मकवानपुर । मकवानपुर हेटौंडामा भएकाे तेस्रो संस्करणको पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाले हात पारेकाे छ । मंगलबार भएकाे फाइनलमा थाहाले हेटौंडा उपमहानगरकाे टिमलाई २५–२०, ३०–२८ र २५–१९ को सोझो सेटमा हराउँदै प्रतियोगिताकाे विजेता बन्यो ।
प्रतियोगिताको विजेतासँगै थाहाले १ लाख रुपैयाँ हात पार्यो । उपविजेता हेटौंडाले ८० हजारमा चित्त बुझायो । यसैगरी सेमिफाइनल प्रवेश गरेका भीमफेदी र बकैया गाउँपालिकाकाे टिमले ३०/३० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी थाहाकी गंगा गुरुङ घोषित भइन् । यस्तै उत्कृष्ट स्पाइकर हेटौंडाकी नेहा चौधरी, डिफेण्डर हेटौंडाकै आइसा सिं दनुवार, ब्लकर भीमफेदीकी तुलसा चौधरी, सेटर थाहाकी लक्ष्मी बलामी र उत्कृष्ट प्रशिक्षक थाहाकै किरण गिरी घोषित भए । उदयीमान खेलाडी हेटौंडाकी अप्सना उप्रेती भइन् । सर्वोत्कृष्ट खेलाडी गुरुङले ७ हजार र अन्य विधागत उत्कृष्टले जनही ४/४ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
मंगलबार भएकाे पहिलो सेमीफाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै हेटौंडा फाइनल प्रवेश गरेको हो । हेटौंडाले भीमफेदीलाई २६–२४, २२–२५, २५–१८ र २५–२१ ले पराजित गरेको थियाे । यस्तै दोस्रो सेमीफाइनल खेलमा थाहा नगरपालिकाले बकैया गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ । थाहाले बकैयालाई २५–१२, २५–१७ र २५–१८ को सेटमा हराएकाे थियो ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग, मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा मकवानपुरका ७ वटा पालिकाको सहभागिता रहेको थियो । केशवलाल प्रतिष्ठानका अध्यक्ष प्रताव विष्ट, हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा लगायतले विजेता उपविजेतालाई पुरस्कार वितरण गरे ।

