मकवानपुर । मकवानपुरकी बक्सिङ खेलाडी राेशनी घलान काजकिस्तानमा हुने बक्सिङ प्रतियोगितामा सहभागी हुने भएकी छिन् । एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगिताको लागि घलान छनौट भएको प्रशिक्षक लाल बहादुर पौडेलले जानकारी दिए ।
घलान ५० केजी तौल समूह अन्तर्गत नेपालको राष्ट्रिय छनौट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम स्थान गर्दै उक्त प्रतियाेगिताकाे लागि छनौट भएकी हुन । घलान काजकिस्तानको आस्ताना सहरमा अक्टुबर २१ देखि हुने एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा भाग लिने छिन् ।
यसैबीच मकवानपुर उद्योग वाणिज्य संघले एक कार्यक्रमकाबीच बक्सिङ खेलाडी घलानलाई १० हजार रुपैया प्रोत्साहन स्वरुप प्रदान गरेकाे छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जीतको लागि शुभकामना दिदै प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् । यस्तै थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले पनि घलानलाई सहयाेग गरेका छन् ।
थाहानगर उवासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत
मकवानपुर उद्योग वाणिज्य संघले थाहानगर उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीलाई हेटौंडामा स्वागत गरेको छ । मउवासंघका अध्यक्ष गुप्ताले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । मउवासंघको स्थापना,आर्थिक क्रियाकलाप,संघले विगतदेखि वर्तमानसम्म गरेका कार्यहरुकाे थाहा उवासंघका पदाधिकारीलाई गुप्ताले जानकारी गराएका छन् ।
त्यसैगरी थाहानगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम ढकालले मउवासंघका पूर्व अध्यक्ष केशव श्रेष्ठको कार्यकालबाट मउवासंघको उत्तरी क्षेत्र समिति गठन प्रक्रिया प्रारम्भ भएको र सोही उत्तरी क्षेत्र समिति हाल थाहानगर उद्योग वाणिज्य संघको रुपमा स्थापित भएको बताए । थाहानगर उद्योग वाणिज्य संघको वर्तमान भवन मकवानपुर उद्योग वाणिज्य संघकै सहयोगमा निर्माण भएकोमा थाहानगर उद्योग वाणिज्य संघको मातृसंस्थाको रुपमा मकवानपुर उद्योग वाणिज्य संघलाई अफूले लिएको उनले जानकारी दिए ।
‘थाहा नगर कृषि क्षेत्रमा परिचित र पर्यटकीय गन्तव्यकाे रुपमा सम्भावना बाेकेकाे क्षेत्र रहेको छ’ ढकालले भने ऋषेश्वर,गोरखनाथलगायतका धेरै धार्मिक स्थल थाहा नगरमा रहेकाेले धार्मिक पर्यटनको समेत प्रसस्त सम्भावना देखिन्छ ।’
मकवानपुर । मकवानपुरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बसामाडी जेसीजको आयोजनामा जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिता असोज २४ गतेबाट हुने भएको हो ।
जेसीजले मगलबार हेटौंडामा पत्रकार भेटघाट गर्दै २१ औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता असोज २४ देखि २७ गतेसम्म संचालन गरिने जानकारी गराएको हो ।
जेसीआई बसामाडीका अध्यक्ष जनक भण्डारीले २० वर्षबाट निरन्तर रुपमा भइरहेको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगिता निरन्तरताको लागि असोज २४ गतेबाट हुने जानकारी दिए ।
प्रतियोगितामा जिल्लाका १२ देखि १५ वटा टिमको सहभागिता रहने भण्डारीले बताए । प्रतियोगिताको प्रथम हुने टिमले नगद ६० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले नगद ३० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।
जेसीआई बसामाडीको २० औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले हात पारेको थियो ।
यस्तै प्रतियोगिताभर विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताको लागि करिब साढे ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगितालाई हेटौंडाको स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्दै आएका छन् ।
मकवानपुर । मकवानपुरको हेटौँडामा पहिलो पटक ३ दिवसीय टेष्ट क्रिकेट हुदैछ । मकवानपुर क्रिकेट संघको अयोजनामा पहिलो पटक ३ दिवसीय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
