मकवानपुर । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा हेटौंडा उपमहानगरपालिकाले प्रथम स्थान हासिल गरेकाे छ । १४औँ संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत हेटौडा उपमहानगरपालिका २० स्वर्णसहित प्रथम भएकाे हाे ।
हेटौंडाको हुप्राचौरमा माघ १२ गतेदेखि १४ गतेसम्म सचालन भएकाे प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका २० स्वर्ण, १० रजत र २० कास्य जित्दै प्रथम भएको हो । यसैगरी बकैया गाउँपालिका १२ स्वर्ण १० रजत र ९ कास्य प्राप्त गरी द्वितीय स्थानमा रहँदा थाहा नगरपालिकाले ९ स्वर्ण ९ रजत ९ कास्यसहित तृतीय स्थान हासिल गरेको छ ।
राष्ट्रपति रनिङ शिल्डमा बागमती गाउँपालिकाले ४ स्वर्ण ८ रजत ८ कास्य, भीमफेदी गाउँपालिकाले ४ स्वर्ण १ रजत ३ कास्य, मनहरी गाउँपालिकाले १ रजत ३ कास्य, इन्द्रसरोवर गाउँपालिकाले १ स्वर्ण २ रजत २ कास्य, कैलाश गाउँपालिकाले २ स्वर्ण ९ रजत ३ कास्य हात पारेकाे मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइरालाले जानकारी दिए । मकवानपुरको राक्सिराङ गाउँपालिकाले प्रतियाेगितामा कुनै पनि पदक प्राप्त गर्न सकेन ।
मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिकामा बागमती गोल्डकप हुने भएकाे छ । छैठौं संस्करणको बागमती गोल्डकप आगामी फागुन १ गतेदेखि सुरु हुने आयोजक बागमती खेलकुद विकास समितिले जानकारी दिएको हो ।
सोमबार गाउँपालिकामा पत्रकार भेटघाटमा आयोजना गर्दै बागमती गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले गोल्डकपमा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोलीको सहभागिता रहने जानकारी दिए ।
बागमती–८ स्थित जनता माविको खेलमैदानमा फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताकाे विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा करिब ६९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा बागमती गाउँपालिकाबाट ३० लाख र अन्य खर्च प्रदेश खेलकुद परिषदबाट १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त हुने आयोजकले जनाएको छ ।
बागमती गोल्डकपको पहिलाे संस्करणकाे उपाधि हरिहरपुरगढी सिन्धुलीले हात पारेकाे थियाे । दोस्रो संस्करणकाे उपाधि सरस्वती युवा क्लब काठमाडौंले जितेकाे थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लब ललितपुरले हात पारेको थियो । प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पार्दा पाचौं संस्करणको उपाधीकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिका भएकाे थियो । यस संस्करणमा भने उक्त क्लबले सहभागिता नजनाउने अध्यक्ष श्रेष्ठले बताए ।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, बागमती गाउँपालिका–३, का वडा अध्यक्ष कमानसिं पाख्रिन, ४ नम्बर वडा अध्यक्ष दन्तलाल माझी, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बललगायतको सहभागिता रहेको थियो ।
विद्यालय स्तरीय टि– २० क्रिकेट प्रतियोगिता हुने
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौडामा विद्यालयस्तरीय टि २० क्रिकेट प्रतियाेगिता हुने भएकाे छ । आगामी माघ २० गतेबाट दोस्रो निरज श्रेष्ठ स्मृति विद्यालय स्तरीय टि २० क्रिकेट प्रतियोगिता २०८० आयोजना हुने भएको हाे ।
मकवानपुर क्रिकेट संघकाे आयाेजनामा हुने प्रतियाेगितामा जिल्लाका निजी तथा सामूदायिक गरी १६ विद्यालयकाे सहभागी गराइने साेमबार हेटौडा पत्रकार भेटघाट गरी जानकारी गराइएकाे छ । ११ दिनसम्म चल्ने प्रतियोगितामा २७ वटा खेलहरु हुने आयोजकले जानकारी दिएको छ । प्रतियाेगितामा प्रथम र द्वितीय स्थान प्राप्त गर्ने टिमलाई नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने कार्यक्रम संयाेजक संजाेक पाेख्रेलले बताए । उनका अनुसार प्रतियाेगिताकाे उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट बलर, म्यान अफ द सिरिज लाई नगद सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ द म्याचलाई पनि ट्रफि र प्रमाण पत्र प्रदान गरिने ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई छनौट गरी अण्डर १६ जिल्ला टिम निर्माण गरी प्रशिक्षण गराउने संघ अध्यक्ष करण महत्राले जानकारी दिए । लिग कम नकआउटको आधारमा संचालन हुने प्रतियोगिताकाे अनुमानित लागत ५ लाख ५० हजार रहेकाे उनले बताए । प्रतियोगिताकाे जानकारी दिन आयोजित पत्रकार भेटघाटमा राष्ट्रिय अम्पायर सुनिल बर्तौला, संघ अध्यक्ष महत्रा, सचिव बिनोद बानिंया, कोषाध्यक्ष धिरज श्रेष्ठ, कार्यक्रम संयोजक पोखरेललगायतको उपस्थिति रहेको थियो ।
