मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ३ दिवसीय योजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नयाँ कार्यसमिति चयन भएपछि संघको लक्ष्य तथा उद्देश्य प्राप्तिको लागि समान धारणा तथा कार्यदिशा बनाउन संघको समाथ्र्य तथा चुनौतिहरु पहिचान गर्न र आपसी सदभाव बढाउन योजना कार्यशाला गोष्ठी अयोजना गर्ने गरिएको छ ।
पौष १५ गतेदेखि १७ गतेसम्म नवलपारसीको देवचुली नगरपालिका वडा नं. १७ मा योजना कार्यशाला गोष्ठी आयोजना गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा गोष्ठीको शुभारम्भ गरिएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, संघका पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल, भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
योजना कार्यशाला गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका कार्यक्रम अधिकृत अरुण श्रेष्ठले संघको क्षमता मूल्याङ्कन सम्बन्धमा सहजिकरण गरेका थिए । त्यसैगरी प्रमुख सहजकर्ताकोरुपमा आशुतोष तिवारीले कार्ययोजना तयारीमा सहजिकरण गरेका थिए । योजना कार्यशाला गोष्ठीबाट ३ वर्षीय कार्यकालभित्र सम्पादन गरिने विभिन्न संस्थागत क्रियाकलापहरुको कार्यतालिकासहितको सूची तयार गरिएको छ । यसले संघको दिर्घकालिन हित तथा योजनाहरुमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
संघको टोलीलाई उवासंघ चितवनद्वारा स्वागत
उवासंघ चितवनले संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा रहेको कार्यसमिति टिमलाई चितवनमा एक कार्यक्रम गरी स्वागत गरेको छ । योजना कार्यशाला गोष्ठी सम्पन्न गरी नवलपरासीबाट हेटौंडा फर्कने क्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले मउवासंघको नवनिर्वाचित टिमलाई बधाई ज्ञापनसहित स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन श्रेष्ठ, तृतिय उपाध्यक्ष भोजराज कौडेलको पनि सहभागिता रहेको थियो । अध्यक्ष श्रेष्ठले आउँदाे पौष २५ गतेदेखि माघ ४ गतेसम्म चितवनमा मेला आयोजना गरिएकोले अवलोकनको लागि आमन्त्रणसमेत गरेका थिए ।
सरस्वती पाैडेल
आकाशका जुन,तारा अनि त्यो बादल हेरेर
फेदमै निदायो बच्चो रुखको काफल हेरेर।
म चुँडे´को चप्पल लाएरै घर सम्म आइपुगेँ
शहर भरी अरुले लगाएको चप्पल हेरेर।
यो जिन्दगीले नै भाडाकुटी खेलाइरा´को बेला
छोरछोरी रोइदिन्छ्न खेलौनाको पसल हेरेर।
छोरो परदेशियो ,फर्केन अझै घरमा खोइ,
आमा रुदैछिन ढोकामा राखेको जल हेरेर।
अदालतले बिना सबुत पारपाचुके थमायो,
छोरालाई बाउ दिलाउ यसको सक्कल हेरेर।
मायाले हो सम्बन्ध र जिम्मेवारी स्थायी हुने
घर नजलाउनु अरु कसैको ताज महल हेरेर ।
भरतपुर चितवन
मकवानपुर । बुढ्यौली साहित्य समाज मकवानपुरले वार्ध्दक्य वाङ्मय सम्मानबाट नवराज शर्मा तिमल्सिनालाई सम्मान गरेकाे छ । शनिबार हेटौंडा–४ स्थित साहित्य संगमको सभाकक्षमा भएको कार्यक्रममा तिमल्सिनालाई २५ हजार नगदसहित सम्मान गरेको छ । बुढ्यौली साहित्यका अभियन्ता कृष्ण मुरारी गौतम (चट्याङ मास्टर) को प्रायोजनमा वार्ध्दक्य वाङ्मय सम्मानको स्थापना गरिएको हो ।
यस्तै बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष आरसी रिजालले स्वर्गीय पीता तोयानाथ रिजालको नाममा स्थापना गरेकाे स्मृति सम्मानबाट नवलपरासीका दुर्गा क्षेत्रीलाई २० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । दुवै सम्मान पहिलो पटक प्रदान गरिएको हो ।
