मकवानपुर । जिल्ला अदालत मकवानपुरले एउटा हत्या मुद्दामा पक्राउ परेकालाई हत्यामा संलग्न जीवित रहेसम्म कैदको फैसला गरेको छ । जिल्ला अदालत मकवानपुरले २०७६ साल माघ ४ गते तेस्रो लिङ्गीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको ३ जनालाई उक्त फैसला सुनाएकाे हाे ।
मकवानपुर प्रहरीले २०७६ साल माघ ४ गते विहान हेटौंडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रो लिङ्गी नाम परिवर्तन ‘कमलडाँडा एफ’ को हत्यामा संलग्न भएको आराेपमा ६ जनालाई पक्राउ गरेकाे थियाे । हत्यामा संलग्न मध्ये १ जना नावालकलाई १६ वर्ष कैद, अर्का १ जनालाई ४ वर्ष कैद र १ जना महिलालाई १ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवनाको फैसला सुनाएको छ।
मकवानपुर जिल्ला अदालतका निमित्त श्रेष्तेदार अमृत घिमिरेले हत्या गरिएकी तेस्रो लिङ्गीकाे परिवारलाई क्षतिपूर्ति भराउने समेत फैसला भएको जानकारी दिए । मुख्य न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले हत्यामा संलग्न रहेका शुसील थापा, बुद्ध लामा र आशिष बललाई जवरजस्ती करणी, कर्तब्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँकाको आरोपमा ९ वर्ष कैद र ९० हजार जरिवना, पीडितको परिवारलाई जनही ३ लाख रुपैयाँको दरले क्षतिपुर्ति भराउने फैसला भएको घिमिरेले बताए ।
यसै गरी हत्यामा संलग्न रहेका नाबालक नाम परिवर्तन ‘सिमलटार जेड’ लाई १६ वर्ष ८ महिना कैद, डाकातर्फ ९ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएकाे छ । अर्को आरोपित सिमोन परियारलाई बलात्कार र हत्या तर्फ ४ वर्ष कैद, डाका तर्फ ९ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रो लिङ्गीको मोवाइल प्रयोग गर्ने डोलमाया तामाङलाई १ वर्ष कैद र १० हजार जरिवाना तोकी फैसला भएकाे घिमिरेले जानकारी दिए । पीडितको परिवारलाई थप ५ लाख रुपैयाँ पीडित राहत कोषबाट क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।

