यो वर्ष पनि हामी अघिल्लो वर्ष जस्तै मे दिवस, २०२६ मनाउँदैछौं । हामी श्रमिकहरुले गरेका योगदानहरुको कदर, अधिकारहरुको पक्षमा पैरवी तथा बलिदानहरुको स्मरण गर्ने दिनको रुपमा मे दिवस मनाउने गर्दछौं । यो अवसरमा नेपालको लोकतन्त्रिक तथा ट्रेड युनियन आन्दोलनमा सहादत प्राप्त गर्नु हुने सहीदहरु प्रति श्रध्दाञ्जली अर्पण गर्दछौं,। सामाजिक न्यायको लागि संघर्षरत स्वदेश तथा विदेशमा कृयाशिल सम्पूर्ण श्रमिकहरुलाई शुभकामना व्यक्त गर्दछौं ।
यो वर्षको मे दिवसमा जिफन्टले “कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धिः प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि !“ नाराको साथ आज मुलुक भरी र प्रवासमा समेत कार्यक्रमहरु आयोजना गरेकोछ ।
आजको यस महत्वपूर्ण अवसरमा, हामीले विगतका दिनहरूमा गरेका संघर्ष, उपलब्धि र कमीकमजोरीहरूको इमानदार समिक्षा गर्न आवश्यक छ। श्रमिक वर्गको हक–अधिकार सुनिश्चित गर्न हामीले गरेका आन्दोलन, पहल र कार्यक्रमहरूले केही सकारात्मक परिवर्तन ल्याए पनि अझै धेरै चुनौतीहरू हाम्रो अगाडि उभिएका छन्।
यी अनुभवहरूबाट सिक्दै, अब हामीले अझ व्यवस्थित, सशक्त र परिणाममुखी कार्यक्रमहरू अगाडि बढाउनु पर्ने आवश्यकता छ। आगामी दिनहरूमा श्रमिकको सम्मानजनक जीवन, सामाजिक सुरक्षा, न्यायपूर्ण पारिश्रमिक र सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने उद्देश्यका साथ नयाँ रणनीति, सशक्त अभियान र एकीकृत आन्दोलनलाई अघि बढाउने हाम्रो प्रतिबद्धतालाई आज यहाँबाट पुनः दृढता सहित संकल्प गरौं।”
विगतका दिनहरूमा गरेका संघर्ष, उपलब्धिः
- संगठनको आवधिक बैठक, भेला अधिवेशनहरु नियमित संचालन भइ रहेका छन ।
- संगठनको कार्यालय व्यबस्थापन नियमित छ ।
- यो अवधीमा हामीले दुइवटा उद्योग (गोर्खा लाहारी) र एन्टारटिक बिस्कुट) मा भएको आधिकारिक युनियनको निर्वाचन सानदार जित्यौं ।
- युनिलिभरमा भएको आधिकारिक युनियनको निर्वाचनमा निर्बिरोध निर्वाचित भयौं ।
- यसै अवधीमा लक्ष्मी टेक्नो प्लास्टमा आधिकारिकता सहित युनियन दर्ता भयो ।
- सबै प्रतिष्ठानहरुमा नियमित सामुहिक सौदावाजीहरु सम्पन्न भएका छन् ।
- अनौपचारिक क्षेत्रमा क्युपेक – नेपालको पहलमा यस बर्ष ३० लाख भन्दा माथि पारिश्रमिक दिलाएर श्रमिकहरुको उद्धार गरिएकोछ ।
- फास्ट ट्रयाकमा दुर्घटनामा परि निधन भएका सिन्धुपाल्चोक जिल्ला पञ्चपोखरी थाङपाल – ५ निवासी श्रमिक अर्जुन थिंगको परिवारलाई ३७ लाख क्षतिपुर्ति दिलाउन सफल ।
- भिमफेदी गाउँपालिकाद्वारा यस बर्ष ५० जना स्वास्थ्य स्वयंसेविकाहरु समेत १०० जना अनौपचारिक श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा मा सुचिकृत ।
