मकवानपुर । स्थानीय तह निर्वाचन -२०७९ को लागि उम्मेदवारी दर्ता गरेका ८ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ । मकवानपुर जिल्लाका १० स्थानीय तहमध्ये ४ स्थानीय तहमा उम्मेदवार विरुद्ध उजुरी परेको हो ।
हेटौंडा उपमहानगरपालिका,मकवानपुरगढी, मनहरी र बकैया गाउँपालिकामा गरी ८ जना उम्मेदवारमा उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
मकवानपुरगढी गाउँपालिकामा पनि २ जना वडा अध्यक्ष विरुद्ध उजुरी परेकोमा रित नपुगेकोले उजुरी नै खारेज भइसकेको छ ।
अन्य उम्मेदवारको हकमा भने भोलि अन्तिम निर्णय हुनेछ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हेटौंडा–१९ मा एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नरनाथ सुवेदीमाथि करछलीको आरोपमा उजुरी परेको छ ।
मनहरी गाउँपालिका उपाध्यक्ष र मनहरी ३ नम्बर वडा अध्यक्षका उम्मेदवार बिरुद्ध उजुरी परेको छ । उजुरी पर्नेमा नेकपा एकीकृत समाजवादीबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी मनिला विष्ट विरुद्ध उजुरी परेको छ । उपाध्यक्षको उम्मेदवार विष्टलाई गाउँपालिका भित्र बेरुजु र अख्तियारको मुद्दा छानविन गरी असुल उपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै उजुरी परेको हो ।
३ नम्बर वडाका उम्मेदवार नेपाली कांग्रेसका अनन्तप्रसाद अर्यालमाथि विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित उजुरी परेको हो । बकैयामा ३ जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।
उजुरी पर्नेमा नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्षका उम्मेदवारी छावा अधिकारी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका भक्तबहादुर खत्री विरुद्ध उजुरी दर्ता भएको छ । ५ नम्बर वडाका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारमा उजुरी दर्ता भएको र १६ गतेसम्म छानविन हुने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।
हेटौंडा उपमहानगरपालिका-४ बाट नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार नविन सिग्देल विरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए । शर्माका अनुसार सिग्देलविरुद्ध अबैधानिक उपभोक्ता समिति गठन गरी राज्यकोषको पैसा हिनामिना गरेको आरोप छ । आरोप पुष्टि भएको खण्डमा उम्मेदवारको उम्मेदवारी खारेज हुनेछ ।