आज असोज १ गतेबाट ३ गतेसम्म टेष्ट क्रिकेट प्रतियोगिता हुने मकवानपुर क्रिकेट संघले जनाएको छ । टेष्ट क्रिकेटको फरम्याटमा हुने प्रतियोगितामा मकवानपुरे दर्शकले ‘ह्वाईट ड्रेस क्रिकेट’ को मज्जा लिन पाउने भएका छन् ।
हेटौंडा उपमहानगरपालिका ४ स्थित हुप्राचौरमा विहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म लगातार चल्ने प्रतियोगितामा मकवानपुर र चितवन आमनेसामने हुने भएका हुन् ।
सुमन सुनार क्याप्टेन रहेको मकवानपुर टिमले दिपेश श्रेष्ठ क्याप्टेन रहेको चितवनसँग भिड्ने संघ सचिव बिनोदकुमार बानियाले जानकारी दिए ।
मकवानपुर । हेटौंडामा प्रथम अन्तर विद्यालय जुनियर तेक्वान्दो प्रतियोगिता हुने भएको छ । कृष्ण आदर्श ईङलिस बोर्डिङ स्कुलको आयोजनामा प्रथम अन्तर विद्यालय जुनियर तेक्वान्दो प्रतियोगिता हुने भएको हाे ।
विहीबार विद्यालयले पत्रकार भेटघाट गरी प्रतियाेगिता सम्बन्धमा जानकारी दिएकाे हाे । भदौ २९ र ३० गते हुने प्रतियाेगिताकाे सम्पूर्ण तयारी पूरा भएको जनाएको आयोजकले जनाएकाे छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन केसीले राष्ट्रिय तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगितामा संस्थागत र सामुदायिक विद्यालयका २० वटा विद्यालयका २ सय भन्दा बढी विद्यार्थीको सहभागीता रहने जनाकारी ।
‘विद्यार्थीहरुको भौतिक विकासको लागि खेलकुदले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । पढाइसँगसँगै समाज परिवर्तन खेलले पनि गर्दछ’ केसीले भने –‘बालबालिकाहरुलाई अतिरिक्त कृयाकलापमा सहभागी गराएर शारीरीक रुपमा स्वस्थ बनाउने उदेश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागेका हौँ ।
प्रतियोगिताकै क्रममा विद्यार्थीहरुलाई यौनजन्य दुर्व्यवहार सम्बन्धी सचेतना तथा आत्मरक्षा तालिम समेत प्रदान गरिने भएकाे छ । सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरको समन्वयमा यौनजन्य दुर्व्यवहार सम्बन्धी सचेतना तथा आत्मरक्षा तालिम सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सञ्चालनका लागि करीब ३ लाख लागत लाग्ने आयोजकले अनुमान गरेकाे छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा भएको अन्तर जेसीस फुटसल प्रतियोगिताको उपाधि सौराहा जेसीजले जितेको छ । फाइनलमा आयोजक प्रस्तावित मकवानपुरगढी जेसीजलाई ७–२ गोलान्तरले पराजित गर्दै सौराहाले जेसीज कप फुटसलको उपाधि हात पारेको हो ।
बिजेता सौराह जेसीसले उपाधीसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्दा मकवानपुरगढीले ५० हजारमा चित्त बुझायो । सौराहाको लागि जीत दिलाउन असिम भट्टराईले ४ र शिखर लम्सालले ३ गोल गरे । यस्तै आयोजकको तर्फबाट विवश थिङले सान्त्वना २ गोल गरेका थिए । सौराहले पालुङ जेसीजलाई र मकवानपुरगढीले वीरगञ्जलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगितामा अनुशासित टिमको उपाधी सूर्योदय जेसीजले प्राप्त गर्दा विधागत उत्कृष्ट पुरस्कार सौराहाका खेलाडीले प्राप्त गरे । उत्कृष्ट खेलाडी असिम भट्टराई, उत्कृष्ट गोलरक्षक सौगात रिजाल र सर्वाधिक गोलकर्ता शिखर लम्साल घोषित भइ नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिम तथा बिधागत उत्कृष्ट खेलाडीलाई मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीन, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
मकवानपुरगढी जेसीज (प्र) ले मकवानपुरगढी गाँउपालिकालाई नेपाल भरका जेसीजका शाखामाझ पर्यटन प्रवद्र्धधन, औद्योगिक प्रतिष्ठानहरुलाई खेलकुदमा लगानी गर्दै सामाजिक उत्तरदायित्व बहन एवम् खेलकुदको विकास गराउने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुष्पराज पुडासैनीले बताए ।
भदौ १५ र १६ गते मकवानपुरगढी फुटसल मैदानमा भएको प्रतियोगितामा १८ वटा समूहले सहभागिता जनाएका थिए ।