मकवानपुर । आज साउन महिनाको पहिलो सोमबार । देशभरको शिवालयहरुमा साउनको सोमबार पुजा आराधना हुने गर्दछ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजाआराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा शिव मन्दिरमा भक्तजनको भीड लाग्छ ।
साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । यस वर्ष साउनमा पाँच सोमबार परको छ । पाँच वटा सोमबार परेको साउनबाट नयाँ ब्रतालुले पनि साउने सोमबारको ब्रत सुरु गर्छन् । साउनको सोमबार ब्रत बसेमा मनको इच्छा पूर भई अटल साभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । सोही विश्वासका साथ देश भरका शिव मन्दिरमा पुजा गर्नेको भिड लाग्ने गरेको छ ।
मकवानपुरमा रहेको विभिन्न शिव मन्दिरहरुमा विहानदेखि भक्तजनको भीड लागेको छ ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा करारमा काम गर्दै आएका कर्मचारीहरुको आर्थिक वर्ष २०७९/०८० काे करार सम्झौता नवीकरण नहुने भएकाे छ । यस अघि करार सेवामा काम गर्नै आएका कर्मचारीहरुकाे सम्झौता नविकरण तथा म्याद थप नगर्ने निर्णय कार्यपालिका बैठकले गरेको हाे ।
शुक्रबार बसेको कार्यपालिका बैठकले गाउँपालिका अन्तर्गत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो । करारका कर्मचारीहरु मध्ये गाउँपालिकाको कार्यलय वडा कार्यालय तथा स्वास्थ चौकीलाई अत्यावश्यक पर्ने कर्मचारीको म्याद थपकाे सन्दर्भ समिति बनाइ प्रतिवेदन पेश गर्ने निर्णय समेत भएकाे छ । गाउँपालिकाकाे ६ नम्बर वडाध्यक्ष कृष्ण प्रसाद बजगाईको नेतृत्वमा समिती गठन गरिएको छ।
वडाध्यक्ष बजगाई नेतृत्व समितिले साउन १५ गते भित्र प्रतिवेदन कार्यपालिकालाई सिफारिस गर्ने छ । सिफारिस बमोजिम करार कर्मचारीको नवीकरण गर्ने नगर्ने अर्को कार्यपालिकाबाट निर्णय गरिने गाउँपालिका अध्यक्ष दोर्जे स्याङतान लामाले जानकारी दिए । गाउँपालिकाको हालको वित्तिय अवस्था कमजोर रहेको हुदा हाललाई करारका कर्मचारीहरुको यहि साउन १ गते आईतबारबाट म्याद थप नहुने पालिकाले जनाएको छ । करारमा कार्यरत कर्मचारीहरुकाे २०७९ साल साउन १ गतेदेखि म्याद थप नहुने सूचना समेत मकवानपुरगढी गाउँपालिकाले सूचना प्रकाशित गरेकाे छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीद्वारा जारी सूचनामा भनिएकाे छ– ‘ मकवानपुरगढी गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, मक्रान्चुलीबाट विभिन्न समयमा विभिन्न सेवाका पदहरुमा पदपूर्ती भएका एवम् अन्य निकायहरुबाट नियुक्ति तथा सिफारीस भई गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु तथा स्वास्थ्यचौकी इकाईहरुमा सेवा करारमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको मिति २०७९ असार ३२ गते देखि सेवा करार म्याद सकिएकोले उक्त कर्मचारीहरुको सम्बन्धमा कार्यपालिकाको मिति २०७९ असार ३१ गतेको बैठकको निर्णय अनुसार मिति २०७९ साउन १ देखि लागू हुने गरी सेवा करार म्याद थप नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

