मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको ३ दिवसीय योजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नयाँ कार्यसमिति चयन भएपछि संघको लक्ष्य तथा उद्देश्य प्राप्तिको लागि समान धारणा तथा कार्यदिशा बनाउन संघको समाथ्र्य तथा चुनौतिहरु पहिचान गर्न र आपसी सदभाव बढाउन योजना कार्यशाला गोष्ठी अयोजना गर्ने गरिएको छ ।
पौष १५ गतेदेखि १७ गतेसम्म नवलपारसीको देवचुली नगरपालिका वडा नं. १७ मा योजना कार्यशाला गोष्ठी आयोजना गरिएको हो । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा गोष्ठीको शुभारम्भ गरिएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी, संघका पूर्व अध्यक्ष उत्तमशर्मा ढकाल, भुवनलाल श्रेष्ठ, सल्लाहकार महेन्द्र राउत, संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।
योजना कार्यशाला गोष्ठीमा नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रका कार्यक्रम अधिकृत अरुण श्रेष्ठले संघको क्षमता मूल्याङ्कन सम्बन्धमा सहजिकरण गरेका थिए । त्यसैगरी प्रमुख सहजकर्ताकोरुपमा आशुतोष तिवारीले कार्ययोजना तयारीमा सहजिकरण गरेका थिए । योजना कार्यशाला गोष्ठीबाट ३ वर्षीय कार्यकालभित्र सम्पादन गरिने विभिन्न संस्थागत क्रियाकलापहरुको कार्यतालिकासहितको सूची तयार गरिएको छ । यसले संघको दिर्घकालिन हित तथा योजनाहरुमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
संघको टोलीलाई उवासंघ चितवनद्वारा स्वागत
उवासंघ चितवनले संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा रहेको कार्यसमिति टिमलाई चितवनमा एक कार्यक्रम गरी स्वागत गरेको छ । योजना कार्यशाला गोष्ठी सम्पन्न गरी नवलपरासीबाट हेटौंडा फर्कने क्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले मउवासंघको नवनिर्वाचित टिमलाई बधाई ज्ञापनसहित स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमन श्रेष्ठ, तृतिय उपाध्यक्ष भोजराज कौडेलको पनि सहभागिता रहेको थियो । अध्यक्ष श्रेष्ठले आउँदाे पौष २५ गतेदेखि माघ ४ गतेसम्म चितवनमा मेला आयोजना गरिएकोले अवलोकनको लागि आमन्त्रणसमेत गरेका थिए ।

