मकवानपुर । हेटौंडा रन–२०८१ को उपाधि सञ्जिव मिजारले जितेका छन् । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको दोस्रो संस्करणको हेटौंडा रन उपाधि हेटौंडा–१४ का धावक मिजारले हात पारेका हुन् ।
मंगलबार भएको रनको निर्धारित ५ किलोमिटर दुरी २० मिनेट २८ सेकेण्डमा पूरा गर्दै उनले उपाधि जितेका हुन् । यसैगरी हेटौंडा–१५ का निश्चल तितुङले द्वितीय स्थान हासिल गर्न २० मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पूरा गरे । यसैगरी २० मिनेट ५१ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै हेटौंडा–१८ का अभिषेक रोक्क तृतीय भए ।
हेटौंडा–१८ का मनिष गोपली चौथो र हेटौंडा–१४ का अमृत सुनार पाँचौ हुँदा हेटौंडा–१८ का रुवि बुलन र राक्सिराङ गाउँपालिकाका सुवास योञ्जन प्रोत्सान पुरस्कार प्राप्त गरे । रन विजेताले नगद २५ हजार, उपविजेताले १५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद प्राप्त गरे । य प्रतियोगितामा चौथो हुनेले ५ हजार, पाँचौंले पुरस्कार ३ हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । दौडका विजेता, उपविजेता तथा अन्य खेलाडीहरुलाई नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्र घिमिरे, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलगायतले पुरस्कार वितरण गरेका थिए ।
दौडमा २५ जना सहभागी थिए । सहभागीहरुले हेटौंडा–१०, बुद्धचोकबाट आफ्नो दौड यात्रा सुरु गरेर भैरवरोड, लक्ष्मी आधारभूत विद्यालय, सूर्यचोक, नवोदय, सत्यमचोक, थाहाचोक, शितलमहल चोक, ओमभवनहुँदै पुनः बुद्धचोकमा आएर दौड पूरा गरेका थिए ।
मकवानपुर । दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको भोली शुक्रबारबाट सुरु हुने भएको छ । चैनपुर जेसीज मनहरीको आयोजना तथा मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिताको हुने भएको हो ।
मनहरी–४, मसिनेस्थित गोलघर खेल मैदानमा हुने खुला फुटबलको खेल तालिका सार्वजनिक भएको हो । शुक्रबारको उद्घाटन खेल मनहरी गाउँपालिकाको ४ नम्बर वडा र एफसी नमोबुद्धको टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले एक लाख एक हजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ तथा अन्य विधागत उत्कृष्टले जनही नगद ३ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मनहरी–४, एफसी नमोबुद्ध, सक्षम युवा क्लब, एफसी ढिँडो, कमाने फुटबल एकेडेमी, जेसीआई मकवानपुरगढी, पदमपोखरी युनाइटेड एफसी, आरआर एफसी, हाँडीखोला युथ क्लब, जनसिद्ध युवा क्लब, एफसी परेली क्लब, टिएनटी मनहरी, हेटौंडाको नारायणी कलेज, मनहरी २ नम्बर वडा, मनहरी ५ नम्बर वडा र ऋषेश्वर युवा क्लबको टिमसहित १६ टिमको सहभागिता रहनेछ ।
चैनपुर जेसीज मनहरीले गत वर्षबाट जेसीज कप खुला फुटबल प्रतियोगिताको सुरुवात गरेको हो । मंसिर ३ गते फाइनल हुने प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।
मकवानपुर । साफ वुमन्स च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरेको छ ।
आइतबार भएको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा खेल १-१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
खेलको दोस्रो हाफमा भारतले ७० औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् ।
खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो । लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो ।
खेलको ५० औं मिनेटमा रेखा पौडेलले दोहोरो पहेंलो कार्ड पाउँदै रातो कार्ड पाएपछि दर्शकले अवरोध गरेका कारण खेल १० मिनेटभन्दा बढी अवरुद्ध भएको थियो ।
फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ । आइतबारको पहिले सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
मकवानपुर । मकवानपुरकाे हेटाैंडामा प्रथम अटाेमाेवाइल्स मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएकाे छ । अटाेमाेवाइल्स एशाेसियसन मकवानपुरकाे आयाेजनामा शुभ दिपावली, नेपाल संम्वत, छठपर्व तथा ल्हाेसारकाे अवसरमा शुभकामना आदान प्रदान सहित मैत्रीपूर्ण फुटबल प्रतियाेगिता भएकाे हाे ।
शनिवार पिप्ले क्याम्पा रंगशालामा आयाेजना भएकाे मैत्रीपूर्ण फुटबल प्रतियाेगितामा टिम ए ले टिम बी लाई ४–१ गोल अन्तरले हराउँदै विजयी भयो । टिम ए काे तर्फबाट दुर्वाश खड्काले विजयी सुरुवाती गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा टिम बी काे तर्फबाट प्रदिप दुलालले जवाफी गोल गरी खेललाई बराबरीमा पुर्याए ।
