मकवानपुर । सदभाव संस्थाका सदस्यहरुले नीति निर्माता समक्ष ज्ञापन पत्र बुझाएका छन् । बागमती प्रदेशकाे राजधानी हेटौंडामा शुक्रबार मनोसामाजिक अपाङ्गता रहेका सदभाव संस्थाका सदस्यहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
मानसिक तथा मनोसामाजिक अपाङ्गता बिषयलाई प्राथमिकतामा राखी आर्थिक वर्ष २०८२/२०८३ मा बार्षिक कार्यक्रम तथा बजेट विनियोजनकाे लागि कार्यक्रम सहित ज्ञापन पत्र बुझाइएकाे हाे । प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा,सामाजिक विकास मन्त्रालयका सचिव विनु बज्राचार्य कुँवर र हेटौडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामालाई संस्थाका सदस्यहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा सदभाव संस्थासँग सहकार्य तथा सहजीकरण गर्ने कोशिश संस्था लगायत एड्भोकेशी फोरमका सदस्यहरुको ऐक्वबद्धता सहित उपस्थिति रहेको कोशिश मकवानपुर प्रमुख सुनिरा लामाले बताइन् । ‘हाम्रो लागि हाम्रो आवाज’ भन्ने नारालाई आत्मसात गर्दै मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरुको हक अधिकार सुनिश्चितता र सशक्तिकरण सहित आर्थिक सवलीकरण गर्न सरोकारवालासँग सहकार्य गरी काम गर्ने संस्थाले उद्देश्य लिएको छ।

