मकवानपुर । राप्रपा नेपाल मकवानपुर अध्यक्षमा गुरुप्रसाद सापकोटा चयन भएका छन् ।
विहीबार कमल थापा नेतृत्वकाे राप्रपा नेपाल मकवानपुरको हेटौंडामा भएको घोषणा सभामा वर्तमान अध्यक्ष अर्जुन ढुङ्गनाले सापकोटाको नाम जिल्ला अध्यक्षमा घोषणा गरेका हुन् । सभामै राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापाले सर्वसम्मत चयन भएका सापकोटालाई पार्टीको माईनेट र झण्डा हस्तान्त्रण गरेका थिए ।
यसअघि, सापकोटा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका जिल्ला अध्यक्ष थिए । उनले केहिदिन अघि मात्रै राप्रपा भित्र सैद्धान्तिक विचलन देखिएको भन्दै साधारण सदस्य समेत नरहने गरि राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।
यसैगरी कमल थापाले राप्रपा नेपालको केन्द्रीय सदस्यमा मकवानपुरका बालकृष्ण कार्की र अम्बिका खतिवडा चयन गरेका छन् । उनीहरुलाई राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले केन्द्रीय सदस्य पदको जिम्मेवारी पत्र प्रदान गरेका थिए ।
घाेषणा सभामा केन्द्रीय अध्यक्ष कमल थापाले आफुलाई राजनीतिमा कमजोर बनाउन चाहनेहरु पछिल्लो समय सकृय भएको बताए । उनले केही साथीहरू अलमलिनु भएको तर छिटै नै वास्तविकता बुझेर संगै हिड्न आउने बताए । ‘राप्रपाको बहुमत केन्द्रिय सदस्य आफ्नो पक्षमा रहेको र कानुन बमोजिम नै पार्टी फुटाउन सक्ने भए पनि आफू एक्लै पार्टीबाट बाहिरिएकाे हुँ’ थापाले भने– ‘अझै हजारौं सङ्ख्या लोकतन्त्र, हिन्दुराष्ट्र, सुशासनमा बिश्वास गर्ने समुह रहेकोले आफूले त्यसैको नेतृत्व गरेको छु ।’
गत मंशिरमा काठमाडाैमा भएकाे राप्रपाकाे महाधिवेशनमा पूर्व राजाको सचिव तथा सहयोगीले प्रतिनिधिलाई फकाउने र आफूलाई हराउने काम गरेकाे समेत सभामा थापाले बताए । अबको चुनाव सकेसम्म नेकपा एमाले सङ्ग मिलेर चुनाव लड्ने पक्षमा आफूहरु रहेकाे उनले जनाकारी दिए ।
