मकवानपुर । राष्ट्रिय सभा निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचार प्रसार गर्न नपाइने भएको छ । आगामी माघ ११ गते हुने निर्वाचनको आज मध्यरातिदेखि प्रचार प्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले विज्ञप्ती जारी गर्दै जनाएको छ ।
आयोगका अनुसार, मतदान सम्पन्न नभएसम्मका लागि दलका पदाधिकारी, उम्मेदवार, भ्रातृ सङ्गठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसार तथा कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठीसहितका कार्यक्रम गर्न पाइदैन ।
त्यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न तथा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोष्ट वा शेयर गर्न नपाइने आयोगले जनाएको छ । राष्ट्रियसभामा फागुनबाट रिक्त हुने १९ जना सदस्यका लागि निर्वाचन हुन लागेको हो । १ जना सदस्य भने राष्ट्रपतिबाट मनोनित हुने छन् । यसैबीच, आयोगले निर्वाचनको लागि आवश्यक सुरक्षा व्यवस्था सहित सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।


