मकवानपुर । मकवानपुर जिल्लामा पहिलो पटक रग्बी खेल हुँदैछ । भोलिबाट मकवानपुरको हेटौंडा ५ क्याम्पा रंङ्गशालामा खेल हुनेछ । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै मकवानपुर रग्बी संघले यसबारे जानकारी गराएको हो ।
खेलमा मकवानपुर रग्बी संघ र चितवन रग्बी संघका रग्बी टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । महिला रग्बी टिम र पुरुष रग्बी दुबै टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । पत्रकार सम्मेलनमा मकवानपुर रग्बी संघका अध्यक्ष लिला कुमार घलानले नवौं राष्ट्रिय खेलकुदका लागि छनौट अगाडी मैत्रीपुर्ण खेल हुन लागेको बताए । खेलले दुई जिल्लाका खेलाडी बीच सम्बन्ध र मैत्रीभाव प्रकट हुने उनले बताए । अहिले मकवानपुरमा रग्बी नयाँ खेल जस्तै भएकाले कुनै संघसंस्थाले यस खेललाई चासो नदिएकोमा उनले गुनासो गरे । चासो कम भएकै कारण आर्थिक जोहो गर्न नसक्दा खेलाडीहरुसँग समेत रकम संकलन गरेको उनले बताए ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिका निमित्त कार्यालय प्रमुख माधव कोइरालाले जिल्ला खेलकुद विकास समितिले रग्बी खेलको विकासमा आवश्यक सहयोग गरिने बताए । रग्बी संघ मकवानपुरका प्रशिक्षक विक्रम भारतीले अहिले मकवानपुरका रग्बी खेलाडीहरुले नियमित प्रशिक्षण गर्दै आएको बताए । रग्बी अन्य खेलको तुलनामा जिल्लामा नयाँ भएका कारण खेलाडीले थोरै मिहेनत गरेमा राम्रो स्थान पाउन सक्ने उनले बताए ।
भाेली शनिबार हुने मैत्रीपुर्ण खेलमा मकवानपुर रग्बी टिमको पुरषतर्फको कप्तानी विकल भोलन र महिलातर्फको टिमको ज्योती बोम्जनले कप्तानी गर्नेछिन् । यस्तै चितवनको रग्बी टिमको पुरुषतर्फ यदु अधिकारी र महिलातर्फको टिमको पुस्तिका वाग्लेले कप्तानी गर्नेछिन् । यस अघि मकवानपुर रग्बी टिमले अन्य जिल्लाहरुमा आयोजना भएको प्रतियोगिताहरुमा भने सहभागिता जनाउँदै आएको थियो । मकवानपुरकाे पुरुष रग्बी टिम गत बैशाखमा चितवनमा भएको प्रतियोगितामा द्वितीय हुन सफल भएको थियो । यस्तै महिला रग्बी टिमले गत वर्ष काठमाडौंमा आयोजना भएको प्रतियोगितामा प्रथम उपाधी जितेको थियो ।
मकवानपुर । नवौं राष्ट्रिय खेलकुद, २०७९ मा स्वर्णपदक विजेता खेलाडीलाई मासिक ६ हजार रुपैयाँ भत्ता दिइने भएको छ । बागमती प्रदेश सकरले राष्ट्रिय खेलकुदमा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन स्वरुप मासिक ६ हजार रुपैयाँ भत्ता दिने भएको हाे ।
नवौं राष्ट्रिय खेलकुद २०७९, बागमती प्रदेशको तयारी तथा सहभागिताबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रवार प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारीले खेलाडीलाई प्राेत्साहन भत्ता उपलब्ध गराइने जानकारी दिए ।भण्डारीले प्रदेश सरकारको प्राथमिकतामा परेका खेलहरुमा स्वर्णपदक विजेता खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले मासिक ६ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको बताए ।
खेलकुद प्रतियाेगितामा फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, बक्सिङ, कराते, तेक्वादो, ब्याडमिन्टन र पौडी खेलका खेलाडीले स्वर्ण पदक प्राप्त गरे मासिक भत्ता पाउने छन् । प्रदेशले अर्को राष्ट्रिय प्रतियोगिताको व्यवस्था नभएसम्मका भत्ता दिने जनाएको छ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुनेछ । ३६ खेलमा प्रतिस्पर्धा हुने खेलकुदमा बागमती प्रदेशले सबै खेलमा सहभागिता जनाउनेछ । प्रतियाेगितामा प्रदेशको तर्फबाट ७ सय ९ जना खेलाडीहरु सहभागी हुने बताइएकाे छ ।
मकवानपुर । मकवानपुर जिल्लामा पहिलो पटक रग्बीकाे मैत्रीपूर्ण खेल हुने भएको छ । मकवानपुर रग्बी संघ र चितवन रग्बी संघबीच २ मैत्रीपूर्ण खेल हुने भएको हो ।
आगामी भदौैं १० र ११ गते दुबै जिल्लाका रग्बी संघ बीच मैत्रीपुर्ण खेल खेल्ने तय भएको मकवानपुर जिल्ला रग्बी संघले जनाएकाे छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेलमा महिला रग्बी टिम र पुरुष रग्बी दुबै टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । यस अघि मकवानपुरका रग्बी टिम खेलाडी चितवन र काठमाडौंमा खेल्दैै आएका थिए ।
