मकवानपुर । मकवानपुरकाे हेटौंडामा जारी बृहत खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत भएको सेभेन ए साइड महिला फुटबलको उपाधि चितवनले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा नारायणी कलेज एन्फा मकवानपुरलाई टाइब्रेकरमा हराउँदै चितवनले उपाधि जितेको हो । निर्धारित समय एक/एक गोलको बराबरी भएपछि सिधै टाइब्रेकरमार्फत निर्णय लिइएको थियो ।
टाइब्रेकरमा चितवन २–० ले विजयी भएको हो । चितवनले बीरगञ्जलाई र एन्फा मकवानपुरले बागमती गाउँपालिकालाई हराउँदै फाइनल भिडन्त पक्का गरेको थियो । विजेता चितवनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने एन्फा मकवानपुरले १० हजार रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ ।
आयोजकले सहभागी टिमलाई आउन जान खर्चको समेत व्यवस्था गरेको थियो । विजेता खेलाडीहरुलाई मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महत, खेलकुद विकास समितिका अध्यक्ष भेष खड्की, कार्यालय प्रमुख माधव कोइराला, मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदी, नारायणी कलेजका प्रमुख रघुनाथ खराल लगायतले पुरस्कार वितरण गरेका हुन् ।
१७ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल सञ्चालन भैरहेको छ । जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि खेलकुद विकास समितिले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा हेटौंडाको टिसिएन चौरमा महोत्सव सञ्चालन गरिरहेको हो ।
मकवानपुर । मनहरी गाउँपालिका अध्यक्ष कपको चौथो संस्करणको उपाधी ७ नम्बरकाे पोल्टामा परेकाे छ । शुक्रबार भएको फाइनलमा २ नम्बर वडालाई १-० गोल अन्तरले हराउँदै ७ ले उपाधी हात पारेकाे हो ।
७ नम्बरलाई उपाधी जिताउन मनिष पौडेलले गाेल गरे । खेलकाे दाेस्राे हाफको ५४ औं मिनेटमा पौडेलले गरेकाे गोल नै निर्णायक बनेकाे थियाे । बिजेता ७ नम्बरले एक लाख रुपैयाँ प्राप्त गर्दा उपबिजेता २ नम्बरले ५० हजारमै चित्त बुझायाे ।गत मंगलबार भएको पहिलो सेमिफाइनलमा २ नम्बर वडाले ६ नम्बर वडालाई ट्राइबेकरमा ५-३ ले पछि पार्दै फाइनल यात्रा तय गरेको हो ।
यसैगरी मंगलबार नै भएको ७ नम्बर वडा र ८ नम्बर वडा बिच भएकाे सेमिफाइनल खेलबाट ७ नम्बर वडा फाइनल प्रवेश गरेका छ । ८ नम्बर वडालाई १-० गोल अन्तरले पछि पार्दै ७ नम्बरले फाइनलमा २ नम्बरसंगको भेट पक्का गरेको छ ।
फाइनल खेलको म्यान अफ द म्याच र सर्वोत्कृष्ट खेलाडी २ नम्बरका अशोक मोक्तान भए । उनले म्यान अफ द म्याचकाे २ हजार र सर्वोत्कृष्ट खेलाडीकाे १० हजार प्राप्त गरे । अन्य विधागत उत्कृष्टको पुरस्कार बिजेता टिमकै नाममा रह्यो । उत्कृष्ट गोलकिपर आशिष् राउत, डिफेन्डर सुदिप सापकोटा, मिडफिल्डर कपिल मोक्तान, सर्वाधिक गोलकर्ता मनिष पौडेल र प्रशिक्षक सागर स्याङ्तान घोषित भए । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको फाइनलमा यू १६ बाट खेलिसकेका मनहरीका फुटबल खेलाडी सन्तोष गोङ्बा र कृषल मोक्तानलाई नगद १० हजार रुपैयाँ सहित सम्मान गरिएको थियो । प्रतियोगिताको समापना मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, अखिल नेपाल फुटबल संघ एन्फा केन्द्रीय सदस्य टिकाराम लामा, ७ नम्बर वडाका कार्यबाहक अध्यक्ष नवराज सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको समापनमा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
मंसिर ३० गतेदेखि रमौली स्थित क्षेत्रीय मदन भण्डारी रंगशालामा सुरु भएको चौथो अध्यक्ष कप फुटबल प्रतियोगिताको मनहरी गाउँपालिकाको सहयोग र मनहरी खेलकुद विकास समितिले आयोजना भएको हो । मनहरी गाउँपालिका उपाध्यक्ष कप भलिबलको तयारीमा लागेकाे बताइएकाे छ ।
मकवानपुर । हेटौंडामा सुरु भएको खेलकुद महोत्सव अन्तर्गत पहिलो दिन भएको दौड प्रतियोगितामा पुरुषतर्फ सोहन राई र महिलातर्फ रेश्मा थापा विजयी भएका छन् ।
अन्य ३४ खेलाडीलाई पछि पार्दै पुरुषतर्फ राई प्रथम भएका हुन् । दौडमा सन्तोष गौतम द्वितीय र नवराज कार्की तृतीय भएका हुन् । यस्तै महिलातर्फ २६ खेलाडीलाई पछि पार्दै रेश्मा थापा प्रथम भएकी हुन् ।
सजिना स्याङ्तान द्वितीय र सरिता हुमागाईं तृतीय भइन् । महिला र पुरुष दुवैतर्फको प्रथम, द्वितीय र तृतीय भएका खेलाडीले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
शुक्रबार जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुनेछ । ७ गते जिल्लास्तरीय तेक्वान्दो, ८ गतेबाट अन्तर जिल्ला महिला फुटबल, ९ गते राष्ट्रिय तेक्वान्दो, १० गते क्युकोसिन र आइटिएफ, ११ र १२ गते राष्ट्रिय उसु, १२, १३ र १४ गते पिप्ले क्याम्पा रंगशालामा हक्की, १३, १४, १५ र १६ गते महिला राष्ट्रिय भलिबल प्रतियोगिता, १३ गते महिला र पुरुषको रेस्लिङ तथा १७ गते कबड्डी प्रतियोगिता हुनेछ । सबै प्रतियोगिताको विजेता खेलाडीहरुले नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
