मकवानपुर । अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बिरोध स्वरुप हेटाैडामा प्रदर्शन गरिएकाे छ । नेकपा माओवादी केन्द्र सम्बद्ध योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपाल र नेकपा एकिकृत समाजवादी निकट युवा संघ नेपाल मकवानपुरले विहीबार हेटाैडमा एमसीसीको विराेध जनाउँदै व्यानर र प्लेकार्ड सहित प्रदर्शन समेत गरेका छन् ।
‘देश बेच्न पाइदैन, एमसीसी चाहिदैन, सम्पूर्ण नेपाली एक हौं, राष्ट्रघाती एमसीसीको विरोध गरौं’ राष्ट्रवादको ढोङ ओड्ने नेताहरु होसियार, एसीसीका राष्ट्रघाती बुँदाहरु परिमार्जन गर।’ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका हुन् ।
हेटौंडाको बुद्धचोकमा प्लेकार्ड र कालो व्यानर सहित मुखमा कालो पट्टी र हातमा फलामको साङ्लो बाँधेर सांकेतिक बिरोध समेत गरिएको छ । विराेध कार्यक्रम स्वरुप सीमा चोकबाट बुद्ध चोकसम्म ¥याली निकालिएको थियो ।
विरोध कार्यक्रममा वाइसीएल नेपाल बागमती प्रदेश कमिटिका सह–संयोजक सुमन पाख्रिन, मकवानपुर इन्चार्ज राजकुमार मोक्तान, मकवानपुर संयोजक लवराज ठकुरी, हेटौंडा उपमहानगरपालिका संयोजक सानु लामा, नेकपा एकिकृत समाजवादी पार्टी निकट युवा संघ नेपाल मकवानपुर उपाध्यक्ष सफल तिमल्सिना लगायतका युवाहरुको उपस्थिती रहेको थियो ।

