मकवानपुर । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उपाधि काठमाडौंले जितेको छ । प्रतियोगितामा काठमाडौंले ५१ स्वर्ण, ३८ रजत र ४२ कास्य गरी कुल १३१ पदक जित्दै प्रथम बनेको हो ।
प्रतियोगितामा ललितपुरले ४६ स्वर्ण, ४१ रजत र ४४ कास्य पदक जित्दै प्रतियोगितामा द्वितीय स्थान प्राप्त गरेको छ । यस्तै चितवन ३० स्वर्ण, २८ रजत र २७ कास्य गरी कुल ८५ पदकसहित तेस्रो भएको छ । प्रथम स्थान हासिल गर्दै काठमाडौंले १ लाख रुपैयाँ, द्वितीय भएको ललितपुरले ७५ हजार रुपैयाँ र तृतीय भएको चितवनले ५० हजार रुपैयाँ नगरसहित ट्रफी प्राप्त गरेका छन् ।
अन्तिम पदक तालिकाअनुसार काभ्रेपलाञ्चोक २२ स्वर्ण, १८ रजत र १८ कास्य गरी ५८ पदकसहित चौथो स्थानमा रह्यो । भक्तपुरले १७ स्वर्ण, २२ रजत र ३६ कास्य गरी ७५ पदक, मकवानपुरले ११ स्वर्ण, १० रजत र ३२ कास्य गरी ५३ पदक, सिन्धुपाल्चोकले १० स्वर्ण, ११ रजत र १० कास्य गरी ३१ पदक, नुवाकोटले ९ स्वर्ण, १३ रजत र २० कास्य गरी ४२ पदक, धादिङले ९ स्वर्ण, १० रजत र २१ कास्य गरी ४० पदक जितेका छन् । रामेछापले ८ स्वर्ण, ३ रजत र २१ कास्य, सिन्धुलीले २ स्वर्ण, ११ रजत र २२ कास्य, रसुवाले २ स्वर्ण, ७ रजत र ४ कास्य तथा दोलखाले १ स्वर्ण, ३ रजत र १४ कास्य पदक जितेका छन् ।
फुटबलमा चितवन र काठमाडौं च्याम्पियन
प्रतियोगिताको अन्तिम दिन फुटबलतर्फ पुरुष र महिलाको फाइनल खेल भएको थियो । फुटबल पुरुषतर्फको उपाधि चितवनले जितेको छ भने महिलातर्फ काठमाडौं च्याम्पियन बनेको छ । मंगलबार हेटौंडा–५ स्थित पिप्ले रंगशालामा भएको महिलातर्फको फुटबलको फाइनलमा काठमाडौंले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता काठमाडौंका खेलाडीहरूले जनही ५ हजार रुपैयाँ र उपविजेता चितवनका खेलाडीहरूले जनही ४ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै, मंगलबार नै हेटौंडाको गौरीटार रंगशालामा भएको पुरुष फुटबलतर्फको फाइनलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जित्यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा चितवनले मकवानपुरलाई ३–१ गोल अन्तरले हराएको हो ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाको सहभागिता थियो । विभिन्न १५ खेल विधामा २१७ स्वर्ण, २१४ रजत र ३११ कास्य गरी कुल ७४४ पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा १ हजार ५१५ पुरुष र १ हजार १९२ महिला गरी कुल २ हजार ७०७ खेलाडी सहभागी भएका थिए । प्रतियोगिताका खेलहरू हेटौंडा, चितवन, ललितपुर र काठमाडौंका विभिन्न खेलस्थलमा सञ्चालन गरिएको थियो । महिला भलिबल ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा र पुरुष भलिबल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको थियो ।
महिला क्रिकेट र कराते चितवनमा, पौडी ललितपुरमा तथा उसु, जुडो र टेबलटेनिस काठमाडौंमा सञ्चालन गरिएको थियो । फुटबल, पुरुष क्रिकेट, बक्सिङ, एथ्लेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, फूलकन्ट्याक कराते र आईटिएफ तेक्वान्दो हेटौँडामा सञ्चालन भएको आयोजकले जनाएको छ । प्रत्येक खेलका विजेता टोलीलाई पुरस्कार र ट्रफी तथा प्रत्येक खेलका सर्वोत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
“प्रदेश सरकारले खेलकुद नीति बनाउँदै छ”
