मकवानपुर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकामा मनाेनयन दर्ता गराएका नेकपा एकिकृत समाजवादीबाट उम्मेद्वारी दिएका १ जनाको उम्मेद्वारी खारेज भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर १ मा खुल्लातर्फबाट सदस्य उम्मेदवारी दिएका पवन थोकरको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय,हेटौंडाले जनाएको छ । छानविनको क्रममा खुल्ला वडा सदस्यतर्फ १ जना हुनु पर्नेमा ३ जनाको परेको र सिफारिस प्रमाणित नभएको कारण थोकरको उम्मेदवारी खारेज गरिएको कार्यालयले जनाएको छ ।
यस्तै हेटौंडा उपमहानगरपालिकामा मनोनयन दर्ता गरेका २ जना विरुद्ध परेको उजुरी खारेजी भएको छ ।
नेकपा एमालेबाट हेटौंडा ४ का वडा अध्यक्षका उम्मेद्वार नवीन सिग्देल र १९ नंबर वडा अध्यक्षका उम्मेद्वार नरनाथ सुवेदी विरुद्ध परेको उजुरी दाबी नपुगेको र उनीहरुको उम्मेद्वारी कायम रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
अधिकृत शर्माका अनुसार सिग्देलविरुद्ध कर छली गरेको र सुबेदीविरुद्ध अबैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोषको पैसा हिनामिना गरेको उजुरी परेको थियो । दुबैजना विरुद्ध परेको उजुरी पुष्टि नभएको शर्माको भनाई छ ।
मकवानपुर । नेपाली कांग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वारी दिएकी छाँया अधिकारीकाे उम्मेद्वारी बदर भएकाे छ । उम्मेद्वारी बदर भएसँगै अधिकारीले निर्वाचनमा भाग लिन नपाउने भएकी छन् ।
अधिकारीविरुद्ध राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको भन्दै मनोनयन बदर हुनुपर्ने प्रमाण सहित उजुरी परेको थियो ।उजुरी परेको विषयमा अधिकारीले कुनै लिखित जवाफ पेस नगरेको र उनको पार्टीका तर्फबाट दिलबहादुर भोम्जनले मौखिक बयानमा अधिकारी हाल जागिरमै रहेको जानकारी आएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ । गणक पद पारिश्रमिक पाउने पद रहेको र उम्मेद्वारी बदर भएमा सहमत रहेको व्यहोरा जानकारी गराएको कार्यालयले जनाएको छ ।
यसैगरि नेकपा माओवादीका उपाध्यक्ष भक्त बहादुर खत्री र नेपाली कांग्रेसका वडा नम्बर ५ का लक्ष्मी जिम्बाविरुद्ध परेको उजुरीमा प्रमाण नपुगेको भन्दै उनीहरुको उम्मेद्वारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको अध्यक्षमा सुर्यचन्द्र न्याैपाने चयन भएका छन् । नेकपा (एस) पार्टी गठन पछी मकवानपुर अध्यक्ष भएका श्रीधर पोखरेलले बुधबार पत्रकार सम्मेलन गरी राजिनामा दिएपछि अध्यक्षमा न्यौपाने चयन भएका हुन् ।
नेकपा एसबाट सुन्दर राजनीतिको सपना बुँनेको तर पार्टी सत्तामा पुगेपछि अबसरबाद, ब्यक्तिबाद हाबी भएको भन्दै बुधवार अध्यक्ष पदबाट पोखरेलले राजीनामा दिएका थिए । उनको राजिनामा पश्चात बसेको सचिवालय बैठकले पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर सह-इन्चार्ज न्यौपानेलाई अध्यक्ष चयन गरेको हाे ।
न्यौपानेलाई बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनसम्मका लागि अध्यक्षको जिम्मेवारी दिइएको एकिकृत समाजवादी पार्टी सचिवालय मकवानपुरले जनाएको छ ।
मकवानपुर । स्थानीय तह निर्वाचन -२०७९ को लागि उम्मेदवारी दर्ता गरेका ८ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । मकवानपुर जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहमा उम्मेदवार विरुद्ध उजुरी परेको हो ।
हेटौंडा उपमहानगरपालिका,मकवानपुरगढी, मनहरी र बकैया गाउँपालिकामा गरी ८ जना उम्मेदवारमा उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मकवानपुरगढी गाउँपालिकामा पनि २ जना वडा अध्यक्ष विरुद्ध उजुरी परेकोमा रित नपुगेकोले उजुरी नै खारेज भइसकेको छ ।
