मकवानपुर । हेटौंडामा ५ जना पत्रकार र १ जना छापाखानामा कार्यरत कर्मचारी पुरस्कृत भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरुलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरेका हुन् ।
स्टेट भिजन प्रा.लि.द्वारा संचालनमा रहेकाे तु खबर डटकमको ५ औँ वार्षिक उत्सवको अवसरमा शनिवार आयोजना गरिएकाे वार्षिक उत्सव एवम् पत्रकारिता पुरस्कार वितरण समारोहमा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी नगद १५ हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार –२०७८ बाट सम्मानित भएका छन् । २०५१ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर आम नागरिकको सूचित हुने अधिकारको निम्ति पुर्याएको योगदानको कदर गर्दै सम्पादक भण्डारीलाई मकवानपुर जागरण अभियानसँगको सहकार्यमा तु खबरले स्थापना गरेको ‘जागरण तु खबर अग्रज पत्रकार पुरस्कार २०७८’ प्रदान गरिएको हो ।
यस्तै पत्रकार ध्रुव लम्साल नगद १२ हजार १ राशीको ‘रुपचन्द्र विष्ट स्मृति पत्रकारिता पुरस्कार–२०७८ बाट सम्मानित भएका हुन् । २०५७ सालदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशील रहदै आएका लम्साल कला क्षेत्रमा कलम चलाउँछन् । पछिल्लाे समय उनी राजधानी दैनिकको अनलाइन संस्करण राजधानी डेल्ली डटकमका सम्पादक हुन् ।
यसैगरी नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुली नगद १० हजार १ रुपैयाँ राशीको ‘जागरण तु खबर समकालीन पत्रकार पुरस्कार–२०७८ बाट पुरस्कृत भएका हुन् । २०५२ सालदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका छन् पराजुली । उनले केही समय पत्रकारिता विषय अध्यापन समेत गरेका थिए । रेडियो मकवानपुरका समाचार प्रमुख राजन दाहाल (खुसराज) नगद १० हजार १ राशीको ‘तु खबर रेडियो पत्रकारिता पुरस्कार–२०७८ पुरस्कृत भएका छन् । २०४८ सालदेखि पत्रकारितामा निरन्तर रुपमा काम गर्दै आएका दाहाल हाल रेडियो पत्रकारितामा स्थापित छन् ।
यस्तै धादिङ्पोष्ट डटकमका सम्पादक नारायण शिलवाल नगद १० हजार १ राशीको तु खबर अनलाइन पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत भएका हुन् । २०६२ सालदेखि पत्रकारितामा क्रियाशील भई हाल अनलाइन पत्रकारको रुपमा स्थापित छन् सिलवाल । यस्तै २०४० सालदेखि हेटाैडाका विभिन्न छापाखानामा छपाईको काम गर्दै आएका कर्मचारी सोमबहादुर विष्टलाई ५ हजार नगदसहित सम्मान गरिएकाे हाे ।

कार्यक्रममा तु खबरले वार्षिक उत्सवको अवसरमा प्रकाशन गरेको तु खबर स्मारिकाको पाँचौँ संस्करण विमोचन गरिएको थियो । प्रदेश प्रमुख शर्मा, बागमती प्रदेश भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्त प्रजा, नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देललगायतले उक्त पुस्तक विमोचन गरेका थिए ।
तु खबरका सम्पादक गिरिजा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा एमालेका अध्यक्ष एकलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र मकवानपुरका सचिव भीम पाख्रिन, पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर अध्यक्ष मणिराज गौतम, पूर्व अध्यक्षहरु, मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालालगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटाैडामा पेट्रोलियम पदार्थको अभाव हुन थालेकाे छ । बागमती प्रदेशको राजधानी हेटौंडामा पेट्रोलियम पदार्थ अभाव भएपछि उपभोक्ता मारमा परेका छन् ।