कार्यक्षेत्रमा रहेका समस्याहरु :
१) स्थायी मजदुरहरुलाई बिभिन्न बहानामा दुख दिने, नसिहत दिने ,जगेडामा राख्ने, निस्कासन गर्ने जस्ता काम गर्दै श्रमिक आपुर्ति कर्ताहरुबाट करारका मजदुर राखेर मुख्य काम गराउने समस्या बिकराल हुदै छ ।
२) बिदेशी बिशेष गरेर भारतिय मजदुरहरुलाई बिना श्रम संझौता काम मा लगाएर नेपाली श्रम शक्तिलाई कामबाट बञ्चीत गराइएको छ ।
३) अहिले पनि कतिपय प्रतिष्ठानहरु सामाजिक सुरक्षा कोषमा सुचिकरण भएकोे छैन ।
४) सामाजिक सुरक्षा कोषमा सुचिकरण भएर योगदान सुरु गरेका प्रतिष्ठानहरुले योगदान रकम कोषमा जम्मा नगरेका कारण पाउनुपर्ने सुबिधामा समस्या परेकोछ ।
४) कानुनमा नभएको रोजगारिको परिभाषा लगाउने, बिना संझौता काममा लगाउने, न्युनतम पारिश्रमिक भन्दा थोरै पारिश्रमिक उपलव्ध गराउने, व्यबस्थापन समूहको लाइक र डिस लाइकमा बिना कारण श्रमिकलाई दुख दिएर आतंक सृजना गर्ने, युनियन माथी गिद्धे नजर लगाएर युनियन कर्मीहरु माथी अनाहक दुख दिने जस्ता कारण आज श्रम क्षेत्र दिनानुदिन अन्योल ग्रस्त बन्दै गइरहेको छ ।
५) आपुर्ती श्रमिकलाई नियमित काममा लगाउने र नियमित श्रमिकलाई भिआरएसको प्रलोभनमा अवकाश गराउने अथवा अनिवार्य अवकाशका कारण निबृत्त हुदै जाने कारण कारखानामा युनियन आन्दोलन कमजोर बन्दै गइरहेकोछ ।
६) ईन्टर्नशिपका श्रमिकहरुको बाक्लो एवम आक्रामक उपस्थितीका कारण श्रम आन्दोलनले अकल्पनिय क्षती व्यहोनु पर्ने परिस्थिती सिर्जना हुदै गरेकोछ ।
५) श्रम कानुन कार्यान्वयनको जिम्मा लिएर बसेको सरकारी निकाय श्रम कार्यालय व्यबस्थापकको हुण्डीमा रमाइदिनाले आज न्याय मर्ने अवस्थामा पुगेको छ ।
६) हेटौंडा सिमेन्ट, नोबेल प्रिन्ट, नोबेल प्याकेजिङका श्रमिकहरुको लामो समय देखिको पारिश्रमिक रोकिएको छ ।
७) हेटौंडा सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारीहरुले लामो समय देखि उपदान लगायतका सुबिधाहरु प्राप्त गर्न सकेका छैनन ।
८) अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई भिमफेदी गाउँपालिका बाहेकका कुनै पनि स्थानिय निकायले योगदानमा आधारित सामाजिक सुरक्षा मा सुचिकृत गरेका छैनन ।
यहि वर्ष भाद्र २३ गते नवयुवाहरुद्वारा आव्हान गरिएको आन्दोलन र त्यसपछि देशव्यापी रुपमा घटेका हिंशा, तोडफोड आगजनीका घटनाहरुलाई आधार बनाएर संसद र सरकार विघटन गरिएको थियो । त्यसपछि गठित अन्तरिम सरकारद्वारा फाल्गुन २१ गते गरिएको निर्वाचनमा रा स्व पा ले वहुमत प्राप्त गरी सरकार गठन गरेको छ । यी घटनाहरु र त्यसले श्रम क्षेत्रमा परेका असरहरुको गम्भीरतापूर्वक विश्लेषण