समापन समारोहमा बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले प्रदेश सरकारले खेलकुद नीति बनाउने काम अघि बढाएको बताउनु भयो । प्रदेशलाई खेलकुदमैत्री बनाउने, नयाँ प्रतिभा पहिचान गर्ने र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने प्रदेश सरकारको लक्ष्य रहेको उहाँले बताउनु भयो । पर्याप्त पूर्वाधार नहुँदा खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गर्न समस्या भोग्नुपरेको भन्दै मन्त्री नेपालले खेलकुद पूर्वाधार विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको जानकारी दिनु भयो ।
सदस्य सचिव लामाले सीमित समय र पूर्वाधारका बीच पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउनु भयो । खेलकुदको शैली परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो ‘यो प्रतियोगिता १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोटको आधारका रूपमा समेत लिन सकिन्छ ।’ सकिने बताए ।
प्रतियोगिताको अन्तिम दिन मंगलबार फुटबलका फाइनल खेल सम्पन्न भएसँगै गौरीटार फुटबल मैदानमा समापन तथा पुरस्कार वितरण समारोह गरिएको थियो । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार १ गतेदेखि सुरु भएको प्रतियोगिताकाे उद्घाटन असार ३ गते गरिएकाे थियो ।
मकवानपुर । जिल्लास्तरीय शिक्षक भलिबलको उपाधि हेटौंडा–५ स्थित जीएस निकेतनले हात पारेकाे छ । मकवानपुरगढी–५ स्थित शारदा माध्यमिक विद्यालयलाई पाखा लगाउँदै छैठौं संस्करणकाे उपाधी जीएसले जितेको हो ।
शनिबार हेटौंडा ४ स्थित हुप्रचौरकाे काेर्टमा भएको प्रतियोगिताको फाइनलमा खेलमा जीएस निकेतन (ज्ञानदीप शिक्षा निकेतन) ले ३–२ को सेटमा उपाधि कब्जा गरेको हो । फाइनल खेलको पहिलो सेट २५–१८ ले शारदाले जितेकाे थयो भने दोस्रो र तेस्रो सेट क्रमशः २४–२६ र १९–२५ ले जीसले आफ्नो पक्षमा पारेकाे थियो ।२५–१६ ले चौथो सेट जित्दै शारदा मावि पाँचौं सेटकाे लागि दबाब दिएकाे भए पनि जीएसले १५-८ ले पराजीत गर्दै उपाधी रक्षा गरेकाे हाे ।
प्रतियोगिताका उपाधि विजेता जीएस निकेतनले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्दा उपविजेता शारदा माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफीमा चित्त बुझायो । गत वर्ष भएको पाँचौं संस्करणमा जीएसलाई हराएर शारदाले उपाधि जितेको थियो ।
शनिबार बिहान भएकाे सेमीफाइनल खेलमा राक्सिराङको सूर्योदय माविलाई पराजित गर्दै शारदा मावि फाइनल प्रवेश गरेको थियो । यसैगरी जीएसले पनि राक्सिराङकै प्रजा जागृति माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनल प्रवेश थियो । सेमिफाइनलमा पराजित दुवै विद्यालयले सान्त्वना स्वरुप ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यसैगरी प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी जीएसका अमृत मिश्र भए । उनले ३ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी उत्कृष्ट सेटर जीएसकै विनोद श्रेष्ठ र उत्कृष्ट स्पाइकर शारदा माविका आशिष घलान घोषित हुँदै जनही २–२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापन जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता भएको हो ।
मकवानपुर । उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले पृतनापति ट्रफी- २०८३ को विभिन्न प्रतियोगिताहरु सोमबारबाट सुरु भएको छ । उद्घाटन दिनको पहिलो खेल फुटबलमा श्री गोरख बहादुर गण र श्री भैरव गण बीच खेल भएको छ । आज भएको फुटबल खेलमा श्री गोरख बहादुर गणले २–१ गोलको अग्रता हासिल गर्दै श्री भैरव गण माथि विजय हासिल गरेको छ ।
