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच मकवानपुरे क्रिकेट खेलाडी राम नरेश गिरीको अध्यक्षतामा गठन गरिएको मकवानपुर क्रिकेट एकेडेमीको उद्घाटन भएकाे छ । उद्घाटन सँगै क्रिकेट खेलका अन्तर्राष्ट्रिय खेलाडी गिरीको नेतृत्वमा मकवानपुरमा क्रिकेट एकेडेमी स्थापना हुने भएको हाे ।
नेपाल क्रिकेट संघको केन्द्रीय समिति सदस्य करण महत्राले मंगलबार हेटौंडा–४, हुप्रचौरमा एकेडेमीको उद्घाटन गरेका हुन् । एकेडेमीकाे उद्घाटन गर्दै महत्राले एकेडेमीलाई व्यावसायिक बनाएर नयाँ खेलाडी उत्पादनमा ध्यान दिनु पर्ने बताए । गिरीले राष्ट्रिय टिममा मकवानपुरका खेलाडीको सहभागिता बढाउन क्रिकेटका सिनियर खेलाडीको सहभागितामा एकेडेमी स्थापना गरिएको जानकारी दिए । ‘उमेर समूहको राष्ट्रिय टिममा मकवानपुरका खेलाडी चयन हुन नसकेको धेरै भइसक्यो । मकवानपुरको खेलाडीको सहभागिता उमेर समूहको राष्ट्रिय टिममा बढाउनकै लागि एकेडेमी स्थापना र सञ्चालन गर्ने निर्णय गरेका छौं ।’ उनले भने ।
एकेडेमीमा अहिले नयाँ र पुराना गरी २५ जना खेलाडी आवद्ध भइसकेको बताइएकाे छ । एकेडेमीले हेटौंडाको हुप्रचौरमा दैनिकरुपमा बिहान र दिउँसो २ घण्टाका दरले प्रशिक्षण सञ्चालन गर्ने भएकाे छ । अहिले पुरुष खेलाडीलाई मात्रै प्रशिक्षण दिन सुरु गरेको एकेडेमीले छिट्टै महिला खेलाडीलाई पनि प्रशिक्षण सञ्चालन गर्ने छ ।
गिरीको अध्यक्षतामा गठन गरिएको मकवानपुर क्रिकेट एकेडेमीको उपाध्यक्षमा सुरेन्द्र अधिकारी, सचिवमा प्रेम क्षेत्री, कोषाध्यक्षमा रविन गुरुङ रहेका छन् । यस्तै सदस्यमा विनोद लामिछाने, मनोज खड्का, विवेक दाहाल, अमित राई र सन्देश ढकाल चयन भएको छन् । एकेडेमी उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष दिपेन्द्र ढकाल लगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मधेश प्रदेशको पर्सा जिल्लामा आगामी चैत्र २ गतेबाट सुरु हुने प्रथम वीरगंज महिला गोल्डकप फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी पनि सहभागी हुने भएको छ । वीरगंज युथ एकेडेमीले आयोजना गर्ने उक्त प्रतियोगितामा सहभागी हुने तयारी भइरहेको हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भीम लामाले जानकारी दिए । हेटौंडा फुटबल एकेडेमीमा २० जना महिला खेलाडी नियमित प्रशिक्षणमा सहभागी छन् ।
एकेडेमीले हेटौंडा–४, हुप्रचौरमा दैनिक २ देखि ३ घण्टासम्म महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको प्रशिक्षक लामाले बताए । प्रतियोगिताको तयारी लागि प्रशिक्षणमा हेटौंडा बजारभन्दा टाढाबाट आउनुपर्ने महिला खेलाडीलाई आवासीय सुविधा उपलब्ध गराउने प्रयास भइरहेको लामाले जानकारी दिए। हेटौंडा बजारक्षेत्रका साथै हेटौंडाको हर्नामाडी, पदमपोखरी, मनहरी गाउँपालिकाको चकरी, सुनाचुरी, बागमती गाउँपालिकाका महिला खेलाडी एकेडेमीमा नियमित प्रशिक्षण गरिरहेका छन् ।
प्रशिक्षणमा रहेका महिला खेलाडीलाई नियमित प्रशिक्षण सुरु पश्चात गैंडाकोट नवलपुरको महिला टिम र बारा जिल्लाको अम्लेखगन्जस्थित महिला फुटबल टिमसँग एकेडेमीको महिला टिमले मैत्रीपूर्ण खेल खेलिसकेको छ ।
उक्त प्रतियोगितामा आयोजक वीरगंज युथ एकेडेमीसहित मकवानपुरको हेटौंडा फुटबल एकेडेमी र बागमती गाउँपालिकाको बागमती गाउँपालिका फुटबल खेलकुद विकास समिति, सर्लाहीको बागमती युवा क्लब, बारा जिल्लाको निजगढ फुटबल क्लब, अमलेखगन्जको सिद्धबाबा युवा क्लब, भारतको नरकटियागन्ज र छपरा टिम सहभागी हुनेछ । प्रतियोगिताको प्रथम हुनेले ३ लाख रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
मकवानपुर । जिल्ला बक्सिङ संघ मकवानपुरलाई म्याट सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, १४ नम्बर वडा अध्यक्ष दीपक खड्का र बक्सिङ खेलका पूर्व प्रशिक्षक ध्रुवलाल श्रेष्ठले संघलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ६८ वटा म्याट सहयोग गरेका छन् ।