गर्दै जिफन्टले प्रतिकृया जनाएको छ । यो नव निर्वाचित लोकपृयतावादी तथा दक्षिणपन्थी अवसरवादी सरकारले संविधान र कानुन प्रदत्त ट्रेड युनियन अधिकार र संरचनाहरुलाई संकुचित गर्ने प्रयत्न गरिरहेकोछ । हामी सबैलाई थाहा छ, नेपालले आइएलओको पक्ष राष्ट्रको हैसियतले अभिसन्धी (९८) अनुमोदन गरेकोछ, जस अन्तर्गत श्रमिकलाई संगठनमा आवध्द भए वापत भेदभावबाट संरक्षण र सामूहिक सौदावाजीको अधिकार सुनिश्चित गरेकोछ । यी अधिकारहरुलाई नेपालको संविधानको धारा ३४ले मौलिक हकको रुपमा सूचिबध्द गर्दै आवश्यक कानुनहरुद्वारा व्यवस्थित गरेकोछ ।
यो वर्षको मे दिवस मार्फत नेपाली श्रमिक आन्दोलनले आर्जन गरेका उपलव्धीहरुको जगेर्ना गर्न र बदलिएको राजनीतिक तथा आर्थिक सामाजिक परिवेशमा आफ्ना लक्ष्यहरु हासिल गर्न अझ सशक्त भएर अगाडी बढनु आवश्यक छ । नेपाली श्रम संसारको आजको सन्दर्भमा गतिशिल एवम् सशक्त आन्दोलनको विकास गर्नुपर्ने आवश्यकता अझ बढ्दो छ । यस परिवेशलाई मध्यनजर गरी यो वर्ष हामी निम्न बमोजिम अघि बढ्नेछौं ।
नेपालको श्रमिक आन्दोलनले आठ दशक लामो संघर्षमार्फत मजदुरका आधारभूत अधिकार, संगठन स्वतन्त्रता, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र सम्मानजनक कामका सवालमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ । तर विश्व अर्थतन्त्र, प्रविधि, उत्पादन प्रणाली र श्रम बजार तीव्र रूपमा बदलिएको वर्तमान युगमा ट्रेड युनियन आन्दोलनले पनि आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता छ ।
अबको प्रश्न केवल तलब वृद्धि मात्र होइन; अबको प्रश्न दक्षता, डिजिटल रूपान्तरण, उत्पादनशीलता, सामाजिक सुरक्षा, नयाँ रोजगारी, राष्ट्रिय उद्योग संरक्षण र समावेशी समृद्धि हो ।
आम श्रमिक, कर्मचारी, शिक्षक, बैंककर्मी, स्वास्थ्यकर्मी, युवा फ्रि लान्सर, प्रवासी श्रमिकका परिवार लगायत सबैलाई समेट्ने आधुनिक श्रम एजेन्डा युनियन आन्दोलनको एजेन्डा बनाउनुपर्दछ ।
यस सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बाट यो वर्ष निम्न बमोजिम गरिनेछ
१. ट्रेड युनियन आन्दोलनलाई गति दिनको लागि जिफन्टले जनताको बहुदलीय जनवाद, उत्पादक शक्तिको विकास, प्रविधिमैत्री श्रमिक आन्दोलन, राष्ट्रिय समृद्धि र श्रमिक हित सहितको एकतालाई वैचारिक आधारको रुपमा लिएकोछ ।
२. जिफन्टले नेपाली ट्रेड युनियन आन्दोलनले वर्तमान अवस्थामा सामना गर्नु पर्ने चुनौतीहरू मध्ये स्वचालन र कृत्रिम बुद्धिमत्ता (एआई) श्रमको अनौपचारिकीकरण, बसाइँसराइ, बढ्दो महंगी र ज्याला स्थिरता, ट्रेड युनियन सान्दर्भिकताको अध्ययन र विश्लेषण गर्नु जरुरी ठानेको छ ।