मकवानपुर । मकवानपुर बहुमुखी क्याम्पसका संस्थापक प्रमुखकाे अर्धकदको प्रतिमा अनावरण गरिएको छ । क्याम्पस संस्थापक प्रमुख स्वर्गीय मुकुन्द दास श्रेष्ठको अर्धकदको प्रतिमा विहीबार अनावरण गरिएको छ ।
क्याम्पस आल्मुनाई एसोसिएसनको अग्रसरतामा संस्थापक प्रमुख श्रेष्ठको अर्धकद प्रतिमा मकवानपुरका मूर्तिकार लक्ष्मण भुजेलले तयार गरेका हुन् । बिहीबार बिहान श्रेष्ठको प्रतिमा क्याम्पस सञ्चालक समितिका पदाधिकारी र सदस्यहरुले संयुक्तरुपमा अनावरण गरेका हुन् । श्रेष्ठकाे समयमा क्याम्पसकाे लागि उल्लेखनीय योगदान गर्नुभएका श्रेष्ठ सरको सम्मानमा प्रतिमा निर्माण गरिएको मकवानपुर क्याम्पस एल्मुनाईका उपाध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
२०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति पाएको मकवानपुर बहुमुखी क्याम्पसले २०३८ सालदेखि पठनपाठन सुरु गरेको हो । क्याम्पस सञ्चालन गर्ने तयारी भए पनि दक्ष जनशक्तिको अभाव रहेकाे समयमा मुकुन्द दास श्रेष्ठ त्रिचन्द्र क्याम्पसबाट काजमा मकवानपुर क्याम्पसमा आएका थिए । श्रेष्ठले स्थापना कालदेखि २०४५ माघ १० गतेसम्म क्याम्पस प्रमुखकाे जिम्मेवारीमा रहेका थिए ।
“क्याम्पस स्थापना भए पछि जनशक्तिको अभावमा हुँदा त्रिचन्द्र क्याम्पसमा स्थायी जागिरे रहेका श्रेष्ठ हेटौंडा काजमा आउनुभयाे”, मकवानपुर क्याम्पसको स्थापना कालदेखि कार्यरत सत्यनारायण सिलवाल भने, “उहाँ मकवानपुर क्याम्पसको जग बसालेर फर्कनु भयो ।’
२०७२ सालको भूकम्पमा परी निधन भएका श्रेष्ठको ४ छोरी र १ छोरा छन् । मकवानपुर क्याम्पसका पूर्व विद्यार्थीहरुको संगठनले संस्थापक क्याम्पस प्रमुख श्रेष्ठको प्रतिमा बनाउन अग्रसरता लिएको हो । श्रेष्ठको प्रतिमा बनाउन हेटौंडा उपमहानगरपालिकाले ४ लाख रुपैयाँ सहयोेग गरेको छ भने क्याम्पसले ५५ हजार रुपैयाँ, मकवानपुर बहुमुखी एल्मुनाईका अध्यक्ष केशवलाल श्रेष्ठले ५४ हजार रुपैयाँ, क्याम्पसका प्राध्यापकहरुले ३५ हजार रुपैयाँ सहयोग गरेकाे बताइएकाे छ ।
कविता शर्मा
इच्छाको बृक्ष लटरम्म छ
भोग बिलासका फलहरु
जताततै झुन्डिरहेका छ्न
हाँगा लच्काउँदै
जीवनको पाठशालाबाट तिमीले
पाएको शिक्षा
मानौ कुनै जङ्गली काँडो हो
उद्याउनै नपर्ने धारिलो
हो अब त्यही धारमा रेट्नु पर्छ
कुसंस्कारमा झुन्डिएका ॠतुफल
उद्धार गर्नु पर्छ ती हरिया पल्लव
जो आफ्नै रुखको डालीमा
छोपिएका छ्न
हराएका छ्न
अस्तित्व गुमाउँदै
ऐसआरामले उब्जाएको कुप्रथालाई
संस्कारको अभिषेक गरेर
संरक्षण गर्नु पर्छ तिमीले
सम्भावनाका बिरुवाहरू
तिम्रो उत्सर्गले
प्रस्फुटन भएको अङ्कुर
एकदिन अवस्य फुल्ने छ फल्ने छ
अनि छर्ने छ आत्मीयताको सुगन्ध
जस्को बास्नाले मगमगाउनु पर्छ सारा ब्रह्माण्ड
