काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशनको आज दोस्रो पनि जारी रहनेछ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित शुक्रबारबाट एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको हाे ।
ललितपुर, गोदावरीस्थित सनराइज हलमा आज दोस्रो दिन पनि हिजो बाँकी रहेका प्रतिवेदनको प्रस्तुतीकरण हुने छ । बिहानबाटै महाधिवेशनको सुरु हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा.पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा.विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए । आजै प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल हुने बताइएकाे छ ।
दोस्रो विधान महाधिवेशनमा पार्टीको वैचारिक,संगठनात्मक र कार्यशैलीगत रूपान्तरणका लागि संशोधन प्रस्ताव पेश गरेको छ । प्रस्तावमा पार्टीले ‘नेपाली विशेषताको समाजवाद’लाई मार्गदर्शक अवधारणा बनाउँदै समाजवाद निर्माणलाई दीर्घकालीन कार्यदिशा बनाउने उल्लेख गरिएको छ ।
प्रस्तावअनुसार, २०६८ को नवौँ महाधिवेशनपछि समाजवादलाई रणनीतिक लक्ष्यका रूपमा तय गरिएको भए पनि त्यसलाई संविधानमा उल्लेख भएअनुसार अझ स्पष्ट र कार्यान्वयन योग्य बनाउन विधानमै प्रावधान थप्नुपर्ने देखिएको छ । यसैअन्तर्गत ‘नेपाली विशेषताको समाजवाद’लाई जोड दिँदै वैज्ञानिक समाजवादको मार्गलाई सुदृढ पार्ने भनिएको छ ।
दोस्रो विधान महाधिवेशनको पहिलो दिन शुक्रबार विभिन्न प्रतिवेदन प्रस्तुत गरिएकाे छ । महाधिवेशनकाे पहिलाे दिन विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन आज शनिबार प्रस्तुत हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।
पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
शनिबार केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बाले प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ । महाधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ ।
विधान संसोधन प्रस्ताव
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा आगलागी हुँदा नगद १५ लाखसहित २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बकैया–५, गरगरेमा रहेकाे किराना पसलमा शुक्रबार आगलागी भएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागीमा परी पसल सञ्चालक गम्भीर घाइते भएका छन् । स्थानीय लिलाराम जिम्बाको २ तल्ले पक्की घरमा रहेको किराना पसलमा शुक्रबार बिहान आगलागी भएकोमा नगदसहितकाे धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार घर अगाडि बालेको दियोबाट पेट्रोलमा आगो सल्किँदा उक्त दुर्घटना भएको हाे । पसल सञ्चालक जिम्बाले पेट्रोलको ड्रमबाट पेट्रोल खन्याउने क्रममा ड्रम पल्टिँदा आगो फैलिएको बताइएकाे छ । आगो निभाउने क्रममा ४५ वर्षीय लिलाराम जिम्बाको दुवै हात र खुट्टा जलेर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा पछि थप उपचारका लागि चुरेहिल अस्पतालमा भर्ना गरिएको थियाे ।
जिम्बाकाे शरीरको अगाडिको भाग ४० प्रतिशत जलेकोले थप उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएकाे छ । इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोस्ट गरगरेबाट खटिएकाे प्रहरी टोलीसहित हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको दमकल स्थानीयवासीको संयुक्त प्रयासमा २ घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।
प्रहरीका अनुसार आगलागीबाट जिम्बाको दुई तल्ले पक्की घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने घरभित्र रहेको नगद १५ लाख रुपैयाँ, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायतका सामान जलेर नष्ट भएको छ । आगलागीबाट बा.प्र.०३–००६ प १८९७ र ना ४९ प १३ नम्बरको पल्सर मोटरसाइकल जलेकाे छ ।
