मकवानपुर । मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बकैया गाउँपालिकाका बुद्ध मावि प्रथम भइ उपाधी जितेकाे छ ।
आइतबार सम्पन्न १२ औँ संस्करणको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा १० स्वर्ण, ३ रजत र ३ कास्य पदकसहित बुद्ध मावि जिल्ला प्रथम भएकाे हाे । बुद्ध माविले यसअघि २०७७ साल चैतमा भएकाे ११ औँ संस्करणको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डमा प्रथम भइ उपाधी जितेको थियो ।
प्रतियोगितामा थाहा नगरपालिकाकाे जनकल्याण मावि द्वितीय भएको छ । ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित जनकल्याण द्वितीय भएको हो । यस्तै हेटौंडा उपमहानगरपालिकाका जनप्रिय मावि ४ स्वर्ण, ३ रजत र २ कास्यसहित तृतीय भएको छ ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयका खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा जिल्लाका १० स्थानीय तह मध्ये ७ स्थानीय तहले मात्र सहभागिता जनाएका थिए । जिल्लास्तरीय प्रतियोगितामा छनौट भएका खेलाडीहरुले असार २५ गतेबाट हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख राजन दाहालले जानकारी दिए ।
यसैगरी प्रतियोगिता अन्तर्गत भलिवलको छात्र तर्फ थाहा नगरको सुृन्दरीदेवी मावि प्रथम, हेटौडाकाे अरनी मावि द्वितीय र कैलाशको कालिका मावि तृतीय भएको छ। यस्तै भलिवलको छात्रा तर्फ थाहाकाे जकल्याण मावि प्रथम, मकवानपुरगढीकाे भानुमावि द्वितीय र ईन्द्रसरोवरकाे कालिका मावि तृतीय भएको छ ।
कबड्डी खेल तर्फ छात्रमा हेटौंडाको जनप्रिय प्रथम, थाहा नगरको जनकल्याण द्वितीय र मकवानपुरगढीको चण्डीका मावि तृतीय भएको छ । यस्तै कबड्डीमा छात्रा तर्फ थाहा नगरकाे जनकल्यण प्रथम, हेटौडाकाे चन्द्रोदय मावि द्वितीय र मकवानपुरगढीको बंशगोपाल तृतीय भएको छ ।
उत्कृष्ट खेलाडीहरुमा एथलेटिक्समा बकैयाकाे बुद्ध माविका आयुस नेगी, र हेटौडाकाे बालबोध माविका करुणा पाख्रीन, भलिवलमा थाहा नगरकाे सुन्दरीदेवी माविका पुजन गुरुङ र थाहा नगर कै जनकल्याण माविकी सविना रुम्वा तथा कबड्डीमा हेटाैडाकाे जनप्रिय माविका निश्चल थापा तथा थाहानगरकाे जनकल्याण माविकी कंचन घले उत्कृष्ठ भएका छन् ।
विजेता खेलाडी तथा विद्यालयहरुलाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्यलाल भण्डारी,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेस खड्की,नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही,विभिन्न खेल संघका अध्यक्षहरुले मेडलशिल्ड र प्रमाणपत्र वितरण गरेका थिए ।

