मकवानपुर । जिल्लास्तरीय शिक्षक भलिबलको उपाधि हेटौंडा–५ स्थित जीएस निकेतनले हात पारेकाे छ । मकवानपुरगढी–५ स्थित शारदा माध्यमिक विद्यालयलाई पाखा लगाउँदै छैठौं संस्करणकाे उपाधी जीएसले जितेको हो ।
शनिबार हेटौंडा ४ स्थित हुप्रचौरकाे काेर्टमा भएको प्रतियोगिताको फाइनलमा खेलमा जीएस निकेतन (ज्ञानदीप शिक्षा निकेतन) ले ३–२ को सेटमा उपाधि कब्जा गरेको हो । फाइनल खेलको पहिलो सेट २५–१८ ले शारदाले जितेकाे थयो भने दोस्रो र तेस्रो सेट क्रमशः २४–२६ र १९–२५ ले जीसले आफ्नो पक्षमा पारेकाे थियो ।२५–१६ ले चौथो सेट जित्दै शारदा मावि पाँचौं सेटकाे लागि दबाब दिएकाे भए पनि जीएसले १५-८ ले पराजीत गर्दै उपाधी रक्षा गरेकाे हाे ।
प्रतियोगिताका उपाधि विजेता जीएस निकेतनले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गर्दा उपविजेता शारदा माविले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र ट्रफीमा चित्त बुझायो । गत वर्ष भएको पाँचौं संस्करणमा जीएसलाई हराएर शारदाले उपाधि जितेको थियो ।
शनिबार बिहान भएकाे सेमीफाइनल खेलमा राक्सिराङको सूर्योदय माविलाई पराजित गर्दै शारदा मावि फाइनल प्रवेश गरेको थियो । यसैगरी जीएसले पनि राक्सिराङकै प्रजा जागृति माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइनल प्रवेश थियो । सेमिफाइनलमा पराजित दुवै विद्यालयले सान्त्वना स्वरुप ५–५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यसैगरी प्रतियोगितामा व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी जीएसका अमृत मिश्र भए । उनले ३ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी उत्कृष्ट सेटर जीएसकै विनोद श्रेष्ठ र उत्कृष्ट स्पाइकर शारदा माविका आशिष घलान घोषित हुँदै जनही २–२ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापन जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता भएको हो ।