३. यसको आधारमा जिफन्टले निम्न प्रमुख नीतिगत प्रस्तावहरु अघि सारेकोछ ।
क. सम्मानजनक पारिश्रमिकः पारिश्रमिक निर्धारण जीवनयापन लागतसँग जोडिएको सूत्रका आधारमा गर्ने । पारिश्रमिक पुनरावलोकन संयन्त्र नियमित गर्ने ।
ख. सर्वकालिक सामाजिक सुरक्षाः सबै प्रकृतिका काममा संलग्न श्रमिक–अस्थायी/करार/आउटसेर्स तथा गिग श्रमिकलाई समेत समेटी सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने ।
ग. पारिश्रमिक सहित इन्टर्नशिप र तालिम (अपरेन्टेशीप) युवा शोषणको अन्त्य र सिक्दै कमाउने मोडेल लागू गर्ने ।
घ. सीप क्रान्ति : कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, फिनटेक र हरित रोजगारीसम्बन्धी तालिम आयोजना गर्ने ।
ङ. श्रमिक उद्योग सहकार्यः सामाजिक सम्वाद मार्फत् समस्या समाधान गर्ने । संवाद– सहकार्य – र सहअस्तित्वको फर्मुलामा उत्पादकत्व वृध्दि गर्ने । श्रम विवाद समाधानमा हड्ताललाई अन्तिम विकल्पका रूपमा प्रयोग गर्ने ।
च. महिला श्रमिक सशक्तीकरणः समान कामको समान पारिश्रमिकः शून्य दुरुत्साहन/उत्पीडन नीति र शिशु स्याहार सहयोगको व्यवस्था गर्ने ।
छ. आप्रवासी श्रमिक संरक्षणः विदेश गएका श्रमिकका परिवारको सुरक्षा र पुनः एकीकरणका लागि रोजगारी अवसर सिर्जनामा जोड दिने ।
ज. अनौपचारिक क्षेत्रको संगठनः यातायात, निर्माण, घरेलु/घर आधारित श्रम र सडक व्यापार, राईडर सहितको गिग क्षेत्रलाई संगठित गर्ने जोड दिने ।
झ. स्वास्थ्य र मानसिक सुरक्षाः कार्यस्थल परामर्श सेवा र दुर्घटना सुरक्षा व्यवस्था गर्ने ।
ञ. रिमोट वर्क (दूरस्थ काम) अधिकारः डिजिटल कार्यसमय नियमावली र गोपनीयता मापदण्ड निर्धारणका लागि पहल गर्ने ।
ट. सहकारी उद्यम मोडेलः श्रमिक सहकारी उद्योग प्रवद्र्धन गर्ने ।
ठ. राष्ट्रिय औद्योगिकीकरणः उद्योग बिना श्रमिक भविष्य सुरक्षित हुँदैन । त्यसैले औद्योगिकीकरण अभियानमा जोड दिने ।
४. माथि भनिए जस्तै यथावस्थाको सङ्गठनले यो चुनौती सामना गर्ने ल्याकत राख्दैन । त्यसको लागि निम्न संगठनात्मक सुधार गरिनेछ ।
क. सदस्यता डिजिटलाइजेशनः ई–सदस्यता कार्ड र तथ्यांक प्रणाली तयार गर्ने ।
ख. युवा नेतृत्वः ४० वर्षमुनि नेतृत्व विकासको ठोस योजना बनाउने ।
ग. महिला प्रतिनिधित्वः प्रत्येक तहमा अनिवार्य महिला सहभागिता बढाउने ।
घ. रिसर्च विंगः जिफन्ट–टुपी (ट्रेड युनियन पोलेसी इन्ष्टिच्युट)लाई सुदृढ गर्ने । यस मार्फत श्रम बजार विश्लेषण लगायतका काम गर्ने ।
ङ. कानुनी सहायता शाखाः श्रमिकका लागि आवश्यक कानुनी सहायता उपलब्ध गराउने ।
५. यसका अतिरिक्त विशेष क्षेत्रका लागि क्षेत्रगत विशेष रणनीति लागू गर्नुपर्ने हुन्छ, त्यसका लागि निम्न बमोजिम गरिनेछ ।
