मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले वन क्षेत्रलाई उद्योग र उत्पादनसंग जोड्नु पर्ने बताएका छन् । बुधबार मकवानपुरको बागमती गाउँपालिका स्थित राइगाउँ र फापरबारीमा दुईवटा सब डिभिजन वन कार्यालयको भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हिजो हरियो वन नेपालको धन थियो, हामीले हाम्रा डाँडाकाडालाई सामुदायिक वन मार्फत हरियो बनायौ’ मन्त्री केसीले भने अब यसको उपयोग गर्ने बेला भएकाेले सामुदायिक वनलाई उत्पादनसँग जोड्नु पर्छ र वन मार्फत आर्थिक उपार्जन गर्नु पर्छ ।’ उनले सम्भावना रहेका सम्पूर्ण सामुदायिक वनहरुमा उद्योग कलकारखाना खोल्ने र वनसँग सम्बन्धित बस्तु उत्पादन गर्ने र नागरिकलाई आर्थिक उपार्जनसंग जोड्नु पर्ने बताए ।
समृद्ध नेपाल सुखी नेपालीको सपना साकार गर्न नागरिक समृद्ध भइ आर्थिक उपार्जन समेत हुनुपर्ने हुँदा वन क्षेत्रमा उद्योग खोल्ने र उत्पादनसँग जोडेर रोजगारी सृजना गरिनु पर्ने आवश्यकता रहेकाे उनले बताए । मन्त्री केसीले नागरिकलाई छिटो, छरीतो र मुस्कानसहितको सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गरे । वनको सही व्यवस्थापन र प्रयोगमार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने उनले बताए । वन व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारकाे सक्रिय सहभागिता अपरिहार्य हुनु पर्ने उनकाे भनाइ थियाे ।
कार्यक्रमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव केदार बरालले बागमती प्रदेशमा हालसम्म ३८ वटा वन कार्यालयका भवन निर्माण भइसकेको जानकारी दिए । अन्य प्रदेशको तुलनामा बागमती प्रदेशले वन क्षेत्रमा अग्रणी रुपमा काम गरेको उनले बताए । उनले प्रदेश सरकारले वनक्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गरेको भन्दै सोहि अनुसार कर्मचारीले पनि काम गर्नुपर्ने बताए । पूर्वाधार निर्माणसँगै अब सेवा र सुविधा गुणस्तरीय बनाउनुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले वन क्षेत्रको संरक्षण र उपयोगितामा विशेष ध्यान दिनु पर्ने बताए । उनले सेवा प्रवाहलाई प्रभावकारी बनाउन समेत आग्रह गरेका छन् । यस्तै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले सामुदायिक वनले संरक्षणसँगै आर्थिक उपार्जन गर्नुपर्ने र सामुदायिक वनमा संकलित रकमलाई पारदर्शी ढंगले उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।
डिभिजन वन कार्यालय हेटौंडाका प्रमुख राकेश प्रसाद चन्द्रवंशीको अध्यक्षता तथा वन निर्देशनालय बागमती प्रदेशका निर्देशक विद्यानन्द झासहित सरोकारवालाको सहभागिता भएको कार्यक्रममा अध्यक्ष चन्द्रवशीले सब डिभिजन वन कार्यालयले आगामी दिनमा गुणस्तरीय सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पौने पाँच करोडमा डिभिजन वन
डिभिजन वन कार्यालय हेटौंडाद्धारा ठेक्का व्यवस्थापन भई निर्माण भएका दुवै भवन निर्माणमा पौने पाँच करोड रुपैंया लागत लागेको छ । बागमती गाउँपालिका वडा नम्बर १ राईगाउँ स्थित राईगाउँ सव डिभिजन वन कार्यालय निर्माणका लागि कार्यालयले २ करोड ९६ लाख ३७ हजार ३५० रुपौयामा ठेक्का आव्हन गरेकोमा सुशन निहारिका जेभिसँग २ करोड ४९ लाख ४४ हजार १८८ रुपैयामा सम्झौता भइ निर्माण भएकाे हाे ।
यसैगरी बागमती – ८ फापरबारी स्थित सव डिभिजन वन कार्यालयको २ करोड ९६ लाख ५६ हजार ९३८ रुपौयामा ठेक्का आव्हन गरेकोमा २ करोड २४ लाख २६ हजार ९११ रुपैंयामा सुशन कन्ट्रक्सनसँग सम्झौता भई निर्माण भएको हो ।

