मकवानपुर । चारदेशीय ट्वान्टी–२० शृंखला अन्तर्गत पहिलो खेलमा नेपालले ओमनलाई ६ विकेटले पराजित गरी शृंखलामा विजयी सुरुवात गरेको छ ।
ओमानको राजधानी मस्कटमा शुक्रबारबाट सुरु प्रतियोगितामा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३५ रनकाे स्कोर बनाएकाे थियाे । जवाफी व्याटिङ गरेको नेपालले २० ओभरमा उक्त लक्ष्य भेटाएकाे हाे ।
ओमानका कप्तान जीसान मक्सूदले सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलमा ४ चौका र एक छक्काकाे स्काेर बनाएका छन् । यस्तै मोहम्मद नदीमले ३१ रन जोड्दा जतिन्दर सिंहले १३ रनको योगदान गरे ।
यसअघि ओमानको अल अमेरात मैदानमा टस जितेर फिल्डिङ गरेको नेपालका लागि अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका अविनाशले २६ रन खर्चिएका थिए । यस्तै कमल सिंह ऐरी, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान एक विकेट लिए ।
ओमानविरुद्ध नेपालका सागर ढकाल, विवेक यादवले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । जीतसँगै नेपाल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आफ्नो दोस्रो खेलमा शनिबार संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्नेछ । यस्तै नेपालले सोमबार आयरल्यान्डसँग खेल्नेछ ।
नेपालले ओमानसँग टी-२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । उक्त खेलमा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।
आइसिसी पुरुष टी-२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । ग्लोबल छनोट ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । त्यसमा समूह एकमा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

