मकवानपुर । मकवानपुरकी बक्सिङ खेलाडी राेशनी घलान काजकिस्तानमा हुने बक्सिङ प्रतियोगितामा सहभागी हुने भएकी छिन् । एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगिताको लागि घलान छनौट भएको प्रशिक्षक लाल बहादुर पौडेलले जानकारी दिए ।
घलान ५० केजी तौल समूह अन्तर्गत नेपालको राष्ट्रिय छनौट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम स्थान गर्दै उक्त प्रतियाेगिताकाे लागि छनौट भएकी हुन । घलान काजकिस्तानको आस्ताना सहरमा अक्टुबर २१ देखि हुने एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा भाग लिने छिन् ।
यसैबीच मकवानपुर उद्योग वाणिज्य संघले एक कार्यक्रमकाबीच बक्सिङ खेलाडी घलानलाई १० हजार रुपैया प्रोत्साहन स्वरुप प्रदान गरेकाे छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जीतको लागि शुभकामना दिदै प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् । यस्तै थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले पनि घलानलाई सहयाेग गरेका छन् ।
थाहानगर उवासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत
मकवानपुर उद्योग वाणिज्य संघले थाहानगर उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीलाई हेटौंडामा स्वागत गरेको छ । मउवासंघका अध्यक्ष गुप्ताले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । मउवासंघको स्थापना,आर्थिक क्रियाकलाप,संघले विगतदेखि वर्तमानसम्म गरेका कार्यहरुकाे थाहा उवासंघका पदाधिकारीलाई गुप्ताले जानकारी गराएका छन् ।
त्यसैगरी थाहानगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम ढकालले मउवासंघका पूर्व अध्यक्ष केशव श्रेष्ठको कार्यकालबाट मउवासंघको उत्तरी क्षेत्र समिति गठन प्रक्रिया प्रारम्भ भएको र सोही उत्तरी क्षेत्र समिति हाल थाहानगर उद्योग वाणिज्य संघको रुपमा स्थापित भएको बताए । थाहानगर उद्योग वाणिज्य संघको वर्तमान भवन मकवानपुर उद्योग वाणिज्य संघकै सहयोगमा निर्माण भएकोमा थाहानगर उद्योग वाणिज्य संघको मातृसंस्थाको रुपमा मकवानपुर उद्योग वाणिज्य संघलाई अफूले लिएको उनले जानकारी दिए ।
‘थाहा नगर कृषि क्षेत्रमा परिचित र पर्यटकीय गन्तव्यकाे रुपमा सम्भावना बाेकेकाे क्षेत्र रहेको छ’ ढकालले भने ऋषेश्वर,गोरखनाथलगायतका धेरै धार्मिक स्थल थाहा नगरमा रहेकाेले धार्मिक पर्यटनको समेत प्रसस्त सम्भावना देखिन्छ ।’
In: खेलकुद, मुख्य खबर, राष्ट्रिय, स्थानीय खबर/समाज
Tags: No Comments

