मकवानपुर । सदभाव संस्थाका सदस्यहरुले नीति निर्माता समक्ष ज्ञापन पत्र बुझाएका छन् । बागमती प्रदेशकाे राजधानी हेटौंडामा शुक्रबार मनोसामाजिक अपाङ्गता रहेका सदभाव संस्थाका सदस्यहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
मानसिक तथा मनोसामाजिक अपाङ्गता बिषयलाई प्राथमिकतामा राखी आर्थिक वर्ष २०८२/२०८३ मा बार्षिक कार्यक्रम तथा बजेट विनियोजनकाे लागि कार्यक्रम सहित ज्ञापन पत्र बुझाइएकाे हाे । प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा,सामाजिक विकास मन्त्रालयका सचिव विनु बज्राचार्य कुँवर र हेटौडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामालाई संस्थाका सदस्यहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा सदभाव संस्थासँग सहकार्य तथा सहजीकरण गर्ने कोशिश संस्था लगायत एड्भोकेशी फोरमका सदस्यहरुको ऐक्वबद्धता सहित उपस्थिति रहेको कोशिश मकवानपुर प्रमुख सुनिरा लामाले बताइन् । ‘हाम्रो लागि हाम्रो आवाज’ भन्ने नारालाई आत्मसात गर्दै मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार सुनिश्चितता र सशक्तिकरण सहित आर्थिक सवलीकरण गर्न सरोकारवालासँग सहकार्य गरी काम गर्ने संस्थाले उद्देश्य लिएको छ।
मकवानपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले हेटौंडामा शुक्रबार “आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारमा सरोकारवालाको भूमिका“ विषयक अन्तरक्रिया कार्यक्रम गरेकाे छ ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले नागरिक अधिकारका लागि सरकारसँगै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए ।सरकारले नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार स्थापित गर्न सक्दो प्रयास गरिरहेको र यसलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सहयोग भएमा थप प्रभावकारी हुने उनले बताए । ‘नागरिकलाई अधिकारको प्रत्याभूति गराउनु राज्यको दायित्व हाे ’ उनले भने ।
राष्ट्रिय मानव अधिकार आयोग हेटौंडाका मानव अधिकार अधिकृत कृष्णप्रसाद मिश्रले प्रस्तुत गरेकाे कार्यपत्रमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको वर्तमान अवस्था र कार्यान्वयनका चुनौती समेटिएकाे थियो । नागरिकको मानव अधिकार स्थापित गर्न सबै पक्षको भूमिका अत्यावश्यक हुने सरोकारवालाहरुर बताएका छन् । सरोकारवालाहरुले मानव अधिकारको संरक्षण र प्रवर्धनका लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार स्थापित हुनु पर्ने तथा सरकारी निकाय, नागरिक समाज, सुरक्षा निकाय, सञ्चार माध्यम र स्थानीय समुदायबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताएका थिए ।
इन्सेक बागमती प्रदेश कार्यालयका प्रतिनिधि गणेश भण्डारीको अध्यक्षता एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
मकवानपुर । नेपालबाट ईपीएस (EPS) अन्तर्गत दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकहरूका परिवारलाई हेटौंडामा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम आयोजना गरिने भएकाे छ।
शुक्रबार हेटौंडामा पत्रकार भेटघाट गरी वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रमकाे आयोजना गरिने जानकारी दिइएकाे हाे । १६ जेठ २०८२ मा आयोजना हुने कार्यक्रममा सहभागी श्रमिकका परिवार सदस्यहरूलाई वित्तीय व्यवस्थापन, मानसिक स्वास्थ्य, र सामाजिक सशक्तिकरणका विषयमा जानकारी तथा परामर्श दिइने भएकाे हाे।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, काेइका (Korea International Cooperation Agency), अङ्कुर नेपाल, र के-हामी (K-HaMi) परियोजनाको संयुक्त सहकार्यमा उक्त कार्यक्रम हुने अङ्कुर नेपाल हेटौंडा सम्पर्क समितिका अध्यक्ष किशोर डंगोलले जानकारी दिए । “हामी पहिलोपटक हेटौंडामा यस्ता प्रकृतिको कार्यक्रम आयोजना गर्दैछौं, जुन ईपीएस श्रमिकका परिवारको हितमा केन्द्रित छ’ डंगोलले भने कार्यक्रमलाई सफल बनाउन सहयोग, समर्थन र प्रचार–प्रसार अत्यन्तै महत्वपूर्ण हुनेछ।”