मकवानपुरमा रग्बी खेल खेलाउन नसकेको अवस्थामा पहिलो पटक मकवानपुरमा मैत्रीपुर्ण खेल हुन लागेको जिल्ला रग्बी संघका अध्यक्ष लिला कुमार घलानले बताए । अहिले मकवानपुर रग्बी टिमले नियमित प्रशिक्षण गर्दै आएको उनले जानकारी दिए । २ जिल्लाका खेलाडीहरुबीच सुमधुर सम्बन्धकाे लागि खेल हुन लागेको घलानले बताए ।
मकवानपुर । मकवानपुरको हेटौंडामा हेटौंडा राइडर्स क्लबको आयोजनामा कोरा साइकल र्याली हुने भएको छ । र्यालीको लागि सबै तयारी पूरा भएको छ ।
आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै हेटौंडा कोरा साइकल र्यालीको तयारी पूरा भएको जानकारी दिएको छ । क्लब अध्यक्ष विकास ताम्राकारका अनुसार साइकल र्यालीमा करिब दुई सयजना सहभागी हुनेछन् । विहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल र्यालीले करिब ५० किलोमिटरको यात्रा पूरा गर्नेछन् ।
हेटौंडाको भुटनदेवी मन्दिर परिसरबाट सुरु भई फरेष्ट्री, हुप्रचौर, पारिजात पथहुँदै कान्तिराज पथ, बुद्ध चोकबाट चौकी टोलहुँदै वन कार्यालय, मनकामना चोक, पिप्ले, फुर्केचौर, गुम्बाडाँडा हुँदै हेटौंडा औद्योगिक क्षेत्र र पुनः कर्रा हुँदै बुद्ध चोकमा पुगेर कार्यक्रम समापन हुने जनाइएको छ । कार्यक्रममा चितवन, बारा, पर्सा जिल्लाका साइकल राइडरहरु गरी करिब २ सय जना सहभागी रहनेछन् । कार्यक्रम सञ्चालनका लागि ३ लाख ७० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
उनीहरुले हेटौंडा क्षेत्रका विभिन्न मठमन्दिर तथा पर्यकीय स्थलको परिक्रमा गर्नेछन् । भुटनदेवी मन्दिरबाट हर्नामाडीस्थित गुम्बाडाँडा पुगेर हटियाहुँदै हेटौंडा मुख्यबजारस्थित बुद्धचोकमा आएर साइकल र्याली टुंगिनेछ । कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिका तथा विभिन्न संघसंस्थाबाट आर्थिक सहयोग प्राप्त भएको ताम्राकारले बताए ।
मकवानपुर । मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बकैया गाउँपालिकाका बुद्ध मावि प्रथम भइ उपाधी जितेकाे छ ।
आइतबार सम्पन्न १२ औँ संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १० स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित बुद्ध मावि जिल्ला प्रथम भएकाे हाे । बुद्ध माविले यसअघि २०७७ साल चैतमा भएकाे ११ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा प्रथम भइ उपाधी जितेको थियो ।
प्रतियोगितामा थाहा नगरपालिकाकाे जनकल्याण मावि द्वितीय भएको छ । ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित जनकल्याण द्वितीय भएको हो । यस्तै हेटौंडा उपमहानगरपालिकाका जनप्रिय मावि ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तृतीय भएको छ ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयका खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा जिल्लाका १० स्थानीय तह मध्ये ७ स्थानीय तहले मात्र सहभागिता जनाएका थिए । जिल्लास्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीहरुले असार २५ गतेबाट हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले जानकारी दिए ।
यसैगरी प्रतियोगिता अन्तर्गत भलिवलको छात्र तर्फ थाहा नगरको सुृन्दरीदेवी मावि प्रथम, हेटौडाकाे अरनी मावि द्वितीय र कैलाशको कालिका मावि तृतीय भएको छ। यस्तै भलिवलको छात्रा तर्फ थाहाकाे जकल्याण मावि प्रथम, मकवानपुरगढीकाे भानुमावि द्वितीय र ईन्द्रसरोवरकाे कालिका मावि तृतीय भएको छ ।
कबड्डी खेल तर्फ छात्रमा हेटौंडाको जनप्रिय प्रथम, थाहा नगरको जनकल्याण द्वितीय र मकवानपुरगढीको चण्डीका मावि तृतीय भएको छ । यस्तै कबड्डीमा छात्रा तर्फ थाहा नगरकाे जनकल्यण प्रथम, हेटौडाकाे चन्द्रोदय मावि द्वितीय र मकवानपुरगढीको बंशगोपाल तृतीय भएको छ ।
उत्कृष्ट खेलाडीहरुमा एथलेटिक्समा बकैयाकाे बुद्ध माविका आयुस नेगी, र हेटौडाकाे बालबोध माविका करुणा पाख्रीन, भलिवलमा थाहा नगरकाे सुन्दरीदेवी माविका पुजन गुरुङ र थाहा नगर कै जनकल्याण माविकी सविना रुम्वा तथा कबड्डीमा हेटाैडाकाे जनप्रिय माविका निश्चल थापा तथा थाहानगरकाे जनकल्याण माविकी कंचन घले उत्कृष्ठ भएका छन् ।
विजेता खेलाडी तथा विद्यालयहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्की,नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही,विभिन्न खेल संघका अध्यक्षहरुले मेडलशिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।