विक्रम संवत २०६५ सालदेखि प्रधान सेनापति ट्रफी सञ्चालन हुँदै आएको सन्दर्भमा यस वर्ष पनि पृतनापति ट्रपी २०८३ सुरु गरिएको हो । श्री नं. ७ बाहिनी अड्डा अन्तर्गत श्री गोरख बहादुर गणमा संचालन भएको पृतनापति ट्रफी–२०८३ को मध्य पृतना हेडक्वाटरका पृतनापति उपरथी विष्णु कुमार खड्काले खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभयो । उहाँले रेफ्रीलाई बल हस्तान्तरण गरि फुटबल खेलको आभारम्भ गर्नु भएको थियो ।
यसै गरि भोली मंगलबार दिउँसो ४ बजे श्री शेर गण र श्री नयाँ सबुज गण बीच खेल हुने गणपति प्रमुख सेनानी रविन्द्र कुमार श्रेष्ठले बताउनु भयो । यस वर्ष प्रतियोगिताको चापलाइ मध्यनजगर गरेर धादीङ, नुवाकोट, चितवन जिल्लामा समेत खेत खेलाइरहेको श्रष्ठले जानकारी दिनुभयो । खेलको उद्घाटनको दिन आज मार्चपाससँगै शेर गण, नयाँ सुबज गण भैरव गणलगायतले झाँकी प्रदर्शन गरेका थिए ।
यस वर्षको पृतनापति ट्रफी २०८३ वैशाख १४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने तय भएको छ। प्रतियोगितामा सामूहिक र व्यक्तिगत दुबै विधाका खेलहरू समावेश गरिएका छन । सामूहिक खेलहरू अन्तरगत भलिबल, फुटबल र बास्केटबल प्रतियोगिता हुनेछ । यसैगरी व्यक्तिगत खेलहरूतर्फ एथलेटिक्स, जुडो, तेक्वान्दो, बक्सिङ र स्विमिङ खेल हुनेछ ।
प्रतियोगितालाई विभिन्न युनिटहरूमा विकेन्द्रीकृत गरी सञ्चालन गरिनेछ । जस अन्तरगत मध्य पृतना हेडक्वार्टरमा स्विमिङ र बक्सिङ खेल हुने छ । श्री नम्बर ६ बाहिनी अड्डा (नुवाकोट, श्री शरगण) मा बास्केटबल, श्री भैरवनाथ गण (धादिङ)मा भलिबल, श्री नम्बर ७ बाहिनी अड्डा (मकवानपुर, श्री गोरखबहादुर गण) मा फुटबल र एथलेटिक्स र श्री नयाँ सबुज गण (चितवन) मा तेक्वान्दो र जुडो प्रतियोगिता हुनेछ ।
यसरी विभिन्न स्थानमा खेलहरू सञ्चालन गर्दा सम्बन्धित क्षेत्रमा खेल पूर्वाधार तथा भौतिक संरचनाहरूको निर्माण हुनुका साथै प्रदेश, जिल्ला र स्थानीय तहका खेलकुद निकायहरूसँगको समन्वय र सहकार्य बढ्ने विश्वास लिइएको छ। यसले नागरिक र सैनिक बीचको सम्बन्धलाई थप सुदृढ बनाउने र आर्थिक दृष्टिकोणले पनि मितव्ययी हुने अपेक्षा गरिएको महासेनानी सुशील कुमार थापाले बताउनु भयो ।
प्रतियोगिताको समापन पश्चात प्रतिभाशाली खेलाडीहरूलाई थप प्रशिक्षित गरी आगामी प्रधान सेनापति प्रतियोगिता झनै उत्कृष्ट हुने उपेक्षा रहेको थापाले बताउनु भयो ।
देशलाई खेलकुद क्षेत्रमा सक्षम खेलाडी उत्पादन गर्ने मुख्य लक्ष्यका साथ मध्य पृतना हेडक्वार्टर अन्तर्गतका विभिन्न बाहिनी र गणहरूबाट छनोट गरिएका उत्कृष्ट खेलाडीहरूलाई यस प्रतियोगितामा सहभागी गराइनेछ ।
बैसाख २८ सम्म संचालन हुने प्रतियोगिताका विजयी खेलाडीलाई प्रधान सेनापति ट्रफी प्रतियोगिताका लागि क्लोज क्याम्प संचालन गरिने जनाएको छ । पृतनापति ट्रफी प्रतियोगितामा ६ र ७ नम्वर बाहिनीको साथै शेर गण, भैरवबहादुर गण र नयाँ सुवज गणका खेलाडी सहभागी छन् ।
प्रतियोगितामा भलिबल, फुटबल, बास्केट वल र एथ्लेटिक्सलगायत ८ खेलमा प्रतिस्पर्धा हुने छ । विभिन्न विधाको प्रतियोगिता विभिन्न गण र बाहिनीमा संचालन गरिने छ । समापनको दिन सुपारेटार व्यारेकको खेल मैदानमा फुटबलको फाइनल खेल हुने जनाएको छ । ४७१ वटा मेडल रहेको उक्त प्रतियोगितामा १ सय २५ महिला खेलाडीसहित ५ सय ५० खेलाडी सहभागी हुने छन् । मध्य पृतना हेटौंडाले प्रधान सेनापति ट्रफी प्रतियोगितामा पाँच पटक प्रथम हुन सफल भएको छ ।
