मकवानपुर । मकवानपुरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बसामाडी जेसीजको आयोजनामा जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिता असोज २४ गतेबाट हुने भएको हो ।
जेसीजले मगलबार हेटौंडामा पत्रकार भेटघाट गर्दै २१ औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता असोज २४ देखि २७ गतेसम्म संचालन गरिने जानकारी गराएको हो ।
जेसीआई बसामाडीका अध्यक्ष जनक भण्डारीले २० वर्षबाट निरन्तर रुपमा भइरहेको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगिता निरन्तरताको लागि असोज २४ गतेबाट हुने जानकारी दिए ।
प्रतियोगितामा जिल्लाका १२ देखि १५ वटा टिमको सहभागिता रहने भण्डारीले बताए । प्रतियोगिताको प्रथम हुने टिमले नगद ६० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले नगद ३० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।
जेसीआई बसामाडीको २० औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले हात पारेको थियो ।
यस्तै प्रतियोगिताभर विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताको लागि करिब साढे ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगितालाई हेटौंडाको स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्दै आएका छन् ।