समितिका सचिव माधव सापकोटाले कार्यक्रम कोरियामा कार्यरत श्रमिकका आमाबुवा, जीवनसाथी र परिवारका नजिकका सदस्यहरूका लागि लक्षित गरि आयोजना गर्न लागिएकाे बताए । कार्यक्रमा सहभागिताकाे लागि शहरका साथै ग्रामिण क्षेत्रमा जानकारी पुर्याउने प्रयास रहेकाे उनले बताए ।
मकवानपुर । मकवानपुरगढी पर्यटन विकास समन्वय समिति अध्यक्षमा केदार प्रसाद न्यौपाने चयन भएका छन् । समितिको शुक्रवार हेटौंडामा भएको १५ औँ वार्षीक साधारणसभा तथा दोस्रो अधिवेशनबाट न्यौपानेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएकाे हाे ।
समितिको उपाध्यक्षमा शंकरलाल श्रेष्ठ, सचिवमा ओकिलराज बानियाँ, कोषाध्यक्षमा शंकर बीसी र सह–सचिवमा अनिल पराजुली चयन भएका छन् । यसैगरी समिति सदस्यहरूमा एमपी शर्मा, उमा श्रेष्ठ, सङ्ग्राम श्रेष्ठ, सुमित श्रेष्ठ, विनोद पुडासैनी र कृष्ण प्रसाद पोखरेल चयन भएका छन् । समितिको सल्लाहकार एवम् संरक्षकमा बद्रीप्रसाद खतिवडा, घनश्याम शंकर शर्मा, भागीरथी शर्मा खरेल, रामप्रसाद घिमिरे र विष्णु प्रसाद सिग्देल चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले अधिशनकाे उद्घाटन गर्दै पर्यटन क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । अधिवेशनमा मकवानपुरगढी पर्यटन विकास समन्वय समितिकाे विभिन्न पदमा रही संस्था तथा पर्यटनकाे विकासमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान पत्रसहित सम्मानित गरिएकाे थियाे ।
मकवानपुरको मकवानपुरगढी सहित ढुङ्गे गढी, बकैयामा रहेको अम्बास गढी, चिसापानी गढी, पालुङ गढी, टिस्टुङ गढी, चित्लाङ गढी र कोटथुम्की गढी प्रचार प्रसारको अभावमा अझैँ ओझेलमा परेको अध्यक्ष न्यौपानेले बताए । उनले पालिका र नेपाली सेनासँग सहकार्य गरेर गढीको महत्वलाई अझैँ उजागर गर्ने प्रतिबद्धता जनाए ।
मकवानपुर । मकवानपुरकाे पुरानो विद्यालय भुटनदेवी माध्यमिक विद्यालयले शिक्षकलाई सम्मान गरेकाे छ । हेटौंडा–४ स्थित विद्यालयले नव आगन्तुक विद्यार्थीका साथै उनीहरुका अभिभावकलाई स्वागत समेत गरेको छ ।
बिहीबार विद्यालयले नवआगन्तुक विद्यार्थी स्वागत तथा शिक्षक सम्मान कार्यक्रममा गरेकाे हाे । शैक्षिकसत्र २०८० को एसइई परीक्षामा ४ जीपीए ल्याउन सहयोग गर्ने विषयगत शिक्षक र विषयगतरुपमा ९० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण भएका विषयका शिक्षक समेत गरी १० जनालाई सम्मान गरिएकाे हाे । शिक्षकहरुलाई जनही ५ हजार १ सय रुपैयाँ नगदसहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक माधव दाहालले जानकारी दिए ।
दाहालका अनुसार पालिकास्तरीय परीक्षा २०८१ मा ४ जीपीए ल्याउने ४ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हाे । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक भरत पोख्रेलले विद्यालयको वस्तुस्थितिबारे जानकारी गराएका थिए । कार्यक्रममा विद्यार्थी र अभिभावकको आचारसंहिता समेत जानकारी गराइएकाे थियाे ।
भुटनदेवी माध्यमिक विद्यालयमा चालु शैक्षिकसत्र २०८२ मा ४ सय जना नयाँ विद्यार्थी भर्ना भएका उनले बताए । कार्यक्रममा विद्यार्थीले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा हेटौंडा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देललगायतकाकाे आतिथ्यता रहेको थियो ।