आहा प्रकृतिः गत राती देखिकाे अविरल बर्षा सँगै मकवानपुरमा हिमपात भएकाे छ । याे समेत गरी मकवानपुरमा तेस्राे पटक हिउँ परेकाे छ । पर्यटकीय क्षेत्र थाहा नगरपालिकाको सिमभञ्याङ दामन, भीमफेदीको अघोर र ईन्द्रसरोबरको देउराली तथा मकवानपुरगढी गाउँपालिका ८ बुढीचौरमा पनि हिमपात भएको छ । हेटौंडाको बुद्धचोक लगाएत विभिन्न स्थानबाट उक्त क्षेत्रको डाँडाकाँडा सेताम्मे भएको देख्न सकिन्छ । हिउँ परेसँगै हिउँमा रमाउनेहरु विहानै देखि दामन सिमभन्ज्याङ क्षेत्रमा पुगेका छन् ।




मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले विहीबार पदभार ग्रहण गरेका छन् ।
पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत मंसिर अन्मित साता सम्पन्न बागमती प्रदेश अधिवेशनबाट मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ प्रदेश सभापति निर्वाचित भएपछि जिल्ला उपसभापति रहेका लामिछानेले कार्यबाहकको जिम्मेवारी पाएका थिए ।उनले विहीबार औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै कार्यबाहक सभापति लामिछानेले नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थानीय निर्वाचन पछि गर्न सहमतिको लागि आग्रह गरेका छन् । स्थानीय निर्वाचनको मिति नजिकै आईरहेको सन्दर्भमा सिंगो पार्टी अब निर्वाचनमा केन्द्रीत हुनुपर्ने भन्दै स्थानीय तहको निर्वाचन पछि मात्र जिल्ला अधिवेशन गर्नको लागि उनले आग्रह गरेका हुन् । सहमति भएको अवस्थामा आफु अब हुने अधिवेशनमा सभापतिको लागि तयार रहेको समेत उनले बताए । उनले भने ‘साथिहरु सबैले सहयोग गर्ने हो भने म जिल्ला सभापति हाक्न तयार छु ।’
केहि दिन अघि मात्रै प्रदेश सभापति बानियाँले जिल्लाका पदाधिकारीहरुलाई पनि जो जुन पदमा छ, सोही पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए । जिल्लाको निर्वाचन नभएसम्मको लागि उपसभापतिलाई भने कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
मकवानपुर । जिल्ला अदालत मकवानपुरले एउटा हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले २०७६ साल माघ ४ गते तेस्रो लिङ्गीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको ३ जनालाई उक्त फैसला सुनाएकाे हाे ।
मकवानपुर प्रहरीले २०७६ साल माघ ४ गते विहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी नाम परिवर्तन ‘कमलडाँडा एफ’ को हत्यामा संलग्न भएको आराेपमा ६ जनालाई पक्राउ गरेकाे थियाे । हत्यामा संलग्न मध्ये १ जना नावालकलाई १६ वर्ष कैद, अर्का १ जनालाई ४ वर्ष कैद र १ जना महिलालाई १ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवनाको फैसला सुनाएको छ।
मकवानपुर जिल्ला अदालतका निमित्त श्रेष्तेदार अमृत घिमिरेले हत्या गरिएकी तेस्रो लिङ्गीकाे परिवारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको जानकारी दिए । मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले हत्यामा संलग्न रहेका शुसील थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तब्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँकाको आरोपमा ९ वर्ष कैद र ९० हजार जरिवना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपुर्ति भराउने फैसला भएको घिमिरेले बताए ।
यसै गरी हत्यामा संलग्न रहेका नाबालक नाम परिवर्तन ‘सिमलटार जेड’ लाई १६ वर्ष ८ महिना कैद, डाकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएकाे छ । अर्को आरोपित सिमोन परियारलाई बलात्कार र हत्या तर्फ ४ वर्ष कैद, डाका तर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रो लिङ्गीको मोवाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकी फैसला भएकाे घिमिरेले जानकारी दिए । पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहत कोषबाट क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।
मकवानपुर । नेपाल व्युटिसियन संघ मकवानपुरले हेटौंडा अस्पताललाई काेराेना भाइरस (कोभिड-19) काे परिक्षण किट सहयोग गरेको छ ।
विहीबार अस्पताल परिसरमा संघका अध्यक्ष रिना गौतमले एन्टिजेन विधिबाट परिक्षण गरिने १ सय ५० थान बढी किट अस्पताल व्यवस्थापक सुरेन्द्र देव बडुलाई हस्तान्तरण गरेकी थिइन् । किट ग्रहण गर्दै बडुले काेराेना परीक्षणकाे लागि किट अभाव हुन नदिन किट सहयोग गरेकाेमा सघलाई धन्यवाद दिदैं आभार व्यक्त गरेका थिए ।
हस्तान्तरण कार्यक्रममा संघ बागमती प्रदेश संयोजक तारा कार्की, जिल्ला सचिव सावित्री कार्की, कोषाध्यक्ष पुजा पोखरेल, सदस्यहरु शारदा कार्की, शुष्मा रानामगर, अनुपा जीयम, पुर्णिमा लोप्चन लगायतको उपस्थिती रहेको थियो ।
स्वास्थ्य क्षेत्र मात्र नभइ व्युटिसियन संघले विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । संघले सहयोग रहेको किट लायन्स क्लब अफ भुटनदेवी सेन्टिनियलको थर्ड भीपी धुव्रबहादुर पाण्डेले उपलब्ध गराएका हुन् ।
मकवानपुर । अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिरोध स्वरुप हेटाैडामा प्रदर्शन गरिएकाे छ । नेकपा माओवादी केन्द्र सम्बद्ध योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल र नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल मकवानपुरले विहीबार हेटाैडमा एमसीसीको विराेध जनाउँदै व्यानर र प्लेकार्ड सहित प्रदर्शन समेत गरेका छन् ।
‘देश बेच्न पाइदैन, एमसीसी चाहिदैन, सम्पूर्ण नेपाली एक हौं, राष्ट्रघाती एमसीसीको विरोध गरौं’ राष्ट्रवादको ढोङ ओड्ने नेताहरु होसियार, एसीसीका राष्ट्रघाती बुँदाहरु परिमार्जन गर।’ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका हुन् ।
हेटौंडाको बुद्धचोकमा प्लेकार्ड र कालो व्यानर सहित मुखमा कालो पट्टी र हातमा फलामको साङ्लो बाँधेर सांकेतिक बिरोध समेत गरिएको छ । विराेध कार्यक्रम स्वरुप सीमा चोकबाट बुद्ध चोकसम्म ¥याली निकालिएको थियो ।
विरोध कार्यक्रममा वाइसीएल नेपाल बागमती प्रदेश कमिटिका सह–संयोजक सुमन पाख्रिन, मकवानपुर इन्चार्ज राजकुमार मोक्तान, मकवानपुर संयोजक लवराज ठकुरी, हेटौंडा उपमहानगरपालिका संयोजक सानु लामा, नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल मकवानपुर उपाध्यक्ष सफल तिमल्सिना लगायतका युवाहरुको उपस्थिती रहेको थियो ।