मकवानपुर । मकवानपुरकाे हेटौंडामा संचालित पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरले १४ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने भएको छ ।
दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित रेडियाेले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी मनाउने साेमबार पत्रकार भेटघाट गरी जानकारी दिइएको छ । सहकारीको २६ औं स्थापना दिवस र रेडियोको १४ औं वार्षिकोत्सवमा अवसरमा मंगलबार शहीद दिवसको दिन शहीद विषयमा साहित्यकारसँग अन्तरक्रिया हुने छ । यसैगरी माघ १७ गते हेटौंडा क्याम्पसलाई सेनेटरी प्याड हस्तान्तरण, १८ गते ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिने छ ।
यस्तै माघ १९ र २० गते रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिता, २० गते मनहरी गाउँपालिका वडा नम्बर ५ मा निःशुल्क स्वास्थ्य शिविर, २१ गते बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक नगरस्तरीय वक्तृत्वकला हुने रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले जानकारी दिए । फुटसल प्रतियोगिताको विजेता र उपविजेता टिमले नगदसहित ट्रफी प्राप्त गर्नेछन् भने वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद १० हजार, ६ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी सप्ताहव्यापी कार्यक्रमकाे अन्तिम दिन माघ २२ गते वार्षिकोत्सवको समापन तथा पुरस्कार वितरण कार्यक्रम हुने बताइएकाे छ । उक्त दिन समाजमा विशेष योगदान पु¥याएका दुईजना व्यक्तिलाई जनही नगद १० हजार रुपैयाँ सहित सामुदायिक सम्मान प्रदान गरिने पराजुलीले बताए ।
रेडियोले वार्षिकोत्सवको अवसरमा दुईजनालाई सामुदायिक सम्मान र हरितालिका तीजको अवसरमा दुई महिलालाई जागरुक महिला सम्मान प्रदान गर्दै आएको छ । हरेक वर्ष सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउँदै आएको रेडियोले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिन लागेको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले बताए ।

