मकवानपुर । मकवानपुरमा क्रिकेट एकेडेमी उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच मकवानपुरे क्रिकेट खेलाडी राम नरेश गिरीको अध्यक्षतामा गठन गरिएको मकवानपुर क्रिकेट एकेडेमीको उद्घाटन भएकाे छ । उद्घाटन सँगै क्रिकेट खेलका अन्तर्राष्ट्रिय खेलाडी गिरीको नेतृत्वमा मकवानपुरमा क्रिकेट एकेडेमी स्थापना हुने भएको हाे ।
नेपाल क्रिकेट संघको केन्द्रीय समिति सदस्य करण महत्राले मंगलबार हेटौंडा–४, हुप्रचौरमा एकेडेमीको उद्घाटन गरेका हुन् । एकेडेमीकाे उद्घाटन गर्दै महत्राले एकेडेमीलाई व्यावसायिक बनाएर नयाँ खेलाडी उत्पादनमा ध्यान दिनु पर्ने बताए । गिरीले राष्ट्रिय टिममा मकवानपुरका खेलाडीको सहभागिता बढाउन क्रिकेटका सिनियर खेलाडीको सहभागितामा एकेडेमी स्थापना गरिएको जानकारी दिए । ‘उमेर समूहको राष्ट्रिय टिममा मकवानपुरका खेलाडी चयन हुन नसकेको धेरै भइसक्यो । मकवानपुरको खेलाडीको सहभागिता उमेर समूहको राष्ट्रिय टिममा बढाउनकै लागि एकेडेमी स्थापना र सञ्चालन गर्ने निर्णय गरेका छौं ।’ उनले भने ।
एकेडेमीमा अहिले नयाँ र पुराना गरी २५ जना खेलाडी आवद्ध भइसकेको बताइएकाे छ । एकेडेमीले हेटौंडाको हुप्रचौरमा दैनिकरुपमा बिहान र दिउँसो २ घण्टाका दरले प्रशिक्षण सञ्चालन गर्ने भएकाे छ । अहिले पुरुष खेलाडीलाई मात्रै प्रशिक्षण दिन सुरु गरेको एकेडेमीले छिट्टै महिला खेलाडीलाई पनि प्रशिक्षण सञ्चालन गर्ने छ ।
गिरीको अध्यक्षतामा गठन गरिएको मकवानपुर क्रिकेट एकेडेमीको उपाध्यक्षमा सुरेन्द्र अधिकारी, सचिवमा प्रेम क्षेत्री, कोषाध्यक्षमा रविन गुरुङ रहेका छन् । यस्तै सदस्यमा विनोद लामिछाने, मनोज खड्का, विवेक दाहाल, अमित राई र सन्देश ढकाल चयन भएको छन् । एकेडेमी उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष दिपेन्द्र ढकाल लगायतकाे उपस्थिति रहेको थियो ।