बैंकिङ क्षेत्रः पुनःसीप विकास कार्यक्रम र कृत्रिम बुद्धिमत्ता संक्रमण सहमतीको कार्यक्रम ।
शिक्षा क्षेत्रः निजी क्षेत्रका शिक्षक–मर्यादा अभियान सञ्चालन ।
स्वास्थ्य क्षेत्रः सुरक्षित कार्य समयको व्यवस्था गर्ने ।
सूचना प्रविधि क्षेत्रः स्टार्टअप श्रम मापदण्ड तयार गर्ने ।
निर्माण क्षेत्रः ’पहिले सुरक्षा’ कार्यक्रम सञ्चालन गर्ने ।
पर्यटन क्षेत्रः मौसमी श्रमिक संरक्षण कार्यक्रम सञ्चालन गर्ने ।
६. यसको लागि सरकारसँग निम्न माग र मुद्दाहरु सम्वोधनको लागि गतिविधि गरिनेछ ।
– न्यूनतम तलबको पूर्ण कार्यान्वयन
– सामाजिक सुरक्षा कोषमा शतप्रतिशत श्रमिकको पहुँच स्थापित
– गिग श्रमिकसम्बन्धी कानुन निर्माण
– श्रम अदालत सुदृढीकरण
– सीप विकास कोष स्थापना
– युवा रोजगारी सुनिश्चितता कार्यक्रम संचालन
– शिक्षक पारिश्रमिक नियमावली तयार
– उद्योगमा स्वास्थ्य तथा सुरक्षा मापदण्ड प्रवद्र्धन र स्वास्थ्यकर्मीको सुरक्षा आचारसंहिता निर्माण
– उत्पादकत्व र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्न स्वदेशी उद्योगलाई प्रोत्साहन प्याकेज व्यवस्थाको लागि कार्यक्रम
– वैदेशिक रोजगारीमा जानेका लागि सहजता (सोही दिन श्रम स्वीकृति व्यवस्था र पूर्व–प्रस्थान तालिमका डिजिटल सामग्री उपलब्ध गराउने) माग गर्दै फर्किएका आप्रवासी श्रमिकका लागि रोजगारी प्याकेज तयार गर्ने कार्यक्रम आइएलओ अभिसन्धीहरु सि १८९, सि १५५, सि १९० लगायत अविलम्व अनुमोदनको लागि कार्यक्रम माग गरिनेछ।
७. हाम्रो सन्देश टकराव होइन, साझेदारी होः संवाद– सहकार्य– र सहअस्तित्व
हो । यसको लागि उद्योगी व्यवसायीसँग सामाजिक सम्झौता उत्पादकत्व सहमतीमा हस्ताक्षर गरौं, यस अनुरुप
– उद्योग चलोस्
– रोजगारी बढोस्
– श्रमिक सुरक्षित होऊन्
– नाफाको बितरण न्यायपूर्ण होस्
– वातावरण सुरक्षित र संरक्षित बनोस्
– राष्ट्र समृद्ध बनोस्
८. नयाँ पुस्तालाई आह्वान
ट्रेड युनियन केवल नाराबाजी मात्रै होइन; यो पेशागत उन्नति, कानुनी संरक्षण, सीप विकास, कार्यस्थलमा सम्मान र सामाजिक नेतृत्वको विद्यालय हो। आजका युवा–विद्यार्थी भोलीका श्रमिक हुन्; युनियनका आधार हुन् । सिकौं– सिकाऔं–संगठित होऔं !
निष्कर्षः
– पुरानो युगमा ट्रेड युनियनले शोषण विरुद्ध लड्यो। अब ट्रेड युनियनले रोजगारी सिर्जना, दक्षता निर्माण, सामाजिक सुरक्षा र राष्ट्रिय समृद्धिको नेतृत्व गर्नुपर्छ। यही हाम्रो ट्रेड युनियन आन्दोलनको नयाँ ऐतिहासिक जिम्मेवारी हो।
“कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि; प्रविधिसँग प्रगति, श्रमिकसँग समृद्धि !”