यसअघि भएको प्रथम संस्करणको खेलमा विजेता हेटौडाकाे भुटनदेवी मावि र उप विजेता सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी भएको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा ८ मा भएकाे ८ ए साइड फुटबल प्रतियाेगिताकाे उपाधी हुप्रा सिटीले हात पारेकाे छ । प्रतियाेगिता अन्तरगत शनिबार भएकाे फाइनलमा आयोजक कर्णावती क्लबलाई २–० गाेल अन्तरले पाखा लगाउँदै हुप्रा सिटी विजयी भएकाे हाे ।
उपाधीसँगै हुप्रा सिटीले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेतामा चित्त बुझएकाे कर्णावतीले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ । प्रतियाेगितामा बेस्ट किपर शक्ति मोक्तान (कर्णावती) बेस्ट डिफिन्डर बिकास तितुङ (हुप्रा सिटी) हाई स्कोर कबिर लामा (कर्णावती) बेस्ट प्लेयर/म्यान अफ द म्याच विश्वास भोलन (हुप्रा सिटी) भए ।
हेटौडा ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा भएकाे (U-60Kg) ८ ए साइट नक आउट फुटबल प्रतियोगिताको विहीबारकाे सेमिफाइनलबाट हुप्रा सिटी र कर्णावती फाइनल प्रवेश गरेका थिए । हुप्रा सिटीले फायरलाइन एफसीलाई लाई १-० गोल अन्तरले र कर्णावती युवा क्लबले रामनगर युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
कर्णावती युवा क्लबको आयोजना भएको (U-60Kg) ८ ए साइड नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागिता रहेको थियाे । ८ नम्बर वडा अध्यक्ष राम कृष्ण थापाको प्रमुख अतिथ्यतामा प्रतियाेगिता समापन भएकाे हाे ।

मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० माघको दोस्रो साताबाट सञ्चालन हुने हुने भएको छ । स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ १६ गतेबाट सञ्चालन हुने भएकाे हाे ।
आगामी माघ १६ गतेबाट माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियाेगिता जिल्ला फुटबल संघ मकवानपुरकाे आयाेजनामा हुनेछ । यसवर्ष प्रतियोगितामा आयोजक, आठवटा ए डिभिजन क्लब , एउटा विदेशी, दुईवटा मोफासलका क्लब गरी १२ टिमकाे सहभागी हुने हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएको छ ।
जिल्ला फुटबल संघ मकवानपुरका अनुसार प्रतियोगितामा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लब सहभागी हुनेछन् । यसैगरी प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुनेछन् । आयोजककाे तर्फबाट रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हाे ।
हेटौंडा–६ स्थित गौरिटार रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई यसवर्ष पनि करिब ५ लाख रुपैयाँ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिने भएको छ । मोटरसाइकलको प्रायोजन पर्शराम स्मृति प्रतिष्ठानले गरेको संघ अध्यक्ष टिकाराम लामाले जानकारी दिए । प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको छैटौं संस्करण आयोजनाका जिम्मेवारी हेटौंडा–१५ को न्यू डाँफे युथ क्लबलाई प्रदान गरिएको छ । डाँफेले प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, टिकट तथा अन्य आन्तरिक व्यवस्थापन गर्नेछन् । प्रतियोगिताकाे जिम्मेवारी प्राप्त भएकाेले मैदानको स्तरोन्नति लगायतकाे कार्य तीब्ररुपमा अगाडि बढिरहेको डाँफे क्लबका अध्यक्ष आलोक स्याङ्तानले बताए ।
२०७७ सालमा भएकाे तेस्राे संस्करणबाट स्थानीय तह शहिद स्मृती मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताकाे नाममा प्रतियाेगिता सञ्चालन भएकाे हाे । यस अघि विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि २०७७ सालबाट जिल्लाका १० वटा स्थानीय तहबाट सहयोग प्राप्त भए पछि मकवानपुर फुटबल संघले ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरी प्रतियोगिता सञ्चालन गर्दै आएकाे हाे । जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले शहीद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ । २०६/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो ।
प्रतियाेगिताकाे पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले हात पारेकाे थियो । २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो । प्रतियोगिताको पाँचौं संस्करणकाे उपाधी सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेकाे थियो । फाइनलमा हिमालयन शेर्पालाई पराजित गर्दै एपीएफले उपाधि जितेको हो । प्रतियोगिताको पाचौं संस्करण हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना गरिएको थियो ।