मकवानपुर । नेपाली कांग्रेसबाट बकैया गाउँपालिकाको उपाध्यक्षमा उम्मेद्वारी दिएकी छाँया अधिकारीकाे उम्मेद्वारी बदर भएकाे छ । उम्मेद्वारी बदर भएसँगै अधिकारीले निर्वाचनमा भाग लिन नपाउने भएकी छन् ।
अधिकारीविरुद्ध राष्ट्रिय कृषि जनगणना गणकमा कार्यरत रहेको भन्दै मनोनयन बदर हुनुपर्ने प्रमाण सहित उजुरी परेको थियो ।उजुरी परेको विषयमा अधिकारीले कुनै लिखित जवाफ पेस नगरेको र उनको पार्टीका तर्फबाट दिलबहादुर भोम्जनले मौखिक बयानमा अधिकारी हाल जागिरमै रहेको जानकारी आएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ । गणक पद पारिश्रमिक पाउने पद रहेको र उम्मेद्वारी बदर भएमा सहमत रहेको व्यहोरा जानकारी गराएको कार्यालयले जनाएको छ ।
यसैगरि नेकपा माओवादीका उपाध्यक्ष भक्त बहादुर खत्री र नेपाली कांग्रेसका वडा नम्बर ५ का लक्ष्मी जिम्बाविरुद्ध परेको उजुरीमा प्रमाण नपुगेको भन्दै उनीहरुको उम्मेद्वारी कायम रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