आइतबार हेटौंडा–४ स्थित कभर्डहलमा बक्सिङ संघका अध्यक्ष दिपेश जोशीलाई १४ नम्बार वडा अध्यक्ष खड्काले म्याट हस्तान्तरण गरेका हुन् । वडाध्यक्ष खड्काले ८० हजार रुपैयाँको ३६ वटा म्याट सहयोग गरेका हुन् । यसैगरी पुर्व प्रशिक्षक श्रेष्ठले ४० हजार रुपैयाँको २० वटा म्याट सहयाेग गरेका हुन भने र हेटौंडा उपमहानगरपालिकाले ३० हजार रुपैयाँको १२ वटा म्याट सहयोग गरेको हो ।
म्याट हस्तान्तरण कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहाल, जिल्ला बक्सिङ संघका द्वितीय उपाध्यक्ष सुशील घिमिरे, सचिव भाजु श्रेष्ठ, युनिक बक्सिङ क्बलका अध्यक्ष गोकुल मोक्तान, प्रशिक्षक लालबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मकवानपुरकाे वार्षिक कार्यक्रम तालिका सार्वजनिक भएकाे छ । शनिबार हेटौैंडामा पत्रकार सम्मलेन गरेर महासंघ मकवानपुरका संयोजक सविन लामाले वार्षिक कार्यक्रम तालिका सार्वजनिक गरेका हुन् ।
कार्यक्रम अन्तरगत आगामी फागुन २४ गते नारी दिवसको अवसरमा ५ किलोमिटर महिला दौड प्रतियोगिता गर्ने लामाले जानकारी दिए । महासंघले आगामी चैत १० देखि १२ गतेसम्म राष्ट्रिय बुद्धिचाल प्रतियोगिता, चैत्र १७ गतेदेखि १९ गतेसम्म ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । चैत्र २४ देखि २६ गतेसम्म अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता, चैत्र २९ गते प्लेयर अफ दि इएर घोषणा र पत्रकारलाई सम्मान कार्यक्रम रहेको छ ।
तालिका अनुसार २०७९ साल बैशाख ९ र १० गते जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता, सोहि महिनामा राष्ट्रिय शिनक्युकेसिन प्रतियोगिता, जेठ १४ गते ५ किलोमिटर खुल्ला दौड, असार ४ गते साईक्लिङ प्रतियोगिता, श्रावण १२ देखि १४ गते जिल्ला स्तारीय बुद्धिचाल प्रतियोगिता, भदौ महिनामा प्रदेश स्तरीय जुडो प्रतियोगिता, मंसिर १४ गते स्थापना दिवसको कार्यक्रम, पुस महिनामा खुल्ला भलिवल प्रतियोगिता, माघ ८ गते स्वर्गीय विरेन्द्र राई स्मृति मावि स्तारीय हिज्जे प्रतियोगिता कार्यक्र हुने भएको छ ।
कार्यक्रममा नेपाल खेलकुद महासंंघका केन्द्रीय समितिका निवर्तमान उपमहासचिव धरम लामा, निवर्तमान केन्द्रीय सचिव दीपक न्यौपाने, बागमती प्रदेश कमिटीका सचिव जनरल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । चारदेशीय ट्वान्टी–२० शृंखला अन्तर्गत पहिलो खेलमा नेपालले ओमनलाई ६ विकेटले पराजित गरी शृंखलामा विजयी सुरुवात गरेको छ ।
ओमानको राजधानी मस्कटमा शुक्रबारबाट सुरु प्रतियोगितामा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रनकाे स्कोर बनाएकाे थियाे । जवाफी व्याटिङ गरेको नेपालले २० ओभरमा उक्त लक्ष्य भेटाएकाे हाे ।
ओमानका कप्तान जीसान मक्सूदले सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलमा ४ चौका र एक छक्काकाे स्काेर बनाएका छन् । यस्तै मोहम्मद नदीमले ३१ रन जोड्दा जतिन्दर सिंहले १३ रनको योगदान गरे ।
यसअघि ओमानको अल अमेरात मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अविनाशले २६ रन खर्चिएका थिए । यस्तै कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।
ओमानविरुद्ध नेपालका सागर ढकाल, विवेक यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । जीतसँगै नेपाल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आफ्नो दोस्रो खेलमा शनिबार संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ ।
नेपालले ओमानसँग टी-२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । उक्त खेलमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।
आइसिसी पुरुष टी-२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । त्यसमा समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।