
झरना पराजुली
हल्का मनलाई गह्रुङ्गो बनाउन दसैँ आउँछ
बिर्सिककेको पीडा सम्झाउन दसैँ आउँछ
अरुबेला त सधैँभरि खुसी थिएँ तर यहाँ
जुन सालपनि मलाई रुवाउन दसैँ आउँछ ।
लमजुङ

पुष्पा नेपाल सुवेदी
हरेकसाल जस्तै दसैँ आउँछ जान्छ बिरानो मुलुकमा
गाउँघर सम्झेर मुटु कुटुकुटु खान्छ बिरानो मुलुकमा
टीका,जमरा र आशिर्वाद बुबाआमासँगै गाउँमा रह्यो
बेच्दाबेच्दै जवानी कतिबेला कालले लान्छ बिरानो मुलुकमा ।
ईलाम

राम श्रेष्ठ ‘प्यासी’
दशैं आयो भन्छन् है भान्छामा राशन छैन
दशमीमा टीका लाउन नि राम्रो आशन छैन
यो मेरो दोष हो वा मेरो भाग्यको दोष भनुँ
खासमा त गरिबको भलाई हुने शासन छैन ।
भानु-३, दोरदोर तनहूँ

सुन्दरी घिमिरे खतिवडा
दसैँ आयो शरद ऋतुसँगै,दुर्गा भवानीको पूजा गरौँ सबैले
फूलपातीको बडाईँ गर्दै फूल, अक्षता, जमरा भरौँ सबैले
लिङ्गे पिङ,रोटे पिङमा बालबच्चा रमाउन् खेलेर हाँसेर
सुख शान्ति छाअोस् सबै घर घरमा भन्ने भावना छरौँ सबैले।
खाँदबारी, संखुवासभा

