मकवानपुर । मकवानपुरकाे बागमती गाउँपालिकामा बागमती गोल्डकप हुने भएकाे छ । छैठौं संस्करणको बागमती गोल्डकप आगामी फागुन १ गतेदेखि सुरु हुने आयोजक बागमती खेलकुद विकास समितिले जानकारी दिएको हो ।
सोमबार गाउँपालिकामा पत्रकार भेटघाटमा आयोजना गर्दै बागमती गाउँपालिकाको खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले गोल्डकपमा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोलीको सहभागिता रहने जानकारी दिए ।
बागमती–८ स्थित जनता माविको खेलमैदानमा फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताकाे विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । प्रतियोगितामा करिब ६९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । प्रतियोगितामा बागमती गाउँपालिकाबाट ३० लाख र अन्य खर्च प्रदेश खेलकुद परिषदबाट १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त हुने आयोजकले जनाएको छ ।
बागमती गोल्डकपको पहिलाे संस्करणकाे उपाधि हरिहरपुरगढी सिन्धुलीले हात पारेकाे थियाे । दोस्रो संस्करणकाे उपाधि सरस्वती युवा क्लब काठमाडौंले जितेकाे थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लब ललितपुरले हात पारेको थियो । प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पार्दा पाचौं संस्करणको उपाधीकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिका भएकाे थियो । यस संस्करणमा भने उक्त क्लबले सहभागिता नजनाउने अध्यक्ष श्रेष्ठले बताए ।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, बागमती गाउँपालिका–३, का वडा अध्यक्ष कमानसिं पाख्रिन, ४ नम्बर वडा अध्यक्ष दन्तलाल माझी, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बललगायतको सहभागिता रहेको थियो ।

