मकवानपुर । नेकपा एमालेले मकवानपुरका १० वटै स्थानीय तहमा निर्वाचन प्रशिक्षण कार्यक्रम गर्ने भएकाे छ । चैत १८ गते शुक्रबार निर्वाचन लक्षित पार्टी प्रशिक्षण कार्यक्रम हुने भएको हाे ।
पार्टी प्रदेश र केन्द्रीय कमिटिबाट खटिएका प्रशिक्षकले प्रशिक्षण दिने कार्यक्रम तय भएको एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले बताए । मकवानपुरका सबै पालिकामा कम्तिमा २ सय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुने तयारी गरिएको छ ।
निर्वाचनमा मतदातालाई मतदान गर्न सिकाउने, पार्टीको जनपरिचालन अभियानका बारेमा कार्यकर्तालाई प्रशिक्षित गर्ने र चुनावी एजेन्डा तय गर्ने लगायतका प्रशिक्षणका विषय राखिएको एमाले मकवानपुरले जनाएकाे छ ।