पुनः टिम ए बाट साेनी शर्मा, रघुनाथ बर्ताैला र प्रकाश रिजालले क्रमशः १/१ गाेल गर्दै टिमलाई वियजी सुनिश्चित गराए । प्रतियाेगिताकाे बेष्ट प्लेयर अवार्ड रघुनाथ बर्ताैला घाेषित भए ।
अटाे माेवाइल्सका अध्यक्ष ऋषि ढकालकाे सभाध्यक्षता तथा अखिल नेपाल फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा केन्द्रीय सदस्य तथा पुर्व अध्यक्ष सागर सापकाेटा, पुर्व अध्यक्ष सुरेश श्रेष्ठ, कार्यक्रम संयाेजक तथा क्षेत्रिय सभापति (दक्षिण क्षेत्र दिपेश खड्गी, सल्लाहाकार सुरेशकुमार श्रेष्ठ, नारायण प्रसाद करेला, वरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी लगायतकाे उपस्थिति रहेकाे ।
त्यसैगरी अटाेमाेवाइल्सकाे शुभकामना आदान प्रदान कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुर अध्यक्ष कृष्ण गुप्ताले कतिपय संस्थाहरु झाेलामा सिमित भएकाे बताए । ‘आफ्ना व्यवसायहरु नीति र विधिमा चल्नुपर्छ भनेर नविकरण प्रक्रिया अबलम्बन गरेका छाै’ उनले भने, उद्योग वाणिज्य संघले करचुक्ताकाे विषयमा मात्र बाेलेकाे आरोप समेत लाग्ने गरेकाे छ ।’
जुन संस्था गतिशील हुन्छ उक्त संस्थाका व्यवसायी पनि उर्जाशिल रहन्छ, देशमा हाल आर्थिक मन्दिकाे चपेटामा छ जसबाट काेहि व्यवसायी पनि अछुताे नरहेकाे उनले बताए । ‘हरेक व्यवसायीहरुकाे व्यवसाय सफल भए मात्र उद्योग वाणिज्य संघकाे अस्तित्व रहन्छ‘ उनले भने । व्यवसाय र व्यापार बचाउन आफू पनि बाच्नु पर्छ र अरु पनि बाच्नु पर्छ भन्ने साेचले व्यापार गर्नुपर्ने उनले बताए । मउवासंघ संधै व्यवासायीकाे हितमा रहेकाे उनले जानकारी दिए ।
कार्यक्रममा अटाे माेवाइल्सका केन्द्रीय सदस्य तथा पूर्व अध्यक्ष सागर सापकाेटाले व्यवसायीहरुले सामान्य नीति नियम समेत लागू नगरेकाेले आफ्नाे व्यवासायिक नीति र विधिलाई अबलम्बन गर्न जरुरी रहेकाे बताए । उनले व्यवसायीहरुले आफ्ना कमी कमजाेरीलाई सच्याउँदै व्यवासायिक एकरुपतामा अघि बढ्न अनुराेध गरे ।
त्यस्तै कार्यक्रममा विजयराज सिग्देलले मानिसले समय अनुसार अपडेट हुन आवश्यक रहेकाे भन्दै, एकले अर्कामा बाँचेकाे अनुभूति दिलाउनु ठुलाे कुरा भएकाे जानकारी दिए । ‘प्रकृतिले सबैलाई दिन जानेकाे छ हामीले पनि अरुलाई के दियाै भन्नेतर्फ पनि ध्यान दिन सके उत्तम हुनेछ’ उनले भने ‘स्वयं भित्रकाे दिपलाई हरदम जगाउन र जीवनमा पाएकाे कुराप्रति मुस्कुराउन जान्याै भने जीवन सहज लाग्छ ।
उद्योग बाणिज्य संघ मकवानपुर अध्यक्ष कृष्ण गुप्ताकाे प्रमुख आतिथ्यता तथा एशाेसियसनका काेषाध्यक्ष तथा कार्यक्रम संयाेजक श्याम प्रसाद कंडेल सभाध्यक्षता भएकाे कार्यक्रममा मकवानपुर उवासंघ उपाध्यक्ष प्रमाेद सिं रानाभाट, एशाेसियसनका अध्यक्ष ऋषि ढकाल, केन्द्रीय सदस्य राजु रानाभाट, एशाेसियसनका बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा फुटबलकाे पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ । हेटौडा ४ मा रहेकाे कर्रा युवा क्लबको आयोजना प्रतियाेगिता हुने भएकाे हाे ।
९ कार्तिकमा तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदानसहित प्रथम संस्करणको खुल्ला पेनाल्टी सुटआउट प्रतियोगिता हुने क्लबले जनाएकाे छ । खेलाडीहरुबीच भातृत्व कायम गराउन, खेलको महत्वबारे बुझाउन प्रतियोगिताको आयोजना गर्न लागिएकाे हाे ।
हेटौंडा–४ स्थित हुप्रचौर मैदानमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले ३० केजीको खसीसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २० केजीको खसीसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने क्लबका संरक्षक निरज सिंह ठकुरीले जानकारी दिए ।
प्रतियोगितकाे लागि हालसम्म ८ वटा टिम दर्ता भइसकेका छन् । हेटौंडा फुटबल एकेडेमी ए, हेटौंडा फुटबल एकेडेमी बी, कमाने फुटबल एकेडेमी, एमआरसी हेटौंडा, आयोजक क्लब ए, आयोजक बी, रेड हाईट पदमपोखरी, भूटनदेवी क्लब, भुटनदेवी युवा क्लब, इन्टरनेट एफसी, प्रतिभा युवा क्लब गढी, हाँडीखोला युथ क्लबले दर्ता गरेकाे प्रतियाेगिता संयोजक रसिष मगरले बताए ।
प्रतियोगितामा सहभागिताकाे लागि ८ कार्तिकसम्म टिम दर्ता गराइसक्नुपर्ने बताइएकाे छ । उक्त मितिसम्म अन्य टिम समेत दर्ता हुन सक्ने आयोजकले जनाएकाे छ । दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ ताेकिएकाे छ ।