भवानी तिमल्सिना न्याैपाने
पखालेर मनको मैलो नासी आवोस वडादशैँ
रिस, राग ,द्वेष फाँडी मासी आवोस वडादशैँ
सँगालेर मुटु भरी आफन्तको माया सद्भाव
सबै सँग चोखो माया गाँसी आवोस वडादशैँ ।
हेटाैडा मकवानपुर
- रञ्जुश्री पराजुली
दसैं प्रत्येक बर्ष आउने भए पनि प्रत्येक पल्ट उत्साह,उमङ्ग, जोश ,जाँगर बटुलेर आउँछ। नयाँलुगा लाउने, मीठो खाने, मान्यजनहरुसङ्ग दुर्गामाताको प्रसाद स्वरुप रातो दहीचामलको टीका निधारमा र पहेँलो जौको जमरा सिरमा लगाउँदा सबैको मन प्रश्न्न हुन्छ । टोल छिमेकमा मालसिरीको धुन गुन्जिन थाल्छ। बघैचामा पहेँला सयपत्री फुल फुल्ने तरखरमा देखिन्छन् ।
उमाका तीन छोरीहरु लगातार जन्मिए । जेठी एघार, माहिली आठ र कान्छी दुई । बुहारीले यसरी लघातार छोरी जन्माएको सासुलाई र उन्कै बुढालाई पनि मन परेको थिएन । छोरा नजन्मनुको दोष कस्को थियो त्यो उनीहरुले जाँचबुझ गरेका थिएनन् । सासुआमाले जान्ने मान्छे देखाउँदा अझ दुईटा छोरी जन्मे पछि मात्र छोराको योग परेको छ भनेकोले वंश अगाडि नबढ्ने भयो भनेर उनीहरु चिन्तित थिए ।
हजुर आमा “तिमीहरु लगात्रा तीनजना किन जन्मिएका ? छोरीको जात काम छैन । बिहे गरेर पराई घर जाने जात । तिमीहरुको बिहेमा पनि दाइजो सहित खर्च धेरै लाग्छ । छोराको बिहेमा त दुलही पट्टीबाट दाइजो आदि प्रशस्त आउँछ” भनेर नातिनीहरुलाई सुनाई राख्दथीन् । सानी छोरी त त्यो बुझथिन तर जेठी र माइलीलाई भने उनी देखि रिस उठ्दथ्यो । सकेसम्म उनको अगाडि नै पर्दैन थिए ।
त्यस्तै पल्लाघर्की हजुराअमा पनि थिइन् । उनी “कति छोरी जन्मिएका ।अब भाइ बोलाओ” भन्दै थिइन् । उनीहरु तिनलाई देख्दा टाढैबाट बाटो छलेर हिडथे । दसैंको जमरा राख्ने दिनको अघिल्लो दिन बिहानै उनी हाम्री हजुराआमासङ्ग” भोलिदेखि नौ दिन सम्म कन्यापुजा गर्नुपर्छ । महालक्षी, महाकाली, महासरस्वती जस्ता तपाईका तीन नातिनीलाई सधै बिहान आठ बजे मेरो घरमा पठाई दिनुस् है । म तिनको पुजा गर्छु ।” जेठी नातिनी रियाले त्यो सबै सुनी रहेकी थिई। उस्लाई झन्क्क रिस उठ्यो अनि ” छोरी जन्माउँन हुन्न भन्दै हामी तीनजना दिदीबहिनीलाई छिछी दुर्दुर गर्ने तपाईलाई अहिले हाम्रो कसरी आवश्यकता पर्यो ? छोरी जातिको अपमान गर्ने तपाईको घरमा अवदेखि कुनै छोरीले दुर्गा बनेर पनि पाइला हाल्ने छैनन् ” भनी ।
टेक्सस अमेरिका
मकवानपुर । जेसीआई हेटौंडा लेडी जेसीजले बडादशैंको अवसरमा मकवानपुरका विभिन्न बालगृहमा आश्रित बालबालिकालाई मासु र चिउरा सहयोग गरेको छ । जेसीआई हेटौंडा लेडीले आइतबार भीमफेदी गाउँपालिकास्थित भीमफेदी बालगृह किताब राख्ने ३ थान दराजसहित ३० केजी कुखुराको मासु र २०केजी चिउरा सहयोग गरेको हो ।
यस्तै, सोमबार हेटौंडा–११ स्थित मामाघर नेपालमा २५ केजी मासु र २० केजी चिउरा तथा हेटौंडा–५ स्थित हाम्रो घर बालगृहमा ३५ केजी मासु र २० केजी चिउरा सहयोग गरेको छ । कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, प्रमुख प्रशासकीय अधिकृत जीवन कुँवर, नेपाल बाल संगठन मकवानपुरका सभापति अशोक सारु मगर, जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठको उपस्थिति रहेको थियो ।
जेसीआई हेटौंडा लेडीका पदाधिकारी तथा सदस्य एवम् गैरजेसीजमार्फत सहयोग संकलन गरी कुल ६२ हजार ७ सय रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिईन् । भीमफेदी बालगृहमा ३१ जना, मामाघर नेपालमा २२ जना र हाम्रो घरमा २७ जना बालबालिका आश्रित छन् ।
‘मेरो दशैं खर्च बालबालिकालाई’ भन्ने अवधारणासहित बालगृहमा आश्रित बालबालिकालाई सहयोग गरिएको जेसीआई हेटौंडा लेडीकी अध्यक्ष प्रतिमा श्रेष्ठले बताइन ।
मकवानपुर । मकवानपुरमा दशैंकाे लागि पिङ बनाउँदै गर्दा १ जनाकाे मृत्यु भएकाे छ । दशैँको पिङ बनाउने क्रममा लडेर मकवानपुरको भीमफेदी गाउँपालिका-६ माण्डुका प्रेम लामाकाे मृत्यु भएको हाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
सोमबार भीमफेदी ६ माण्डुमा दशैँको लागि लिङ्गे पिङ बनाउँदै गर्दा ५३ बर्षिय लामा लडेका थिए । पिङको लठ्ठा बाध्ने क्रममा पिङबाट खसेर घाइते भएका लामालाई तत्काल उद्धार गरी अस्पताल लगिएकोमा उपचारका क्रममा सोमबार राती हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाइएको छ।
मकवानपुर । नेपालीहरुकाे महान चाड दशैंको सातौ दिन फुलपाती पर्व आज घरघरमा फूलपाती भित्रयाइदै छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्वमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइने गरिन्छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले चिनिने फूलपाती नौवटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ।
केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुने धर्मशास्त्रमा बर्णन गरिएकाे छ । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने धर्मशास्त्रविद् रामचन्द्र आचार्य फुर्सदी बताउँछन् ।
आज हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । यस वर्षको फूलपाती आज अपराह्न साढे चार बजे भित्र्याइने कार्यक्रम रहेको छ । यसैगरी देशभरका शक्तिपिठहरुमा समेत फुलपाती भित्र्याउने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।