मकवानपुर । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा हेटौंडा उपमहानगरपालिकाले प्रथम स्थान हासिल गरेकाे छ । १४औँ संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत हेटौडा उपमहानगरपालिका २० स्वर्णसहित प्रथम भएकाे हाे ।
हेटौंडाको हुप्राचौरमा माघ १२ गतेदेखि १४ गतेसम्म सचालन भएकाे प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका २० स्वर्ण, १० रजत र २० कास्य जित्दै प्रथम भएको हो । यसैगरी बकैया गाउँपालिका १२ स्वर्ण १० रजत र ९ कास्य प्राप्त गरी द्वितीय स्थानमा रहँदा थाहा नगरपालिकाले ९ स्वर्ण ९ रजत ९ कास्यसहित तृतीय स्थान हासिल गरेको छ ।
राष्ट्रपति रनिङ शिल्डमा बागमती गाउँपालिकाले ४ स्वर्ण ८ रजत ८ कास्य, भीमफेदी गाउँपालिकाले ४ स्वर्ण १ रजत ३ कास्य, मनहरी गाउँपालिकाले १ रजत ३ कास्य, इन्द्रसरोवर गाउँपालिकाले १ स्वर्ण २ रजत २ कास्य, कैलाश गाउँपालिकाले २ स्वर्ण ९ रजत ३ कास्य हात पारेकाे मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख माधव कोइरालाले जानकारी दिए । मकवानपुरको राक्सिराङ गाउँपालिकाले प्रतियाेगितामा कुनै पनि पदक प्राप्त गर्न सकेन ।