प्रथम वाद्र्धक वाङ्मय सम्मान प्राप्त गर्नुहुने तिमल्सिना नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष समेत हुन भने उनका साहित्यिक कृति समेत प्रकाशित छन् । यस्तै तोयानाथ रिजाल स्मृति सम्मानबाट सम्मानित हुनुहुने दुर्गा क्षेत्री शारीरिक रुपमा अशक्त हुनुका बाबजुद साहित्यमा क्रियाशील हुनुहुन्छ । कार्यक्रममा दुर्गा क्षेत्री आफैं उपस्थित हुन नसके पछी उनका छोरा अंकित क्षेत्रीले पुरस्कार ग्रहण गरेका थिए ।

बुढ्यौली साहित्य समाजको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बुढ्यौली साहित्यका लागि हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले १ लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै सीता शर्मा रिजालले पनि १ लाख रुपैयाँ दिने घोषणा गरेकी छिन् । यस्तै माधव रश्मि भण्डारीले ५ हजार रुपैयाँ, विन्दुगोपाल गोर्खालीले ५ हजार रुपैयाँ, सिस्नुपानी नेपाल मकवानपुरकी कोषाध्यक्ष शुभद्रा हुमागाईले ५ हजार रुपैयाँ सहयोग गरेकाे बुढ्यौली साहित्य समाज मकवानपुरका सचिव राजकुमार लामिछानेले जानकारी दिए ।
कार्यक्रममा बुढ्यौली साहित्य समाज चितवनका अध्यक्ष बाबुराम पाण्डेसहित बुढ्यौली साहित्य अभियानमा आवद्ध चितवन, भक्तपुर, सर्लाही, काठमाडौंमा, रौतहटका साहित्यकारको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य लगायतकाे आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अक्षय अक्षर त्रैमासिकको बुढ्यौली साहित्यक अंक विमोचन गरिएको थियो ।

शाेभा शाह थापा
समय
बनेर नदी
अनवरत बगी रहेछ
म किनार बनेर पर्खी रहेछु
के थाहा बगि जानेलाई
पर्खाईको पीडा
अनि
त्यो किनारको कथा व्यथा
साक्षी छ त केवल त्यो बगर जिन्दगी
जो सधैं पीडामा छ
दुखको प्रचण्ड घामले पोलेको बेला
त्यो नदीको शीतल जलले पनि
शीतलता दिन सक्दैन
भएर पास तर दुर
सधैं तड्पिनुको विवशतामा
त्यो बगरको पीडा
म महशुस गरी रहेको छु
वेदनाको अश्रु झरीले रूझेको बेला
कसले छेक्छ र
त्यो आँशुको झरी
रूझ्न विवश त्यो बगर जिन्दगी
पिडामाथि पीडा
बाध्यताको छालले दिने
त्यो धक्का
जुन प्रहार म पनि त छेक्न सक्दिन
मलाई छोएर
एकातिर
कलकलको मिठो धुन छोड्दै
सुस्तरी बगीरहन्छ
समय
बनेर नदी
अविरल बगी रहन्छ
अर्कोतिर
मलाई हेर्दै
उजाड उदास सुती रहन्छ
त्यो बगर जिन्दगी
समय
नदी बनेर बगी रहन्छ
मलाई छोएर
बगर जिन्दगी
उदास सुती रहन्छ
मलाई छोएर
म बिचको किनार ।
हेटाैडा मकवानपुर
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मकवानपुरकाे हेटौंडा– ९ मा वडा पार्टी कार्यालय उदघाटन गरिएकाे छ ।
नेकपा एकीकृत समाजवादी वडा अध्यक्ष सुर्य बहादुर स्याङ्तान को अध्यक्षता एवं पार्टी पोलिटब्युरो सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज ललित बस्नेतको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको हो ।
कार्यक्रममा पार्टी केन्द्रिय सदस्य एवम बागमती प्रदेश प्रमुख सचेतक मुनु सिग्देल,पार्टी केन्द्रिय सदस्य एवम जिल्ला सह इन्चार्ज गोमा तिमल्सिना जिल्ला अध्यक्ष श्रीधर पोख्रेल अनेरास्ववियु केन्द्रिय उपमहासचिव किशोर टण्डन, सुलभ अधिकारी लगायतको उपस्थिति रहेको थियो।