हेटौंडामा बृहत खेलकुद तथा व्यापार महोत्सव सुरु(संस्कृति प्रदर्शन भिडियो सहित)
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौडामा विहीबारबाट बृहत खेलकुद तथा व्यापार महोत्सव विहीबारबाट सुरु भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल काठमाडौंको संयुक्त आयोजनामा सुरु भएको खेलकुद तथा व्यापार महोत्सवकाे बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले महोत्सवको उद्घाटन गरेकी हुन् ।
हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा सुरु महाेत्सवकाे उद्घाटन गर्दै वन मन्त्री खड्काले खेलकुद स्वास्थ्य र राज्यको लागि अपरिहार्य रहेको बताइन् । “खेलकुदले व्यक्ति स्वस्थ्य हुनु भनेको राज्यले निरोगी र तन्दुरुस्त जनशक्ति पाउनु हो, यस्ता खेल महोत्सवले खेलाडीलाई प्रोत्साहन पनि गर्छ” उनले भनिन् । खेलकुद तथा व्यापार मेलालेआर्थिक रुपमा समेत सहयोग पुर्याउने उनले बताइन् । मेलाको क्रममा हुने विभिन्न खेलको प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर पनि हुने उनले बताइन् ।
समिति अध्यक्ष वेष खड्कीको सभाध्यक्षता तथा मन्त्री खड्काको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाहरुद्धारा पञ्चेबाजा प्रदर्शनी समेत गरिएको थियो । मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना हुनेछ ।
समिति अध्यक्षा खड्कीले महोत्सवभर राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुने बताए । उनका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् । महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता, कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता हुनेछ । सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको छ । महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ । २ सय ६० वटा स्टल रहेकाे महोत्सवमा कृषि, पर्यटन, हस्तकला,अटोमोबाइल साथै बाल उद्यान समेत राखिएको छ । महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरका प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, पुर्व नगर प्रमुख हरि बहादुर महत, हेटौंडाका वडा अध्यक्षहरु, शिक्षाविद् पुरन बहादुर जोशी, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न खेलकुदसम्बन्ध संघसंस्थाका अध्यक्षहरु, खेलका प्रशिक्षकहरु, औद्योगिक शान्ति नेपाल संस्थाका प्रमुख सन्दिप महत लगायत विभिन्न युवा क्लब तथा टोल विकास संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
संस्कृति प्रदर्शनको भिडियो यहाँ हेर्न सक्नुहुन्छ
खेल महोत्सवको तयारीः मुख्यमन्त्रीले उद्घाटन गर्ने
Tags: No Comments
मकवानपुर । मकवानपुरको खेल क्षेत्रको विकासको उद्देश्यसहित यही पुष ५ गतेबाट सञ्चालन हुन लागेको बृहत् खेलकुद तथा व्यापार महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको छ । खेलका लागि आवश्यक संरचना निर्माण, खेल तालिका निर्माण, महोत्सव स्थलको घेराबारा, स्टल निर्माण लगायतको कार्य धमाधम भैरहेको हो ।
खेलकुद महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गर्ने भएका छन् । खेलकुद महोत्सवप्रति मकवानपुरका खेलकुद संघका पदाधिकारी एवम् खेलाडीहरु उत्साही बनेका छन् । खेलकुद विकास समितिमा आबद्ध विभिन्न संघका पदाधिकारी तथा खेलाडीहरु महोत्सवका लागि एकजुट भएर खटिएका छन् । महोत्सव आयोजना स्थल टिसिएन चौर महोत्सवको लागि सजिएको छ । खेलकुद र खेलाडीको हितको लागि आयोजना हुँदै गरेको महोत्सव सफल बनाउन सबै एकजुट रहेको उनीहरुको भनाई रहेको छ ।
‘महोत्सवको तयारी करिब अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत तयारी सकिसकेको छ’, आयोजक संस्था मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बेष खड्गीले भने, ‘पवित्र उद्देश्यले आयोजना गर्न लागिएको यस महोत्सवलाई सबैले सहयोग गरिरहनुभएको छ । आम जिल्लाबासीलाई महोत्सवमा उपस्थितीका लागि हार्दिक अनुरोध समेत गर्दछौं ।’ महोत्सवमा राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुनेछ ।

महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता, कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता हुनेछ । सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको छ । महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
