थाहाले जित्यो पालिकास्तरीय महिला भलिबलकाे उपाधी
Tags: No Comments
मकवानपुर । मकवानपुर हेटौंडामा भएकाे तेस्रो संस्करणको पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाले हात पारेकाे छ । मंगलबार भएकाे फाइनलमा थाहाले हेटौंडा उपमहानगरकाे टिमलाई २५–२०, ३०–२८ र २५–१९ को सोझो सेटमा हराउँदै प्रतियोगिताकाे विजेता बन्यो ।
प्रतियोगिताको विजेतासँगै थाहाले १ लाख रुपैयाँ हात पार्यो । उपविजेता हेटौंडाले ८० हजारमा चित्त बुझायो । यसैगरी सेमिफाइनल प्रवेश गरेका भीमफेदी र बकैया गाउँपालिकाकाे टिमले ३०/३० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थाहाकी गंगा गुरुङ घोषित भइन् । यस्तै उत्कृष्ट स्पाइकर हेटौंडाकी नेहा चौधरी, डिफेण्डर हेटौंडाकै आइसा सिं दनुवार, ब्लकर भीमफेदीकी तुलसा चौधरी, सेटर थाहाकी लक्ष्मी बलामी र उत्कृष्ट प्रशिक्षक थाहाकै किरण गिरी घोषित भए । उदयीमान खेलाडी हेटौंडाकी अप्सना उप्रेती भइन् । सर्वोत्कृष्ट खेलाडी गुरुङले ७ हजार र अन्य विधागत उत्कृष्टले जनही ४/४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
मंगलबार भएकाे पहिलो सेमीफाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै हेटौंडा फाइनल प्रवेश गरेको हो । हेटौंडाले भीमफेदीलाई २६–२४, २२–२५, २५–१८ र २५–२१ ले पराजित गरेको थियाे । यस्तै दोस्रो सेमीफाइनल खेलमा थाहा नगरपालिकाले बकैया गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ । थाहाले बकैयालाई २५–१२, २५–१७ र २५–१८ को सेटमा हराएकाे थियो ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग, मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा मकवानपुरका ७ वटा पालिकाको सहभागिता रहेको थियो । केशवलाल प्रतिष्ठानका अध्यक्ष प्रताव विष्ट, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा लगायतले विजेता उपविजेतालाई पुरस्कार वितरण गरे ।
मकवानपुर । बागमती प्रदेशकाे वर्ष खेलाडी राजन बल र एरिका गुरुङ घोषित भएका छन् । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आइतबार साँझ हेटौंडामा खोखोका बललाई सर्वोत्कृष्ट पुरुष र करातेकी गुरुङलाई सर्वोत्कृष्ट महिला वर्ष खेलाडी घोषित गर्दै सम्मान गरेकाे छ ।
मन्त्रालयले विभिन्न ८ विधाका १२ जनालाई बागमती प्रदेश स्पोर्ट्स अवार्ड प्रदान गरेको हो । एथ्लेटिक्सका जीतबहादुर केसी र बैकुण्ठ मानन्धरलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस्तै पारा तेक्वान्दोका कविराज नेगी उत्कृष्ट प्रशिक्षक र पत्रकार श्याम चित्रकार उत्कृष्ट पत्रकारबाट सम्मानित भएका छन् ।
फुटबलका आयुष घलान, भलिबलकी सलिना श्रेष्ठ र एथ्लेटिक्सका सन्तोषी श्रेष्ठ लोकप्रिय खेलाडीबाट सम्मानित भए । तेक्वान्दोकी संगीता वैद्य बागमतीको शान, पारा तेक्वान्दोकी पलेसा गोवर्द्धन उत्कृष्ट पारा तेक्वान्दो खेलाडी, गल्फका सद्भाव आचार्य युवा खेलाडी र ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्षबाट सम्मानित भए ।
लाइफ टाइम एचिभमेन्ट, उत्कृष्ट महिला र पुरुष, बागमतीको सान र उत्कृष्ट प्रशिक्षकलाई जनही १/१ लाख रुपैंया र अन्य विधाका खेलाडीलाई जनही ५० हजार रुपैयाँसहित अवार्ड र सम्मानपत्र प्रदान गरिएको थियो । यसैगरी उत्कृष्ट पत्रकारबाट सम्मानित चित्रकारले ५० हजार रुपैंयासहित अवार्ड प्राप्त गरेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालगायतले सम्मानित सबै जनालाई अवार्ड, नगद र सम्मानपत्र प्रदान गरेका थिए ।
मुख्यमन्त्री लामाले प्रदेश स्पोर्ट्स अवार्डले खेलाडी र खेल क्षेत्रमा लाग्न चाहनेलाई थप हौसला मिल्ने बताए । ‘कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिंदै जानुपर्छ उनले भने ‘खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सफलता प्राप्त गरेका पूर्व तथा वर्तमान खेलाडीको कदर र नयाँ खेलाडीको हौसला बढाउन कार्यक्रम सफल सावित हुनेछ ।’
यस्ता कार्यक्रमले खेलाडीको विदेश पलायन रोक्न समेत मद्दत पुग्ने आयोजकले विश्वास लिएकाे छ । खेलाडीहरुलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यका साथ प्रदेश सरकारले पहिलो पटक अवार्डको आयोजना गरेको हाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आइतबारबाट पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएकाे छ । प्रतियोगिताको हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले उद्घाटन गरे ।
