मकवानपुर । चेपाङ समुदायकाे न्वागी पर्वको अवसरमा २२ भदौमा बागमती प्रदेशका ३ जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले न्वागी (छोनाम) को अवसरमा प्रदेशका मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै २२ भदौ आइतबार चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिइएको जनाएको हो । बागमती प्रदेश सरकारको गत चैतमा बसेको मन्त्रिपरिषद् बैठकले चेपाङ समुदायको न्वागी पर्वको बिदा दिने निर्णय गरेको थियो । मन्त्रालयकी सह–प्रवक्ता रविता कार्कीद्वारा हस्ताक्षरित सूचनामा भनिएकाे छ ‘बागमती प्रदेश राजपत्रको खण्ड ८, सङ्ख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचना बमोजिम उक्त बिदा दिने निर्णय गरिएको हो ।’
चेपाङ समुदायको बाक्लो बसोबास रहेका उक्त जिल्लाहरूमा न्वागी पर्वको अवसरमा प्रदेश सरकारले केही वर्ष अघीदेखि सार्वजनिक बिदा दिदैं आएकाे छ । मकवानपुरकाे राक्सिराङ गाँउपालिकाले २१,२२ र २३ भदौमा पालिका भर ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।
प्रत्येक वर्ष २२ भदौमा चेपाङ समुदायले विशेष पर्व न्वागी (छोनाम) मनाउने गर्छन् । यो दिन नयाँ अन्न खाने दिन भएकाले यसलाई छोनाम भनिएको हो । प्रकृति पूजा गरेर मनाइने यो पर्वमा नयाँ बाली प्रकृतिलाई चढाएर वर्षभरि खान पुगोस् भनेर कामना गरिन्छ । चेपाङ समुदायको बाक्लो बसोबास रहेको चितवन, धादिङ, मकवानपुर, गोरखालगायतका जिल्लामा यो पर्व विशेष रूपमा मनाउने गरिन्छ ।
न्वागी मनाउने क्रम घट्दै गएकाले यसलाई नयाँ पुस्तामाझ जोगाइराख्न प्रत्येक वर्ष यो पर्व बेग्ला-बेग्लै ठाउँमा मनाउने गरिएको छ । नयाँ उब्जिएको अन्नबाली मकै, केरा, पिँडालु, निबुवा, घैया धानलगायत प्रकृतिलाई चढाउने गरिन्छ । चेपाङ समुदायको यस प्रमुख पर्व न्वागीमा घरमा भित्र्याएको नयाँ अन्नबाली प्रकृतिलाई चढाएपछि मात्र खाने गरिन्छ । न्वागीपछि अनिकाल सकेर सहकाल आएको मानिन्छ । नयाँ अन्न र फलफूल पितृलाई नचढाई खाएमा देउता अनिकाल लाग्ने तथा रोगब्याध लाग्ने चेपाङ समुदायको धार्मिक विश्वास रहेको छ ।
पहिला भदौ महिनाको पूर्णिमाको दिन नयाँ बालीको नयाँ अन्न खान आफ्नै जातिको झाँक्री (पान्दे/पाण्डे)लाई घरमा बोलाएर रातभरि एकपाखे ढ्याङ्ग्रो बजाएर पान्देई घ्यासा (पितृ मन्छाउँदै) मनाउने गरिए तापनि २०६८ सालपछि २२ भदौमा मनाउने गरिएकाे छ । यस पर्वको अवसरमा कुखुराको बलि दिने चलन समेत रहेको छ । २२ नाले वंशावली भएका कारण चेपाङहरूले भदौ २२ गते मुख्य पर्व न्वागी मनाउने चलन रहेको पाइएको छ ।
यस दिन छरछिमेक, नाताकुटुम्बलाई निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख-दुःख साट्ने गरिन्छ । चेपाङहरूले न्वागी पर्वलाई पान्देई घ्यासा पनि भन्छन् । भेला भएर उनीहरूले ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद समेत थाप्ने गर्छन् । चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्ने गर्छन् । उनीहरू जङ्गलका गिठा-भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजङ्गलसँग मिठो सम्बन्ध गाँसिएको हुन्छ ।