जसरी घामले पक्षपात गर्दैन उज्यालो छर्न
आगोले हेर्दैन सानो ठूलो
नदीले जान्दैन चिप्लिनु र हाम्फाल्नुको अभिप्राय
उसैगरि तिमीले पनी
कर्मयोगको वचन शिरोधार्य गर्दै
आध्यात्मिक र आधुनिकताको महासंगमबाट
जनकल्याणको निम्ति
एउटा राम खोज्नु छ
नया युगको रामायण रच्न
जहाँ , सीता हरिने छैनन कुनै रावणबाट
बनवास बस्नु पर्दैन राम
पुत्रशोकमा मर्नु पर्दैन कुनै दशरथ
हो यस्तो एउटा महाकाव्य लेख्न
प्रतीक्षा छ
आउछौ नि हैन एकपटक
पुनः भानु तिमी
बँगैगाउँ गुहावटी, आसाम
मकवानपुर । गायक जीवन शर्माको गायन प्रस्तुति रहेकाे एकल साँझ कार्यक्रम आज बुधबार हेटौँडामा आयोजना हुने भएकाे छ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा जनवादी गायक शर्माका गायन प्रस्तुति हेटौंडा–४ मा रहेको रोयल पार्टी प्यालेसमा हुने भएकाे हाे ।
चार दशकभन्दा लामो समयदेखि अनवरत रूपमा जनताका पक्षमा गीत गाउँदै आएका शर्माको हेटौँडामै पहिलो एकल गायन प्रस्तुति हो । २०३६ साल पश्चात नेपालका गाउँगाउँमा पुगेर गीतमार्फत् जनताहरूलाई सुसूचित र राजनीतिक रुपमा सचेत बनाउन अनवरत लागि परेका शर्माका हालसम्म २ हजारभन्दा बढी गीत रेकर्ड छन् । शर्माका ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको…’, ‘झरनाको चिसो पानी….’, ‘चाहिँदैन मलाई सिसाको महल…’ लगायत गीतहरू आमनागरिकको मनमा बस्न सफल भएका छन् ।
कार्यक्रममा प्रवेशका लागि एक सय (विद्यार्थीका लागि), तीन सय र पाँच सय दरका टिकटहरूको व्यवस्था गरिएको प्रगतिशील लेखक सङ्घ मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीले जानकारी दिए। कार्यक्रम अपरान्ह ४ बजे हुने बताइएकाे छ ।
शर्मा बासुदेव रिजाल स्मृति साहित्य सम्मानबाट सम्मानित हुदैं
जनवादी गायक शर्मा बासुदेव रिजाल स्मृति साहित्य सम्मानबाट सम्मानित हुने भएका छन् । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा बुधबार मकवानपुरगढी गाउँपालिकामा शर्मालाई नगद १५ हजार नगद सहित सम्मान गरिने भएको छ ।
बासुदेव रिजाल स्मृति प्रतिष्ठान मकवानपुरका अध्यक्ष आरसी रिजालले प्रतिष्ठानको आयोजनामा मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माध्यामिक विद्यालयमा बिहान ११ बजे आयोजना हुने साहित्यिक कार्यक्रममा शर्मालाई सम्मान गर्न लागिएको जानकारी दिए ।
यसैगरी प्रतिष्ठानले बासुदेव भानु स्मृति साहित्य सम्मान छन्दकवि ठाकुर शर्मालाई प्रदान गर्ने भएको छ । शर्मालाई नगद १५ हजार रुपैयाँ सहित उक्त सम्मानबाट सम्मान गर्न लागिएकाे रिजालले बताए ।
साहित्यिक कार्यक्रमकाे अवसरमा गाउँपालिका स्तरिय मावि तहका विद्यार्थी बीच कविता प्रतियोगिता समेत आयोजना गरिने प्रतिष्ठानकी सदस्य अनिता न्यौपानेले जानकारी दिइन् । प्रतिष्ठानले विद्यालयमा आदिकविको प्रतिमा स्थापना गरेर हरेक वर्ष भानु जयन्तीमा साहित्यक कार्यक्रम आयोजना गर्दै आएको उनले बताईन् ।