मकवानपुर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकामा मनाेनयन दर्ता गराएका नेकपा एकिकृत समाजवादीबाट उम्मेद्वारी दिएका १ जनाको उम्मेद्वारी खारेज भएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नंबर १ मा खुल्लातर्फबाट सदस्य उम्मेदवारी दिएका पवन थोकरको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय,हेटौंडाले जनाएको छ । छानविनको क्रममा खुल्ला वडा सदस्यतर्फ १ जना हुनु पर्नेमा ३ जनाको परेको र सिफारिस प्रमाणित नभएको कारण थोकरको उम्मेदवारी खारेज गरिएको कार्यालयले जनाएको छ ।
यस्तै हेटौंडा उपमहानगरपालिकामा मनोनयन दर्ता गरेका २ जना विरुद्ध परेको उजुरी खारेजी भएको छ ।
नेकपा एमालेबाट हेटौंडा ४ का वडा अध्यक्षका उम्मेद्वार नवीन सिग्देल र १९ नंबर वडा अध्यक्षका उम्मेद्वार नरनाथ सुवेदी विरुद्ध परेको उजुरी दाबी नपुगेको र उनीहरुको उम्मेद्वारी कायम रहेको मुख्य निर्वाचन अधिकृत कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
अधिकृत शर्माका अनुसार सिग्देलविरुद्ध कर छली गरेको र सुबेदीविरुद्ध अबैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोषको पैसा हिनामिना गरेको उजुरी परेको थियो । दुबैजना विरुद्ध परेको उजुरी पुष्टि नभएको शर्माको भनाई छ ।