मकवानपुर । चेपाङ समुदायकाे न्वागी पर्वको अवसरमा २२ भदौमा बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले न्वागी (छोनाम) को अवसरमा प्रदेशका मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै २२ भदौ आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको हो । बागमती प्रदेश सरकारको गत चैतमा बसेको मन्त्रिपरिषद् बैठकले चेपाङ समुदायको न्वागी पर्वको बिदा दिने निर्णय गरेको थियो । मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीद्वारा हस्ताक्षरित सूचनामा भनिएकाे छ ‘बागमती प्रदेश राजपत्रको खण्ड ८, सङ्ख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचना बमोजिम उक्त बिदा दिने निर्णय गरिएको हो ।’
चेपाङ समुदायको बाक्लो बसोबास रहेका उक्त जिल्लाहरूमा न्वागी पर्वको अवसरमा प्रदेश सरकारले केही वर्ष अघीदेखि सार्वजनिक बिदा दिदैं आएकाे छ । मकवानपुरकाे राक्सिराङ गाँउपालिकाले २१,२२ र २३ भदौमा पालिका भर ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।
प्रत्येक वर्ष २२ भदौमा चेपाङ समुदायले विशेष पर्व न्वागी (छोनाम) मनाउने गर्छन् । यो दिन नयाँ अन्न खाने दिन भएकाले यसलाई छोनाम भनिएको हो । प्रकृति पूजा गरेर मनाइने यो पर्वमा नयाँ बाली प्रकृतिलाई चढाएर वर्षभरि खान पुगोस् भनेर कामना गरिन्छ । चेपाङ समुदायको बाक्लो बसोबास रहेको चितवन, धादिङ, मकवानपुर, गोरखालगायतका जिल्लामा यो पर्व विशेष रूपमा मनाउने गरिन्छ ।
न्वागी मनाउने क्रम घट्दै गएकाले यसलाई नयाँ पुस्तामाझ जोगाइराख्न प्रत्येक वर्ष यो पर्व बेग्ला-बेग्लै ठाउँमा मनाउने गरिएको छ । नयाँ उब्जिएको अन्नबाली मकै, केरा, पिँडालु, निबुवा, घैया धानलगायत प्रकृतिलाई चढाउने गरिन्छ । चेपाङ समुदायको यस प्रमुख पर्व न्वागीमा घरमा भित्र्याएको नयाँ अन्नबाली प्रकृतिलाई चढाएपछि मात्र खाने गरिन्छ । न्वागीपछि अनिकाल सकेर सहकाल आएको मानिन्छ । नयाँ अन्न र फलफूल पितृलाई नचढाई खाएमा देउता अनिकाल लाग्ने तथा रोगब्याध लाग्ने चेपाङ समुदायको धार्मिक विश्वास रहेको छ ।
पहिला भदौ महिनाको पूर्णिमाको दिन नयाँ बालीको नयाँ अन्न खान आफ्नै जातिको झाँक्री (पान्दे/पाण्डे)लाई घरमा बोलाएर रातभरि एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा (पितृ मन्छाउँदै) मनाउने गरिए तापनि २०६८ सालपछि २२ भदौमा मनाउने गरिएकाे छ । यस पर्वको अवसरमा कुखुराको बलि दिने चलन समेत रहेको छ । २२ नाले वंशावली भएका कारण चेपाङहरूले भदौ २२ गते मुख्य पर्व न्वागी मनाउने चलन रहेको पाइएको छ ।
यस दिन छरछिमेक, नाताकुटुम्बलाई निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख-दुःख साट्ने गरिन्छ । चेपाङहरूले न्वागी पर्वलाई पान्देई घ्यासा पनि भन्छन् । भेला भएर उनीहरूले ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद समेत थाप्ने गर्छन् । चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्ने गर्छन् । उनीहरू जङ्गलका गिठा-भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजङ्गलसँग मिठो सम्बन्ध गाँसिएको हुन्छ ।
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन क्षेत्रलाई उद्योग र उत्पादनसंग जोड्नु पर्ने बताएका छन् । बुधबार मकवानपुरको बागमती गाउँपालिका स्थित राइगाउँ र फापरबारीमा दुईवटा सब डिभिजन वन कार्यालयको भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हिजो हरियो वन नेपालको धन थियो, हामीले हाम्रा डाँडाकाडालाई सामुदायिक वन मार्फत हरियो बनायौ’ मन्त्री केसीले भने अब यसको उपयोग गर्ने बेला भएकाेले सामुदायिक वनलाई उत्पादनसँग जोड्नु पर्छ र वन मार्फत आर्थिक उपार्जन गर्नु पर्छ ।’ उनले सम्भावना रहेका सम्पूर्ण सामुदायिक वनहरुमा उद्योग कलकारखाना खोल्ने र वनसँग सम्बन्धित बस्तु उत्पादन गर्ने र नागरिकलाई आर्थिक उपार्जनसंग जोड्नु पर्ने बताए ।
