मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा भएको अन्तर जेसीस फुटसल प्रतियोगिताको उपाधि सौराहा जेसीजले जितेको छ । फाइनलमा आयोजक प्रस्तावित मकवानपुरगढी जेसीजलाई ७–२ गोलान्तरले पराजित गर्दै सौराहाले जेसीज कप फुटसलको उपाधि हात पारेको हो ।
बिजेता सौराह जेसीसले उपाधीसहित नगद १ लाख रुपैयाँ प्राप्त गर्दा मकवानपुरगढीले ५० हजारमा चित्त बुझायो । सौराहाको लागि जीत दिलाउन असिम भट्टराईले ४ र शिखर लम्सालले ३ गोल गरे । यस्तै आयोजकको तर्फबाट विवश थिङले सान्त्वना २ गोल गरेका थिए । सौराहले पालुङ जेसीजलाई र मकवानपुरगढीले वीरगञ्जलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
प्रतियोगितामा अनुशासित टिमको उपाधी सूर्योदय जेसीजले प्राप्त गर्दा विधागत उत्कृष्ट पुरस्कार सौराहाका खेलाडीले प्राप्त गरे । उत्कृष्ट खेलाडी असिम भट्टराई, उत्कृष्ट गोलरक्षक सौगात रिजाल र सर्वाधिक गोलकर्ता शिखर लम्साल घोषित भइ नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिम तथा बिधागत उत्कृष्ट खेलाडीलाई मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, उपाध्यक्ष मानकुमारी नेपाली पाख्रीन, नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।
मकवानपुरगढी जेसीज (प्र) ले मकवानपुरगढी गाँउपालिकालाई नेपाल भरका जेसीजका शाखामाझ पर्यटन प्रवद्र्धधन, औद्योगिक प्रतिष्ठानहरुलाई खेलकुदमा लगानी गर्दै सामाजिक उत्तरदायित्व बहन एवम् खेलकुदको विकास गराउने उद्देश्यले फुटसल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पुष्पराज पुडासैनीले बताए ।
भदौ १५ र १६ गते मकवानपुरगढी फुटसल मैदानमा भएको प्रतियोगितामा १८ वटा समूहले सहभागिता जनाएका थिए ।