मकवापुर । अखिल नेपाल फुटबल संघ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जनाकारी दिएको हो ।
एन्फालाई राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले बुधबार ३ महिना सम्मका लागि निलम्बन गरेको थियो । एन्फा राखेपको निलम्बनमा परेपछि मतदान कार्यक्रम स्थगित भएकाे हो ।
राखेपको निर्देशन विपरीत एन्फाले साधारण सभा गर्ने बताएपछि विवाद सिर्जना भएको बताइएकाे छ ।
राष्ट्रिय महिला भलिबलको उपाधिमा न्यू डायमण्डको कब्जा
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका -१०, स्थित टिसीएन चौरमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि काठमाडौंको न्यू डायमण्ड क्लबले कब्जा गरेको छ ।
जिल्ला खेलकुद विकास समिती मकवानपुरले आयोजना गरेको बृहत् खेलकुद कृषि तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार दिउँसो भएको फाइनलमा बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानलाई ३-० को सोझो सेटले हराउँदै काठमाडौ चन्द्रगिरी नगरपालिकाको न्यू डायमण्ड क्लबले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
फाइनलमा केशवलाल स्मृति प्रतिष्ठानलाई २५-१३,२५-१५ र २५-२३ को सोझो सेटमा पराजित गरेको हो । उपाधि विजेतासंगै न्यू डायमण्डले ३ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता केशवलालले २ लाख रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाए छ । यस्तै, सेमीफाइनलमा पराजित भएका लुम्बिनी प्रदेश पाल्पा जिल्लाको स्टेप भलिबल क्लब र मधेश प्रदेशको जनशक्ति युवा क्लबले ५० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै न्यु डायमण्ड क्लबकी सुनिता क्षेत्रीले १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेकी छिन् । उत्कृष्ट स्पाइकर न्यू डायमण्डकी जेनिशा विश्वकर्मा, उत्कृष्ट डिफेन्डर एञ्जीला प्रधान, उत्कृष्ट सेटर न्यू डायमण्डकी भावना तामाङ, उत्कृष्ट सर्भर केशवलाल प्रतिष्ठानकी रेबिका लामा, उत्कृष्ट ब्लकर केशवलालकी सलिना गुरुङ र उत्कृष्ट प्रशिक्षक न्यू डायमण्डकी कुमार राई घोषित भएका छन् । उनीहरुले जनही ५/५ हजार रुपैयाँको नगद पुरस्कार र मेडल प्राप्त गरेकी छिन् ।
आइतबारको दोस्रो सेमीफाइनलमा पाल्पाको स्टेप भलिबल क्लबलाई २५-१६,२५-७ र २५-२० को सोझो सेटले पराजित गर्दै केशवलाल प्रतिष्ठान फाइनलमा प्रवेश गरेको थियो । यस्तै शनिबारको पहिलो सेमीफाइनलमा न्यू डायमण्डले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई २५-१०,२५-१४ र २५-१८ को सोझो सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
न्यू डायमण्ड क्लब यस अघिको महोत्सवमा भएको प्रतियोगिताको उपविजेता टोली हो । समूह ए बाट लिगको २ खेल खेलेको न्यू डाइमण्ड र समूह बी बाट लिगको २ खेल खेलेको केशवलालले विजेता बन्दै फाइनल यात्रा तय गरेका थिए ।
बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मन्त्री मदुसुदन पौडेलको प्रमुख आतिथ्यमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको सभाध्यक्षमा पुरस्कार वितरण भएको थियो । मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा राष्ट्रिय टिमको सहभागिता रहेको थियो ।
यसैगरि खेलकुद महोत्सवमा अन्तिम प्रतियोगिता अन्तर्गत राष्ट्रिय खुल्ला तेक्वान्दो चैत ११ बुधबारदेखि शुक्रबारसम्म सचालन हुने आयोजकले जानकारी दिएको छ।