केशबलाल श्रेष्ट स्मृती केन्द्रीय प्रतिष्ठान हेटौंडाकाे आयोजनामा सुरु प्रतियाेगिता ६ जेठसम्म सञ्चालन हुनेछ । मकवानपुर जिल्ला भलिबल संघकाे सहआयोजना तथा हेटौंडा उपमहानगरपालिकाको प्रमुख सहयोगमा सञ्चालन भएकाे प्रतियोगिता अन्तरगत आइतबार ४ खेल भएका छन् । लिगकम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका तथा बकैया र भीमफेदी गाउँपालिकाले विजय यात्रा सुरु गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले ईन्द्रसरोवर गाउँपालिकालाई २५–१७ र २५–९ काे साेझो सेटमा हरायो । यस्तै बकैयाले बागमतीलाई २५–१४ र २५–१२ को सोझो सेटमा हराउँदा भीमफेदीले मकवानपुरगढी गाउँपालिकालाई २५–१५ र २५–१८ को सेटमा हरायो । यस्तै थाहा नगरपालिकाले भीमफेदी गाउँपालिकालाई २५–१४ र २५–२१ को सेटमा पराजित गरेकाे जिल्ला भलिवल संघ मकवानपुर अध्यक्ष बसन्त कुमार सिटौलाले जानकारी दिए ।
प्रतियोगितामा मकवानपुरका १० मध्ये ७ वटा पालिकाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ८० हजार प्राप्त गर्नेछन् । यसैगरी सेमिफाइनल प्रवेश गर्ने अर्को २ टिमले ३०/३० हजार रुपैयाँ प्राप्त गर्ने सिटौलाले बताए । उनका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार र अन्य विधागत उत्कृष्टले जनही नगद ४ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् । महिला भलिबल खेलाडीको पहिचान एवम् खेल क्षेत्रको विकासका लागि प्रतियाेगिता आयोजना गरिएकाे उनले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका -५ स्थित पिप्लेक्याम्पा रंगशालामा सुरु पाचौं मेयर कप फुटबल प्रतियोगिता–२०८२ मा वडा नम्बर ११ ले विजयी सुरुवात गरेकाे छ ।
शनिबार भएकाे प्रतियोगिताको उद्घाटन खेलमा हेटौंडा–११ ले डिफेन्डिङ च्याम्पियन हेटौंडा–४ लाई ३–० गोलअन्तरले पराजित गरेको छ । विजयी टोलीको तर्फबाट पवन राई, सम्बन्ध डिम्डुङ र मनोज घलानले एक/एक गोल गरेका थिए । उत्कृष्ट खेल प्रर्दशन गरेका हेटौंडा–११ का पवन राई खेलको म्यान अफ दी म्याच घोषित हुदैं नगद २ हजार सहित शिल्ड प्राप्त गरे ।
आइतबारकाे पहिलाे खेल दिउँसो १ बजे वडा नम्बर ३ र १३ बिच तथा दोस्राे खेल दिउँसो ३ बजे वडा नम्बर ९ र १६ बिच हुनेछ । नगर खेलकुद विकास समितिकाे आयोजनामा भएकाे प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः २ लाख ५० हजार र २ लाख रुपैंया शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैंया हात पार्नेछ भने उत्कृष्ठ फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रतिरक्षक र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैंया प्राप्त गर्ने आयोजकले जनाएकाे छ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचको लागि मायाको चिनो प्रदान गरिनेछ । हेटौंडाको १९ वटै वडाको सहभागिता रहेको प्रतियोगितामा १३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा उद्घाटन र फाइनल बाहेक प्रत्येक दिन २ वटा खेल हुनेछ ।
फुटबल खेलको विकासमा सहयोग पु¥याउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको लगानीमा नगर खेलकुद विकास समितिले प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको हो । नगर खेलकुद विकास समितिकाे आयोजनामा भएकाे प्रतियाेगिता समितिका रविन्द्र घिमिरेको सभाध्यक्षतामा भएको थियाे भने उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गरेका थिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा शनिबार (आज) बाट पाँचाैं हेटाैंडा उपमहानगरपालिका मेयर कप फुटबल प्रतियोगिता सुरु हुदैंछ । हेटौंडा उपमहानगरपालिका आयोजनामा हुने प्रतियाेगिता हेटौंडा – ५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।
उद्घाटन खेलमा साविक विजेता हेटौंडा ४ नम्बर वडा र ११ नम्बर वडा भिड्ने छन् ।प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमले क्रमशः २ लाख ५० हजार र २ लाख रुपैंया शिल्ड, मेडल, प्रमाण पत्र प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैंया हात पार्नेछ भने उत्कृष्ठ फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट प्रतिरक्षक र उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रुपैंया प्राप्त गर्ने आयोजकले जनाएकाे छ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचको लागि मायाको चिनो प्रदान गरिनेछ ।
प्रतियाेगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाकाे टिमले सहभागिता रहेकाे छ । १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उद्घाटन र फाइनलकाे दिन १/१ वटा खेल हुनेछ । यस्तै अन्य प्रत्येक दिन २ वटा खेल खेलाइने छ ।
वडाबाट सहभागी हुने टिमका खेलाडी सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्नेछ व्यवस्था आयोजकले गरेकाे छ । टिममा प्रत्येक वडाको तर्फबाट १८ जना खेलाडी, १ जना प्रशिक्षक, १ जना व्यवस्थापक र २ जना अफिसियल गरी २२ जना रहनेछन् ।
प्रतियाेगिता अन्तरराष्ट्रिय फुटबल महासंघ (फिफा) काे नियमानुसार खेलाइने बताइएकाे छ । फुटबल खेलको विकासमा सहयोग पुर्याउने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाको लगानीमा नगर खेलकुद विकास समितिले प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना गर्दै आएको हो ।