समृद्ध नेपाल सुखी नेपालीको सपना साकार गर्न नागरिक समृद्ध भइ आर्थिक उपार्जन समेत हुनुपर्ने हुँदा वन क्षेत्रमा उद्योग खोल्ने र उत्पादनसँग जोडेर रोजगारी सृजना गरिनु पर्ने आवश्यकता रहेकाे उनले बताए । मन्त्री केसीले नागरिकलाई छिटो, छरीतो र मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गरे । वनको सही व्यवस्थापन र प्रयोगमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने उनले बताए । वन व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारकाे सक्रिय सहभागिता अपरिहार्य हुनु पर्ने उनकाे भनाइ थियाे ।
कार्यक्रमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले बागमती प्रदेशमा हालसम्म ३८ वटा वन कार्यालयका भवन निर्माण भइसकेको जानकारी दिए । अन्य प्रदेशको तुलनामा बागमती प्रदेशले वन क्षेत्रमा अग्रणी रुपमा काम गरेको उनले बताए । उनले प्रदेश सरकारले वनक्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरेको भन्दै सोहि अनुसार कर्मचारीले पनि काम गर्नुपर्ने बताए । पूर्वाधार निर्माणसँगै अब सेवा र सुविधा गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले वन क्षेत्रको संरक्षण र उपयोगितामा विशेष ध्यान दिनु पर्ने बताए । उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउन समेत आग्रह गरेका छन् । यस्तै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले सामुदायिक वनले संरक्षणसँगै आर्थिक उपार्जन गर्नुपर्ने र सामुदायिक वनमा संकलित रकमलाई पारदर्शी ढंगले उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेश प्रसाद चन्द्रवंशीको अध्यक्षता तथा वन निर्देशनालय बागमती प्रदेशका निर्देशक विद्यानन्द झासहित सरोकारवालाको सहभागिता भएको कार्यक्रममा अध्यक्ष चन्द्रवशीले सब डिभिजन वन कार्यालयले आगामी दिनमा गुणस्तरीय सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पौने पाँच करोडमा डिभिजन वन
डिभिजन वन कार्यालय हेटौंडाद्धारा ठेक्का व्यवस्थापन भई निर्माण भएका दुवै भवन निर्माणमा पौने पाँच करोड रुपैंया लागत लागेको छ । बागमती गाउँपालिका वडा नम्बर १ राईगाउँ स्थित राईगाउँ सव डिभिजन वन कार्यालय निर्माणका लागि कार्यालयले २ करोड ९६ लाख ३७ हजार ३५० रुपौयामा ठेक्का आव्हन गरेकोमा सुशन निहारिका जेभिसँग २ करोड ४९ लाख ४४ हजार १८८ रुपैयामा सम्झौता भइ निर्माण भएकाे हाे ।
यसैगरी बागमती – ८ फापरबारी स्थित सव डिभिजन वन कार्यालयको २ करोड ९६ लाख ५६ हजार ९३८ रुपौयामा ठेक्का आव्हन गरेकोमा २ करोड २४ लाख २६ हजार ९११ रुपैंयामा सुशन कन्ट्रक्सनसँग सम्झौता भई निर्माण भएको हो ।
मकवानपुर। नेकपा (एमाले)ले भीमफेदी गाउँपालिकामा आफ्नो गतिविधि बढाएको छ । एमालेको जनतासँग घर, टोलमा पुगेर संवाद गर्दै गुनासाहरु सुन्ने, सुझावहरु संकलन गर्ने तथा आफ्ना विषय वस्तु जनतालाई वताउने गरि सकृयता बढाएको हो ।
एमालेको भीमफेदी पालिका कमिटीका उपसचिव आशिष अस्लामीका अनुसार अहिले पार्टीको वैचारिक तथा नीति कार्यक्रम बारे कार्यकर्ता प्रशिक्षण र पार्टीलाई फङ्सनमा राख्नका लागि बैठक, भेला तथा कार्य योजना निर्माण गरि त्यसको कार्यान्वयनलाई जोड दिईएको छ । गत श्रावण ३० गते पालिका कमिटीको वैठकले निर्माण गरेका कार्य योजना अनुसार हालसम्म ९ वटा वडा मध्य ७ वटा वडामा अभियानहरु संचालन भई रहेका छन् ।
बाँकी रहेका २ वटा वडाहरु ४ र ८ नम्बर वडामा पनि केहि दिनमा अभियानको सुरुवात हुने अस्लामीले वताए । उनका अनुसार अहिले भीमफेदीका टोल कमिटीहरु पनि विभिन्न समाजिक कामहरु तथा जनतासँग प्रत्यक्ष जोडिने काममा सकृय रहेका छन् ।