अन्य उम्मेदवारको हकमा भने भोलि अन्तिम निर्णय हुनेछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हेटौंडा–१९ मा एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नरनाथ सुवेदीमाथि करछलीको आरोपमा उजुरी परेको छ ।
मनहरी गाउँपालिका उपाध्यक्ष र मनहरी ३ नम्बर वडा अध्यक्षका उम्मेदवार बिरुद्ध उजुरी परेको छ । उजुरी पर्नेमा नेकपा एकीकृत समाजवादीबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी मनिला विष्ट विरुद्ध उजुरी परेको छ । उपाध्यक्षको उम्मेदवार विष्टलाई गाउँपालिका भित्र बेरुजु र अख्तियारको मुद्दा छानविन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै उजुरी परेको हो ।
३ नम्बर वडाका उम्मेदवार नेपाली कांग्रेसका अनन्तप्रसाद अर्यालमाथि विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित उजुरी परेको हो । बकैयामा ३ जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।
उजुरी पर्नेमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षका उम्मेदवारी छावा अधिकारी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका भक्तबहादुर खत्री विरुद्ध उजुरी दर्ता भएको छ । ५ नम्बर वडाका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारमा उजुरी दर्ता भएको र १६ गतेसम्म छानविन हुने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
हेटौंडा उपमहानगरपालिका-४ बाट नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नविन सिग्देल विरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । शर्माका अनुसार सिग्देलविरुद्ध अबैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोषको पैसा हिनामिना गरेको आरोप छ । आरोप पुष्टि भएको खण्डमा उम्मेदवारको उम्मेदवारी खारेज हुनेछ ।
मकवानपुर । स्थानीय तह निर्वाचनकाे लागि हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ मा सत्तारुढ गठबन्धनले संयुक्त वडा भेला गरेकाे छ । संयुक्त वडा भेलामा नेता तथा कार्यकर्ता, शुभेच्छुक र मतदाताहरुसँग साक्षात्कार समेत गरेको छ ।
भेलामा गठबन्धनबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार मिना लामा र राजेश बानियाँले आम मतदाताले गठबन्धनका उम्मेदवारलाई मतदान गरी मुलुकबाट प्रतिगमनकारीहरुको अन्त्य गर्नुपर्ने बताए ।
सबै राजनीतिक दल, नागरिक समाज, पत्रकार एवम् बौद्धिक वर्गहरुसँग छलफल गरी आवश्यक राय, सुझाव संकलन गरी समृद्ध हेटौंडा उपमहानगरपालिका बनाउने दृढ संकल्पसहित आफूहरु चुनावी अभियानमा होमिएको र सबैको सहयोग पाए गठबन्धनकै उम्मेदवारहरुले जित हासिंल गरी जनताको पक्षमा काम गर्नेमा कुनै शंका नभएको उनीहरुको भनाई छ ।
कार्यक्रममा गठबन्धनबाट हेटौंडा–४ को वडा अध्यक्ष पदका उम्मेदवार हरिप्रसाद पौडेलले आफु यसअघि पनि उम्मेदवार भई झिनो मतले पराजित हुनुपरेका कारण जनहितका काम गर्ने योजना अधुरै रहेपनि यस पटक पुरा गर्ने बताए । उनले आफु सेवाभावसहित राजनीतिमा आएको भन्दै वडा अध्यक्ष भएपश्चात राज्यबाट प्राप्त गर्ने सेवा सुविधा सबै आर्थिक विपन्नता भएका गरिब दुखी जनताको लागि खर्च गर्ने प्रतिवद्धता जनाए ।
‘हामी भोलिबाटै घरदैलो अभियानमा जाँदै छौँ । उहाँहरुको मनोभावना अनुरुप नै योजनाहरु बनाउने छौँ । वडा अध्यक्ष भएपछि सोही योजनाहरुलाई कार्यान्वयन गरी समृद्ध वडा निर्माण गर्नुका साथै जनतालाई सहज ढंगबाट सेवा प्रवाह गर्नेछौँ ।’ उनले भने– ‘चुनावी अभियानमा सहयोग/सहकार्य गरी एक पटक सेवा गर्ने मौका प्रदान गरिदिनु हुन अपिल गर्दछु ।’
कार्यक्रममा नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलकी मुख्य सचेतक मुनु सिग्देल, माओवादी केन्द्रकी केन्द्रीय सदस्य प्रमिला पुलामी, नेपाली कांग्रेसका नेता प्रदिप कोइराला, समाजवादीका नेता ललित बस्नेतलगायतका नेता तथा सत्ता गठबन्धनका आम कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।