नेपाल पेट्रोलियम डिलर एसोसिएसनले पेट्रोलियम बिक्रेतालाई कमिसन नथप्ने सरकारी निर्णयकाे विराेधमा पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री बन्द गरेसँगै पेट्रोलियम पदार्थ अभाव भएकाे हाे । शनिबार बिहानैबाट हेटाैडाका पेट्रोल पम्पहरुमा सवारी साधनकाे चाप बढेको छ भने केही पम्प बन्द रहेका छन् । आइतबार पेट्रोलियम पदार्थको बिक्री ठप्प हुन सक्ने नारायणी पेट्रोलियम डिलर एसोसिएसनका अध्यक्ष उत्सव इटेनी बताउँछन् ।
सरकारले बिक्रेतालाई कसिसन नबढाएकाेले आन्दोलनको कार्यक्रम अन्तर्गत शनिबारबाट पेट्रोलियम पर्दाथको अभाव सुरु भएको अध्यक्ष इटेनीले बताए । पेट्रोलियम पदार्थको भाउ बढेअनुसार तत्काललाई बिक्रेता कमिसन नबढाए देशभर पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने पेट्रोलियम डिलर एसोसिएसनले चेतावनी दिएकाे छ ।
मकवानपुर । नेकपा एमालेले मकवानपुरका १० वटै स्थानीय तहमा निर्वाचन प्रशिक्षण कार्यक्रम गर्ने भएकाे छ । चैत १८ गते शुक्रबार निर्वाचन लक्षित पार्टी प्रशिक्षण कार्यक्रम हुने भएको हाे ।
पार्टी प्रदेश र केन्द्रीय कमिटिबाट खटिएका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम तय भएको एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले बताए । मकवानपुरका सबै पालिकामा कम्तिमा २ सय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुने तयारी गरिएको छ ।
निर्वाचनमा मतदातालाई मतदान गर्न सिकाउने, पार्टीको जनपरिचालन अभियानका बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्ने र चुनावी एजेन्डा तय गर्ने लगायतका प्रशिक्षणका विषय राखिएको एमाले मकवानपुरले जनाएकाे छ ।
मकवानपुर । राप्रपा नेपाल मकवानपुर अध्यक्षमा गुरुप्रसाद सापकोटा चयन भएका छन् ।
विहीबार कमल थापा नेतृत्वकाे राप्रपा नेपाल मकवानपुरको हेटौंडामा भएको घोषणा सभामा वर्तमान अध्यक्ष अर्जुन ढुङ्गनाले सापकोटाको नाम जिल्ला अध्यक्षमा घोषणा गरेका हुन् । सभामै राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाले सर्वसम्मत चयन भएका सापकोटालाई पार्टीको माईनेट र झण्डा हस्तान्त्रण गरेका थिए ।
यसअघि, सापकोटा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका जिल्ला अध्यक्ष थिए । उनले केहिदिन अघि मात्रै राप्रपा भित्र सैद्धान्तिक विचलन देखिएको भन्दै साधारण सदस्य समेत नरहने गरि राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।
यसैगरी कमल थापाले राप्रपा नेपालको केन्द्रीय सदस्यमा मकवानपुरका बालकृष्ण कार्की र अम्बिका खतिवडा चयन गरेका छन् । उनीहरुलाई राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य पदको जिम्मेवारी पत्र प्रदान गरेका थिए ।
घाेषणा सभामा केन्द्रीय अध्यक्ष कमल थापाले आफुलाई राजनीतिमा कमजोर बनाउन चाहनेहरु पछिल्लो समय सकृय भएको बताए । उनले केही साथीहरू अलमलिनु भएको तर छिटै नै वास्तविकता बुझेर संगै हिड्न आउने बताए । ‘राप्रपाको बहुमत केन्द्रिय सदस्य आफ्नो पक्षमा रहेको र कानुन बमोजिम नै पार्टी फुटाउन सक्ने भए पनि आफू एक्लै पार्टीबाट बाहिरिएकाे हुँ’ थापाले भने– ‘अझै हजारौं सङ्ख्या लोकतन्त्र, हिन्दुराष्ट्र, सुशासनमा बिश्वास गर्ने समुह रहेकोले आफूले त्यसैको नेतृत्व गरेको छु ।’
गत मंशिरमा काठमाडाैमा भएकाे राप्रपाकाे महाधिवेशनमा पूर्व राजाको सचिव तथा सहयोगीले प्रतिनिधिलाई फकाउने र आफूलाई हराउने काम गरेकाे समेत सभामा थापाले बताए । अबको चुनाव सकेसम्म नेकपा एमाले सङ्ग मिलेर चुनाव लड्ने पक्षमा आफूहरु रहेकाे उनले जनाकारी दिए ।