मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेले विहीबार पदभार ग्रहण गरेका छन् ।
पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत मंसिर अन्मित साता सम्पन्न बागमती प्रदेश अधिवेशनबाट मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ प्रदेश सभापति निर्वाचित भएपछि जिल्ला उपसभापति रहेका लामिछानेले कार्यबाहकको जिम्मेवारी पाएका थिए ।उनले विहीबार औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै कार्यबाहक सभापति लामिछानेले नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थानीय निर्वाचन पछि गर्न सहमतिको लागि आग्रह गरेका छन् । स्थानीय निर्वाचनको मिति नजिकै आईरहेको सन्दर्भमा सिंगो पार्टी अब निर्वाचनमा केन्द्रीत हुनुपर्ने भन्दै स्थानीय तहको निर्वाचन पछि मात्र जिल्ला अधिवेशन गर्नको लागि उनले आग्रह गरेका हुन् । सहमति भएको अवस्थामा आफु अब हुने अधिवेशनमा सभापतिको लागि तयार रहेको समेत उनले बताए । उनले भने ‘साथिहरु सबैले सहयोग गर्ने हो भने म जिल्ला सभापति हाक्न तयार छु ।’
केहि दिन अघि मात्रै प्रदेश सभापति बानियाँले जिल्लाका पदाधिकारीहरुलाई पनि जो जुन पदमा छ, सोही पदमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए । जिल्लाको निर्वाचन नभएसम्मको लागि उपसभापतिलाई भने कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो ।

