मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौडामा मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० माघको दोस्रो साताबाट सञ्चालन हुने हुने भएको छ । स्थानीय तह छैठौं सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता माघ १६ गतेबाट सञ्चालन हुने भएकाे हाे ।
आगामी माघ १६ गतेबाट माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियाेगिता जिल्ला फुटबल संघ मकवानपुरकाे आयाेजनामा हुनेछ । यसवर्ष प्रतियोगितामा आयोजक, आठवटा ए डिभिजन क्लब , एउटा विदेशी, दुईवटा मोफासलका क्लब गरी १२ टिमकाे सहभागी हुने हेटौडामा पत्रकार भेटघाट गरी जानकारी दिइएको छ ।
जिल्ला फुटबल संघ मकवानपुरका अनुसार प्रतियोगितामा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लब सहभागी हुनेछन् । यसैगरी प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुनेछन् । आयोजककाे तर्फबाट रिगल हेटौंडा रिसोर्टको नाममा सहभागी हुने भएको हाे ।
हेटौंडा–६ स्थित गौरिटार रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद १५ लाख, उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई यसवर्ष पनि करिब ५ लाख रुपैयाँ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिने भएको छ । मोटरसाइकलको प्रायोजन पर्शराम स्मृति प्रतिष्ठानले गरेको संघ अध्यक्ष टिकाराम लामाले जानकारी दिए । प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको छैटौं संस्करण आयोजनाका जिम्मेवारी हेटौंडा–१५ को न्यू डाँफे युथ क्लबलाई प्रदान गरिएको छ । डाँफेले प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, टिकट तथा अन्य आन्तरिक व्यवस्थापन गर्नेछन् । प्रतियोगिताकाे जिम्मेवारी प्राप्त भएकाेले मैदानको स्तरोन्नति लगायतकाे कार्य तीब्ररुपमा अगाडि बढिरहेको डाँफे क्लबका अध्यक्ष आलोक स्याङ्तानले बताए ।
२०७७ सालमा भएकाे तेस्राे संस्करणबाट स्थानीय तह शहिद स्मृती मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताकाे नाममा प्रतियाेगिता सञ्चालन भएकाे हाे । यस अघि विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि २०७७ सालबाट जिल्लाका १० वटा स्थानीय तहबाट सहयोग प्राप्त भए पछि मकवानपुर फुटबल संघले ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरी प्रतियोगिता सञ्चालन गर्दै आएकाे हाे । जिल्लाको १० वटै स्थानीय तहहरुको आर्थिक सहयोगमा फुटबल संघले शहीद स्मृति गोल्डकप आयोजना गर्दै आएको छ । २०६/०६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ सालमा हेटौंडामा पहिलो पटक राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना फुटबल संघले गरेको थियो ।
प्रतियाेगिताकाे पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले हात पारेकाे थियो । २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ मा भएको तेस्रो संस्करण र गत जेठमा सम्पन्न चौथो संस्करणको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको थियो । प्रतियोगिताको पाँचौं संस्करणकाे उपाधी सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेकाे थियो । फाइनलमा हिमालयन शेर्पालाई पराजित गर्दै एपीएफले उपाधि जितेको हो । प्रतियोगिताको पाचौं संस्करण हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना गरिएको थियो ।

